Comments Add Comment

दाजुको ‘इख’ले फुटबलर बनेको म

फुटबलले जीवनमा धेरैथोक दिएको छ मलाई । तीमध्ये यादहरु पनि हुन् । छोटो फुटबल करिअरमा पनि याद गर्नलायक थुप्रै पलहरु छन् । कुनै यादले आल्हादित बनाउँछन् त कुनैले विरक्त लगाउँछ ।

विश्वकप छनोटमा भारतसँग हार्दाको पीडादेखि १२ औं सागमा त्यही भारतलाई उसकै भूमिमा हराएर उपाधि जित्दाको खुशीसम्म । यस्ता थुप्रै अनुभवहरु संगालेको छु, उतारचढाव भोगेको छु ।

केही तपाईंहरुसँग आज सेयर गर्नेछु ।

००००

अहिले हामी विश्वकप फुटबल छनोटको दोस्रो चरणको तयारीमा छौं । यो तयारीमा जुटिरहँदा मलाई भने २०१५ को विश्वकप छनोटको पहिलो राउण्डमा भारतसँग खेलेको क्षण झल्झली आँखामा आइरहेको छ । त्यो बेला भारतलाई पराजित गर्दै अघि बढ्ने मौका हामीले चुकाएका थियौं ।

सुरुमा हामीले भारतमा अवे खेल खेल्यौं । त्यसमा २–० गोलअन्तरले हार्न पुग्यौं । सो खेलमा मैले मौका पाउँछु भन्ने आशा थियो । पाएँ पनि । म दोस्रो हाफमा सब्सिच्युट खेलाडीका रुपमा मैदान छिरेको थिएँ, तर सोचेअनुुसार भएन ।

दशरथ रंगशालामा भएको होम खेलमा भारतसँग हामीले बराबरी खेल्यौं । यो खेलमा पनि म दोस्रो हाफमा मात्रै मैदान छिरेको थिएँ । सो खेलमा मेरो प्रदर्शन निकै राम्रो भयो । त्यही खेलबाट मलाई धेरैले चिन्न थाले । राष्ट्रिय टिममा मेरो स्थान सुरक्षित बन्यो । नियमित प्लेइङ सेटमा पर्न थालेँ ।

योभन्दा अघि मैले कतारमा फिलिपिन्सविरुद्ध भएको मैत्रीपूर्ण खेलमा डेब्यु गरेको थिएँ । त्यो खेल पनि भारतविरुद्धको विश्वकप तयारीको लागि खेलिएको थियो । फिलिपिन्सविरुद्धको खेलको लागि क्लोज क्याम्पबाट टिममा परेँ । त्यसबेला ज्याक इस्टेफानोस्की मुख्य प्रशिक्षक हुनुहुन्थ्यो ।

डेब्यु खेलमा धेरै खेलाडी नर्भस पनि हुन्छन् तर मचाहिँ आत्मविश्वासले भरिएको थिएँ । म जसको स्थानमा मैदानमा छिर्छु, उसको भन्दा राम्रो प्रदर्शन गरेर देखाउँछु भन्ने थियो मनमा । राम्रै भयो पनि । इस्टेफानोस्की निकै सहयोगी हुनुहुन्थ्यो । तैंले सक्छस् भनेर हौस्याउनुहुन्थ्यो ।

अहिले पनि मलाई याद छ, त्यतिबेला सागर थापा र सन्दीप राई दाइ हुनुहुन्थ्यो । उहाँहरुको नेतृत्व मलाई याद छ । मैले सानो तिनो गल्ती गरेपनि उहाँहरुले सच्याइदिने, खेल्न सक्छस् भन्दै हौसला दिनु हुन्थ्यो । त्यही कारण हामीले जहाँबाट सुरुवात गर्‍यौं, झन् अगाडि बढ्दै गयौं ।

००००

यो पटक भने विश्वकप छनोटको दोस्रो चरणमा छौं हामी । हामीलाई एउटा राम्रो अवसर छ, तर सहज छैन । विश्वकप खेलिसकेको अष्ट्रेलियासहित हामीभन्दा अब्बल टिमसँग खेल्नुपर्नेछ ।

हामीले त्यहीअनुसार तयारी गरिरहेका छौं । हाम्रो तयारी तीव्र गतिमा छ । तपाईं आफैं देख्न सक्नुहुन्छ । सबै खेलाडी फिट छन् । प्रशिक्षकको रणनीतिअनुसार खेलिरहेका छौं । हामीलाई यही चाहिएको हो ।

हुन त अहिले राष्ट्रिय टिममा प्रतिस्पर्धा पनि बढेको छ । हरेक पोजिसनको लागि कडा प्रतिस्पर्धा छ खेलाडीहरुबीच । तर, यो अस्वस्थ खालको प्रतिस्पर्धा होइन ।

मैले पनि आफ्नो सय प्रतिशत दिइरहेको छु । सायद अब आउने खेलमा ९० मिनेटसम्म एउटै गतिमा खेल्न सक्छौं । राम्रो नतिजा आउँछ जस्तो लाग्छ ।

००००

म फुटबलमा कसरी लागे ? यसबारे पनि भन्छु है ।

म फुटबलमा लागेको दाइको प्रेरणाले हो । प्रेरणाभन्दा पनि इखले भनौं न । दाइ रञ्जन विष्ट सानैदेखि फुटबल खेल्नुहुन्थ्यो । १० वर्षको उमेरदेखि नै एन्फामा आएर फुटबल खेल्न थाल्नुभएको थियो ।

दाइले ल्याएको जर्सी, मोजा, जुत्ता, ट्रयाकसुट मलाई पनि लगाउन मन लाग्थ्यो । तर दाइले दिँदै नदिने । दाजुभाइमा यस्तै सानो–तिनो कुरामा झगडा परिरहन्थ्यो । म निकै जिद्दी स्वभावको थिएँ । आफूले चाहेको कुरा पूरा गर्नैपर्थ्यो । दाइले आफ्नो लुगा नदिएपछि इख नै लाग्यो । दाइले भन्दा राम्रो फुटबल खेल्छु भन्ने सोचेँ । त्यही इखले आज मलाई अञ्जन विष्ट बनायो ।

हामी दाजुभाइमा उमेर पनि खासै धेरै फरक छैन । अहिले त दाजुभाइभन्दा पनि साथीभाइ जस्तो छौं । तँ तँ र म म चल्छ । मैदानमा छिरेपछि दाजुभाइको फाइट (फरक टिमबाट खेल्दा हुने प्रतिस्पर्धा) पनि हुन्छ, तर फेरि मिलिहाल्छौं । म यू–१६ मा हुँदा दाइ एपीएफमा हुनुहुन्थ्यो ।

एकदम सपोर्ट गर्नुभएको छ मलाई । मेरो पहिचान बनेकै दाइले गर्दा हो । यहाँसम्मको यात्रामा उहाँको योगदान निकै ठूलो छ ।

००००

म हेटौंडामै फुटबल खेल्ने गर्थें । एकदिन अखिल नेपाल फुटबल संघ (एन्फा) को यू–१६ छनोट हुन लागेको थाहा पाएँ । साफ च्याम्पियनसिपको लागि रहेछ । मैले पनि भाग लिएँ । राम्रो भयो । छनोट भएर काठमाडौं आएँ । त्यतिबेला छनोटमा निकै प्रतिस्पर्धा भएको थियो ।

नेपालमै भएको साफ यू–१६ च्याम्पियनसिपमा नेपाल उपविजेता हँुदा मैले पहिलोपटक देशका लागि खेल्ने मौका पाएँ । दशरथ रंगशालामा भएको खेलमा हामी फाइनलमा भारतसँग १–० गोलअन्तरले पराजित हुँदै उपविजेतामै चित्त बुझायौं । यसले मलाई निकै पीडा दियो । आखिर मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो त्यो ।

एकपछि अर्को खुड्किलो उक्लँदै मेरो फुटबल करिअर अघि बढ्दै थियो । सबैभन्दा ठूलो कुरा मलाई दाइको साथ थियो । के गर्ने कसो गर्ने भन्ने कुराको अलमलमा परिनँ ।

त्यसपछि नेपालमै भएको एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेलेँ । हामी छनोट पनि भयौं । मेरो खेल पनि निखारिदै गइरहेको थियो । राम्रो हुँदै जाँदा मैले नेपालमै भएको साफ यू–१९ च्याम्पियनसिप खेल्न पाएँ । जुन प्रतियोगितामा हामीले एउटा इतिहास बनाउन सक्यौं । त्यो पल सम्झिँदा आज पनि रोमाञ्चित हुन्छु ।

भुइँचालोले गर्दा सिंगो देश पीडामा थियो । सबै शोकमा थिए । काठमाडौंमै साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना भएको थियो । भूकम्प र त्यसपछि नाकाबन्दीले दिएको पीडामा छट्पटाएको देशलाई हामीले उपाधि जितेर केही सान्त्वना दियौं, त्यो पनि भारतलाई नै पेनाल्टीमा पराजित गर्दै । यो नै मेरो लागि पहिलो अन्तर्राष्ट्रिय मेडल थियो । मेरो मात्रै हैन मेरो सिंगो नेपाली फुटबलका लागि यो ठूलो उपलब्धि थियो । हामीले फुटबलमा कुनै पनि अन्तर्राष्ट्रिय उपाधि नजितेको करिब २३ वर्ष भइसकेको थियो । त्यो जितको खडेरी हामीले तोडेका थियौं । एक अविस्मरणीय पल हो त्यो ।

००००

भारतमा आयोजना हुने साफ च्याम्पियनसिप नजिकिँदै थियो । बेल्जियमका नयाँ प्रशिक्षक नियुक्त भएका थिए, प्याट्रिक ओसम । त्यतिबेला अभ्यास निकै कडा भएको थियो । हाम्रो जे कमजोरी छन्, तिनलाई सच्याउने प्रयासहरु भएका थिए । मैले पनि त्यो दौरानमा धेरै कुरा सिकेँ र सच्याएँ ।

नयाँ प्रशिक्षक आएपछि त्यो पहिलो प्रतियोगिता थियो, तर हामीले राम्रो खेल्न सकेनौं । समूह चरणबाटै बाहिरियौं । त्यो निकै दुःखलाग्दो थियो ।

साफ च्याम्पियनसिपको पीडा बोकेर हामी बंगबन्धु गोल्डकप खेल्न बंगलादेश पुग्यौं । सुरुमा हाम्रो उपाधि जित्ने लक्ष्य नै थिएन । तर उत्कृष्ट खेल्दै जाँदा उपाधि नै घर भित्र्याउन सफल भयौं ।

त्यो बेला हाम्रो टिममा अभूतपूर्व एकता थियो । मैदानमा ११ जना छिरिसकेपछि कोही पनि नफुट्ने र एक–अर्कालाई साथमा साथ दिएर खेल्यौं । हरेक पक्षमा सुधार गर्दै गयौं । सबैको तालमेल त्यसरी नै मिल्दै गयो । कसैले सानो गल्ती गर्दा विवाद होइन सच्याउन हौसला दिँदै गयौं, त्यसैले नै सफलता दिलायो ।

उपाधि चुम्दै गर्दाको खुशी त खै कसरी वर्णन गरुँ । अहिले पनि सम्झिँदा गर्वले छाती फराकिलो हुन्छ । अझ रमाइलो त स्वदेश फर्किदा भयो । मैले त सोचेको थिइनँ, एयरपोर्टमा त्यतिधेरै समर्थकहरु हामीलाई स्वागत गर्न आउनु हुन्छ भनेर । एकछिन त नर्भस भएँ । हामीले त्योभन्दा अघि त्यस्तो सम्मान, माया पाएका थिएनौं । समर्थकको उपस्थितिले हामी सबै भावुक बनेका थियौं ।

००००

बंगबन्धुलगत्तै हामी भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भाग लिन गयौं । सागको अन्तिम दिनसम्म नेपालले मात्र दुईवटा स्वर्ण पदक जितेको थियो । एउटा उसुमा र अर्को जुडोमा ।

लज्जित हुनुपर्ने अवस्था आइसकेको थियो । तर फुटबलमा हामी फाइनलमा प्रवेश गरेका थियौं । र, भारतविरुद्ध २–१ को स्वादिलो जित निकाल्दै स्वर्ण जित्दा हाम्रो खुशीको सीमा भएन । त्यो बेला हामीलाई भाग्यले साथ दिएकै भन्नुपर्छ ।

हाम्रो टिमको मेहनतको प्रतिफल पनि थियो । ९० मिनेटसम्म हामीले कुनै पनि समय हार मानेनौं । हामीले आफ्नो पूर्ण क्षमता लगाएर खेल्यौं । त्यही भएर हामीले स्वर्ण जित्न सफल भयौं ।

त्यसबेलाका रमाइला पलहरु पनि छन् अनगिन्ती । सेमिफाइनलमा हाम्रो भेट माल्दिभ्ससँग भएको थियो । माल्दिभ्ससँग भएको खेलमा हामीले नाटकीय जित निकाल्दै फाइनलमा पुगेका थियौं ।

फाइलनमा भारतको डर थियो । त्यति ठूलो रंगशालामा भारतीय दर्शकको बाक्लो उपस्थितिबीच खेल्नुअघि मन चिसो भएको थियो । नभन्दै नेपाल पहिलो हाफमै १–० गोलले पछि प¥यो । तर दोस्रो हाफमा हामीले रणनीति परिवर्तन गर्‍यौं ।

त्यतिबेलाको ताजा नाकाबन्दीका कारण पनि भारतविरुद्धको खेल सिंगो देशका लागि प्रतिष्ठाको विषय बनेको थियो । हामी जसरी पनि भारतलाई हराउन चाहन्थ्यौं । तर त्यतिले मात्र खेल जित्न सकिने भएन । मैदानमा उत्कृष्टता देखाउनुपर्छ र भाग्यको साथ पनि चाहिन्छ ।

हामीले मेहनत गर्‍यौं, भाग्यले पनि साथ लियो । सबै खेलाडीको मेहनत । प्रकाश बुढाथोकीको त्यो सनसनीपूर्ण फ्रि–किक गोल । अनि, नवयुग श्रेष्ठको विजयी गोल । साँच्चै अहिले सम्झिँदा पनि शरीरमा काँडा उम्रिन्छन् ।

त्यससँगै हामीलाई जित्ने बानी परिसकेको थियो । एएफसी सोलिडारिटी कपको उपाधि जित्नु अर्को सफलता थियो हाम्रो ।

००००

फुटबल मेरो रगतमा छ । शरीरको नसा नसाबाट बग्छ । कल्पना गर्नुस त्, मान्छेको शरीरबाट रगत हटाए के हुन्छ ? फुटबल पनि मेरो लागि त्यस्तै हो । फुटबलबाट म अलग हुनै सक्दिन ।

भन्नेहरुले त खेलाडी भएर बाँच्न गाह्रो छ पनि भन्छन् । होला पनि । तर म भने फुटबलमा सबैथोक देखिरहेको छु । के छैन यहाँ ? नाम मात्रै होइन, दाम पनि छ । तर त्यहीअनुसार प्रयास चाहिन्छ ।

फुटबलमा लाग्दै गरेका भाइबहिनीलाई पनि भन्छु कि फुटबलले सबैथोक दिन्छ तर परिश्रम गर्न छोड्नु हुन्न । हिँड्ने मान्छे लड्छ । हाम्रो खेल जीवनमा पनि उतारचढाव अवश्य आउँछन् । समस्याले सताउँछन् । निराशाका क्षणहरु पनि हुन्छन् । तर हार कहिल्यै खानु हुँदैन ।

म पनि घाइते भएर केही समयदेखि मैदान बाहिर थिएँ । भर्खरै क्लोज क्याम्पमा फर्किएको छु । पुरानो लयमा फर्किन प्रयास गर्दैछु । मैले राम्रो खेल्न नसकेमा मेरो स्थान अर्को खेलाडीले लिन्छ । त्यसले एक किसिमको दबाव हुन स्वाभाविक हो, तर यही दबावले उत्कृष्ट बन्न ऊर्जा पनि दिन्छ ।

फेरि मलाई देश बाहिर गएर पनि खेल्नु छ । विदेशी लिग खेल्ने मेरो सपना हो । यही सपना पूरा गर्न दिनरात मेहनत गरिरहेको छु । त्यही सपना पछ्याउँदै ट्रायलका लागि युरोप पनि पुगेको छु ।

तपाईंलाई मेरो अर्को कुरा भन्छु ।

फुटबलमा नलागेको भए म सायद म्युजिसियन बन्ने थिएँ होला । सानोमा मेरो झुकाव नै संगीतमा थियो । गितार बजाउने, गीत गाउने गर्थें । स्कुलमा पढ्दा पनि म खुबै गीत गाउथें । अहिले पनि म बेलाबखत गीत गुनगुनाउँछु । गितार बजाउँछु । एक्लै हुँदा म गितारसँगै रमाउँछु ।

तर अहिलेचाहिँ गीत गाउने अवस्थामा छुइन । अभ्यासले निकै गलेको छु । कुनै दिन सुनाउला है… ।

प्रस्तुति : सरोज तामाङ

तस्वीर : विकास श्रेष्ठ

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने अनलाइनखबरको श्रृंखला ‘मेरो कथा’ को ४८ औं अंकमा यो हप्ता फुटबल खेलाडी अन्जन विष्टको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment