Comments Add Comment

कलंकी र महाराजगञ्जमा मेलम्चीको पाइप बिछ्याउन ६ अर्ब ऋण माग

२३ साउन, काठमाडौं । इटालियन ठेकेदार कम्पनी सीएमसी काम छाडेर हिँडेपछि मेलम्चीको पानी कहिले काठमाडौं आउँछ भन्ने अनिश्चित छ । तर, मलेम्चीको पानी वितरण गर्ने संरचना समेत अझै तयार भएको छैन ।

चक्रपथभित्रै कलंकी र महाराजगञ्ज क्षेत्रमा अझै पनि मेलम्चीको पानीलाई लक्षित गरेर नयाँ वितरण लाइन बिछ्याइएको छैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तरगतको आयोजना विकास निर्देशनालयले हालै यी दुई क्षेत्रमा पाइपलाइन बिछ्याउन एसियाली विकास बैंकसँग ६ अर्ब रुपैयाँ ऋण प्रस्ताव गरेको छ ।

तर, आयोजनाको मुख्य काम अघि नबढेको भन्दै एडबीले प्रस्तावलाई स्वीकार गरिनसकेको आयोजना विकास निर्देशनालयका प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए ।

सरकारले मलेम्ची आएपछि खानेपानी वितरणलाई प्रभावकारी बनाउने गरी वितरण सञ्जाल विस्तारका गर्न तीन वटा प्याकेजमा काम गरिसकेको छ । वितरण सञ्जालका लागि थप दुई वटा प्याकेजमा ठेक्का लगाउन बजेट जुटिसकेको छैन । त्यसका लागि एसियाली विकास बैंकसँग आयोजनाले ऋण दिन प्रस्ताव गरेको हो । करिब साढे तीन सय किमि क्षेत्रमा पाइप बिछ्याउन ऋण मागिएको छ ।

चक्रपथभित्र यी क्षेत्रमा पाइप बिछ्याउन थालेपछि उपत्यका फेरि एकपटक धुलोले ढपक्कै ढाकिनेछ । एडीबीले यो ऋण रकम स्वीकृत गरे धुम्बाराही, महाराजगञ्ज, सामाखुशी, कलंकीलगायत क्षेत्रमा पाइप बिछ्याउन ठेक्का लाग्नेछ । मेलम्चीको पानी आउँदासम्म यी दुई क्षेत्रमा पाइपलाइन विस्तार भइसक्ने अवस्था छैन । तत्काललाई ती क्षेत्रका बासिन्दाले पुरानै वितरण सञ्जालबाट पानी पाउने खत्रीले बताए ।

पीआईडीले पहिलो चरणमा चक्रपथभित्रका कुल ८४ हजार दुई सय १७ घरधुरीमा नयाँ पाइपलाइन पु‍र्‍याउँदैछ । बाँकी एकतिहाइ घरधुरीले मेलम्ची आएपछि पनि केही समय पुरानै वितरण प्रणालीबाट पानी पाउनेछन् ।

एडीबीले चक्रपथभित्र अहिले सञ्चालनमा रहेको परियोजनाका लागि ८४ अर्ब रुपैयाँ ऋण सहयोग दिएको छ । थप ऋण लिन सरकार प्रयत्नरत छ । चक्रपथभित्रको बाँकी क्षेत्रमा पाइप बिछ्याउन गरिएको विस्तृत इन्जिनियरिङ अध्ययन भइसकेको छ ।

मेलम्ची आएपछि महाराजगञ्ज, सामाखुशी, कलंकी मात्रै हैन पेप्सिकोला, गोठाटार, ठिमी, भक्तपुर, कीर्तिपुर, कपन, बौद्ध, चाबहिल, जोरपाटी र मण्डिखाटार क्षेत्रमा पनि पाइप बिछ्याउने योजना छ । यस्तै, कपन, बौद्ध, चाबहिल, जोरपाटी र मण्डिखाटारमा पनि नयाँ पाइप बिछ्याउन अध्ययन भइरहेको छ । ती सबैमा गरी करिब पाँच सय किमि पाइप बिछ्याउनुपर्छ । र, त्यसका लागि ठूलै परिमाणमा खर्च हुने अनुमान छ ।

एडीबीले ऋण नदिए सरकार आफैंले बाँकी क्षेत्रमा नयाँ पाइप बिछ्याउन बजेट छुट्यानुपर्नेछ । यी क्षेत्रका थोत्रा पाइप नफेरिए चुहावटको समस्या जटिल बन्ने निश्चित रहेको अधिकारीहरु बताउँछन् ।

नयाँ क्षेत्रमा पाइप बिछ्याउँदा सकडमा धुलो र हिलोको समस्या बढ्ने निश्चित जस्तै छ । तर,पाइप बिछ्याउँदा मुख्य सडक र चोकहरुलाई नखनी ‘माइक्रोटनेलिङ’ अर्थात ‘ट्रेंकलेस’ प्रविधि प्रयोग गर्नेबारे छलफल पनि भएको छ ।

तर, सबै सडकमा यस्तो प्रविधि उपयोग नहुने निर्देशनालय बताउँछ । उक्त प्रविधिमार्फत् सडक नखनी भूमिगत रुपमै पाइप राख्न सकिन्छ ।

तर, यो अहिलेको भन्दा महँगो प्रविधि हो । बढी आवातजावत हुने मुख्य चोक र सडकमा यो प्रविधि अपनाएर पाइप राख्न सकिन्छ कि भनेर अध्ययन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment