Comments Add Comment

सातै प्रदेश आन्तरिक स्रोतले कति सक्षम ?

आत्मनिर्भरता उन्मुख प्रदेश वजेट अपरिहार्य

सरकार गठन भएको डेढ वर्षमा प्रदेशहरुले तीनवटा वजेट ल्याएका छन् । उनीहरुले पहिलो पटक आर्थिक वर्ष २०७४/०७५ मा करिव दुई महिनाका लागि बजेट ल्याएका थिए । त्यसबेला सबै प्रदेशले वित्तीय समानीकरण अनुदानका रुपमा एक अर्ब दुई करोड रुपैयाँ पाएका थिए । त्यही अनुदानलाई कुलश्रोत मानेर प्रदेशहरुले वजेट ल्याएका थिए ।

पहिलो वजेट ल्याउँदा प्रदेशहरुमा एकाध कर्मचारी थिए । संस्थागत संरचना नबनेको अवस्थामा ल्याएको बजेटको एक चौथाई पनि खर्च हुन सकेन । आव २०७५/०७६ मा पहिलो पटक पूर्ण वजेट ल्याउँदा भने प्रदेशहरुमा संस्थागत संरचनाले सामान्य स्वरुप धारण गरेको थियो । प्रदेश मन्त्रालयहरुमा फाट्टफुट्ट कर्मचारी आउन थालेको भएपनि संस्थागत संरचना पूर्ण रुपमा तयार भइसकेको थिएन ।

नीतिगत निर्णय गर्ने मन्त्रालयहरु मात्र रहेको अवस्थामा गत माघ-फाल्गुणमा जिल्ला संरचना र निर्देशानलयहरु तयार भए । समायोजन पश्चात कर्मचारी थपिए । यस्तो विषम परिस्थितिमा पनि आ.व. २०७५/०७६ मा प्रदेशहरुको औषत खर्च सराहनीय नै छ ।

संघीय सरकारको प्रदेशलाई अब धेरै अनुदान दिने अवस्था देखिँदैन । यस्तो अवस्थामा अहिले प्रदेशले संविधानले दिएका अधिकारभित्र रही राजश्वका दायराहरुलाई फराकिलो पार्नुको विकल्प छैन ।

आ.व. २०७५/०७६ मा सबभन्दा ठुलो वजेट -रु.३५ अर्ब ९३ करोड) प्रदेश १ ले ल्याएको थियो । प्रदेश १ को तुलनामा ३२ करोड कम बजेट ल्याएको प्रदेश ३ ले आ.व. २०७६/०७७ मा भने सबभन्दा ठुलो अर्थात् रु.४७ अर्ब ६० करोडको वजेट ल्यायो । प्रदेश ३ को यो बजेट अघिल्लो आवको तुलनामा करिव ३४ प्रतिशत धेरै हो । आ.व. २०७६/०७७ मा सबै प्रदेशको कुल बजेट करिव २६० अर्बको छ । (हेनुहोस् तालिका) 

आ.व. २०७६/०७७ मा संघीय सरकारको बजेटको आकार १५३२ अर्ब छ । प्रदेशहरुको कुल बजेट संघीय बजेटको १७ प्रतिशत जति हुन आउँछ । फेरि प्रदेशहरुको कुल बजेटमा अधिकांश हिस्सा वित्तीय हस्तान्तरणको छ (हे. तालिका) । आ.व. २०७५/०७६ मा सबभन्दा धेरै खर्च प्रदेश ५ र सबभन्दा कम खर्च कर्णाली प्रदेशले गरेको छ । कर्णालीको खर्च करिव ३५ प्रतिशत मात्र छ ।

आ.व. ०७५/७६ को तुलनामा प्रदेश ३, गण्डकी प्रदेश र प्रदेश २ ले वजेटको आकार क्रमशः ३४ प्रतिशत, ३३ प्रतिशत र ३० प्रतिशत वढाएका छन् । असामान्य अवस्था बाहेक वजेटको आकार २० प्रतिशतभन्दा धेरैले बढाउन हँुदैन भन्ने विश्वव्यापी चलन छ । अझै पनि प्रदेशहरु सामन्य अवस्थामा पुग्न सकेका छैनन् । आन्तरिक स्रोत र खर्चको वास्तविक आँकलन हुन सकेको छैन । प्रदेशहरुले वजेटको अकार, खर्च, आन्तरिक स्रोत लगायतका विचमा तालमेल मिलाउन जरुरी छ ।

तालिकाः प्रदेशको वजेट  (रू अर्ब)
प्रदेश कुल बजेट आ.व. ०७५/७६ खर्च प्रतिशत आ.व. ०७६ को वजेटको श्रोत
0७५/७६ 0७६/७७ अनुदान राजश्व वाँडफाँट

 

आन्तरिक ऋण नगदमौज्दात आन्तरिक श्रोत आन्तरिक श्रोत प्रतिशत

 

एक ३५.९३ ४२.२ ५९.२६ २१ १०.२७ ६.६१ ४.१२ ९.७६
दुई २९.७८ ३८.७२ ५.६८ १६.१७ १०.४६ १.३ ७.७ ३.१३ ८.८
तीन ३५.६१ ४७.६ ५८.४ १८.०५ १९.६ ६.७५ १२.२ २५.६३
गण्डकी २४.२ ३२.१३ ५८११ १३.९६ ७.७ १.९८ ४.८ ३.६९ ११.४८
पाँच २८.९ ३६.४१ ६०.०१ १६.६१ ९.९ ४.९ १३.४६
कर्णाली २८.२८ ३४.३५ ३४.६७ १६.९२ ७.४४ .७५ ८.९४ ०.३ ०.८७
सुदूरपश्चिम २५.६ २८.१६ ५६.७५ १४५ ८.४ ४.७५ ०.८४ २.९८
जम्मा २८.३ २५९.६ ५४.२९ ११७.४ ६४.३७ ४.३ ४४.५८ १९.१८ ११.२४
श्रोतः सवै प्रदेशको बजेट बक्तव्यपुस्तिका लगायतबाट विश्लेषण ।

आव ०७६/७७ को प्रदेशहरुको कुल वजेटमा अनुदानको अंश ४५ प्रतिशत छ । यसमा वित्तीय समानीकरण अनुदान, शशर्त अनुदान, विशेष अनुदान र समपुरक कोष समावेश छ । कुल अनुदानमा वित्तीय समानीकरण अनुदान ५५ अर्ब २७ करोड, शशर्त अनुदान ४४ अर्ब ५३ करोड, विशेष अनुदान सात अर्ब ६६ करोड र समपुरक कोष ९ अर्ब ९५ करोड छ ।

कुल अनुदानमा समानीकरण र शशर्त अनुदानको भार क्रमशः ४७ प्रतिशत र ३८ प्रतिशत छ । सबभन्दा धेरै समानीकरण अनुदान (नौ अर्ब ८४ करोड) कर्णाली प्रदेशले पाएको छ । अनुदान वितरणमा सवभन्दा महत्व निशर्त अनुदानले राख्छ । वित्तीय समानीकरण अनुदान भनेको निशर्त अनुदान नैै हो ।

निशर्त अनुदानमा प्रदेशले आफू अनुकल खर्च गर्न, योजना छान्न पाउँछ, जुन सुविधा अन्य अनुदानमा हुँदैन । संविधानतः राजश्वको क्षमता र खर्चको आवश्यकताका आधारमा निःशर्त अनुदान वितरण हुन्छ ।

प्रदेश १ को कुल अनुदान २१ अर्ब २० करोड छ । यसमा वित्तीय समानीकरण आठ अर्ब १६ करोड, सशर्त अनुदान सात अर्ब चार करोड, विशेष अनुदान दुई अर्ब र समपुरक कोष चार अर्ब छ । प्रदेश १ को सवभन्दा धेरै अनुदान १८ प्रतिशत छ भने सबभन्दा कम सुदुरपश्चिम प्रदेशको १२ दशमलव ३५ प्रतिशत ।

प्रदेशहरुको कुल बजेटमा राजश्व बाँडफाँटको अंश २५ प्रतिशत छ । मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट उठेको अन्तशुल्कको १५-१५ प्रतिशत प्रदेश र स्थानीय तहले पाउने कानूनी व्यवस्था छ । वाँडफाँटको आधार र ढाँचा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरे अनुसार हुन्छ । राजश्व वाँडफाँटमा सबभन्दा धेरै प्रदेश ३ ले १० अर्ब ६० करोड प्राप्त गरेको छ भने सबभन्दा कम कर्णाली प्रदेशले पाएको छ- सात अर्ब ४४ करोड ।

प्रदेश २ ले एक अर्ब ३० करोड र कर्णाली प्रदेशले ७५ करोड घाटा बजेट वनाएका छन् । गण्डकी प्रदेशकोे एक अर्ब ९८ करोडको घाटा बजेट छ । यो घाटा बजेट आन्तरिक ऋणबाट पूर्ति गर्ने प्रदेश सरकारको सोच छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको आन्तरिक ऋणको सिमा अनुसार राजश्व वाँडफाड र आन्तरिक आयको १० प्रतिशतसम्म आन्तरिक ऋण संकलन गर्न सकिन्छ । गण्डकी प्रदेशले ९८ करोड आन्तरिक ऋणबाट संकलन गर्ने र वाँकी एक अर्ब नेपाल सरकारबाट ऋण लिने वजेट व्यक्तव्यमा उल्लेख गरेको छ ।

प्रदेशको कुल बजेटमा नगद मौज्दातको अंश १७ प्रतिशत छ । यो भनेको अघिल्लो आवमा खर्च गर्न नसकेर बचेको रकम हो । यस्तो मौज्दात सबभन्दा धेरै नगद कर्णाली प्रदेशको छ । कर्णालीको कुल ३४ अर्ब ३५ करोड वजेटमा नगद मौज्दात को अंश २६ प्रतिशत छ । यसपछि प्रदेश २ को २० प्रतिशत छ र सबभन्दा कम प्रदेश ३ र प्रदेश ५ को १४-१४ प्रतिशत छ । वजेटमा नगद मौज्दातको अंश अधिक हुनुलाई पनि राम्रो मानिँदैन ।

सबभन्दा चिन्ताजनक अवस्था आन्तरिक स्रोतको छ । यस आलेखका लागि प्रदेशको कुल बजेटबाट सबै किसिमका अनुदान, राजश्व वाँडफाड, आन्तरिक ऋण र नगद मौज्दातलाई कट्टी गरी बाँकी रकम आन्तरिक स्रोत मानिएको छ । आन्तरिक श्रोतमा प्राकृतिक स्रोत साधनको रोयल्टी पनि समावेश छ भन्ने मान्यता छ ।

कुल बजेटमा आन्तरिक स्रोतको अंश ११ प्रतिशत मात्र छ । सबभन्दा धेरै आन्तरिक स्रोत प्रदेश ३ को १२ अर्ब २० करोड छ भने सबभन्दा कम कर्णाली प्रदेशको ३० करोड छ । यसपछि सुदूरपश्चिम प्रदेशको ८४ करोड छ । कुल बजेटमा आन्तरिक स्रोतको अंश प्रदेश २ मा पनि न्यून छ ।

मुलुकको कुल गाहस्थ उत्पादनमा प्रदेश ३ को अंश एकतिहाई भन्दा बढी छ । भन्सार बाहेक मुलुकको कुल राजश्वमा पनि यो प्रदेशको हिस्सा ८० प्रतिशत संकलन हुन्छ । अरुको तुलनामा यो प्रदेशको राजश्व दरमा प्रशस्त छ । देशकै राजधानी समेत रहेको तथा प्रशस्त आर्थिक क्रियाकलाप हुने प्रदेश ३ को आन्तरिक स्रोतको अंश न्यून हो ।
प्रदेश ३ को आन्तरिक स्रोतमा सबभन्दा धेरै अंश सवारी साधन कर र घरजग्गा रजिस्ट्रेशनबाट प्राप्त शुल्क हो । मनोरन्जन तथा विज्ञापन कर, दण्ड जरिवाना, सेवा तथा वस्तु विक्रीबाट प्राप्त आय, पर्यटन शूल्क, कृषि सामग्री विक्रीबाट प्राप्त आय लगायतबाट प्रदेशले आन्तरिक स्रोत संकलन गर्न सक्छन् ।

प्रदेश र स्थानीय तहको आन्तरिक स्रोतको दायरा लगभग उस्तै भएकाले यी निकायबीच घनीभूत सम्वन्ध जरुरी छ । हालको अवस्थामा आन्तरिक श्रोतका हिसावले प्रदेशहरु सक्षम छैनन् । सक्षम हुने कार्यक्षेत्र र दायराहरु भने प्रशस्त छन् । यी कार्य क्षेत्र र दायरा फराकिलो वनाउनेतर्फ अहिलेदेखि नै सक्रिय हुन आवश्यक छ ।

सरकार संचालनको सबभन्दा ठूलो आर्थिक आधार आन्तरिक स्रोत परिचालन हो । राजश्वको अवस्था कमजोर छ, संभाव्यता पनि छैन र खर्च गर्नुपर्ने क्षेत्रहरु धरै छन् भने संघबाट धेरै अनुदान माग गर्नुपर्ने हुन्छ । तर, संघीय सरकारले अब खास परिस्थितिमा बाहेक धेरै अनुदान दिने अवस्था देखिँदैन । प्रदेशले धेरै अनुदानको आश गर्न पनि हुँदैन ।

यसकारण प्रदेशहरुले संवैधानिक व्यवस्थाभित्रबाट राजश्वका दायरा फराकिलो पार्नुको विकल्प छैन । यसैगरी अनावश्यक प्रशासनिक खर्च वढाउनभन्दा चुस्त प्रशासन निर्माण गरी जनतालाई गुणस्तरीय सेवा दिन र दिगो रुपमा आत्मनिर्भर हुनेतर्फ ध्यान दिन जरुरी छ । अबका दिनमा आत्मनिर्भरता उन्मुख वजेट बनाउन प्रदेशहरु सचेत हुन उत्तिकै आवश्यक छ ।

(डा. देवकोटा संघीयता विज्ञ हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment