Comments Add Comment

क्रिकेट पिच भत्काउन प्रदेश सरकारको २६ लाख खर्च !

२४ साउन, मोरङ । निजी क्षेत्रले मर्मत गरी बनाएको क्रिकेट पिच भत्काउँदा प्रदेश सरकारको २६ लाख रुपैयाँ बजेट खर्च भएको पाइएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले विराटनगर– १९ मा रहेको क्षेत्रीय क्रिकेट रंगशालाको पिच भत्काउन मात्रै २६ लाख रुपैयाँ बजेट खर्च भएको हो ।

पहिलो महिला क्रिकेट लिग विराटनगरमा आयोजना गर्ने तयारी भएपछि एनसिएल स्पोर्ट प्रालिले बैजनाथपुर क्षेत्रीय रंगशालामा पिच बनाएको थियो । प्रदेश सरकारले पिच निर्माण गर्न भन्दै सुरुमा भत्काउँदा नै ठूलो रकम खर्च भएको हो । अहिले पिच भत्काएको ठाउँमा पानी जमेको छ ।

प्रदेश सरकारले क्रिकेट रंगशालाका लागि ८५ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये ४३ लाखको प्राविधिक उपकरण खरिद गरिएको छ । मैदान मर्मतका लागि छुट्याइएको ४२ लाखमध्ये २८ लाख रुपैयाँ क्रिकेटको पिच निर्माणका लागि छुट्याइएको थियो ।

उपभोक्ता समितिले काम सकिएको भन्दै २८ लाखमध्ये कर कटाएर २६ लाख भुक्तानी लिएको छ । तर निजी क्षेत्रले करिब २० लाख रुपैयाँ लागतमा निर्माण गरेको पिच खनेर अलपत्र छाडिएको छ ।

आयोजक एनसिएलले महिला लिगका लागि भारतबाट प्राबिधिक टोली बोलाएको थियो । भारतीय टोलीको प्रत्यक्ष निगरानीमा पिच बनाएको थियो । ‘पिच बनाउँदा र प्याराफिट बनाउँदा हाम्रो २० लाख हाराहारी खर्च भयो होला’ आयोजक संस्था एनसिएल स्पोर्टका एक सदस्यले भने ‘तर लिगको लागि समय जुधेका कारण विराटनगरमा गर्न सकिएन ।’

असारमा पानी पर्छ जस्तो लागेको थिएन : उपभोक्ता समिति

प्रदेश १ सरकारले क्षेत्रीय रंगशालाहरुलाई २० देखि ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सबैभन्दा बढी बजेट बैजनाथपुर रंगशालालाई थियो ।

बजेट विनियोजन भएपछि क्षेत्रीय क्रिकेट रंगशाला निर्माणका लागि नवीन घिमिरेको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको थियो । घिमिरे प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका नजिकका मान्छे हुन् ।

उपभोक्ता समितिका अध्यक्ष घिमिरे बर्खामा पानी परेका कारण काम गर्न नसकिएको बताउँछन् । ‘बर्खामा पानी पर्छ जस्तो लागेको थिएन’ उनले भने ‘पानी परेका कारण काम रोकियो ।’ भदौदेखि पुनर्निर्माणको काम अघि बढाउने उनले बताए ।

उपभोक्ता समितिका अध्यक्ष घिमिरे महिला लिग आयोजनाको तयारी गरेको एनसिएलले पिच निर्माणको पूरा काम नै नगरेको बताए । ‘महिला लिगका लागि आयोजकले कालोमाटो प्रयोग गरेर पिच बनाएको थियो ।’ उनले भने ‘तर पूरा भएको थिएन ।’

क्रिकेट पिचलाई दिगो बनाउन उदयपुर र बर्जु तालबाट कालो पहेलो र रातो माटो ल्याउने तयारी भएको उनले बताए । तीन खालको माटो प्रयोग भएपछि पिच १०–१५ वर्ष टिक्ने उनको दाबी छ ।

संरचना छैन बजेट खर्च गर्न हतार

प्रदेश १ सरकारले खेलकुदको बजेट खर्च गर्ने संयन्त्र छुट्याएको छैन । १४ वटै जिल्लामा खेलकुद क्षेत्रका लागि १६ करोड बजेट विनियोजन भएको थियो । सो बजेट कार्यन्यन गर्ने जिम्मेवारी स्वास्थ्य कार्यालयलाई दिइयो । खेलकुदसम्बन्धी संरचना नभएका कारण स्वास्थ्य कार्यालयलाई दिइको बजेट दुरुपयोग भएको हो ।

स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत प्राविधिक प्रतिवेदनका आधारमा भुक्तानी गरिएको बताउँछन् । खेलकुदको काम हेर्न हामीसँग दुईजना इन्जिनियर करारमा हुनुहुन्छ’ उनले भने ‘प्रतिवेदनका आधारमा भुक्तानी भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment