२६ साउन, काठमाडौं । बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति पुगेको छ । तिनको पुनर्निर्माण गर्न ४७ करोड ३४ लाख बजेट आवश्यक पर्ने अनुमान छ ।
विकास समितिको आइतबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यो जानकारी दिएका हुन् ।
समितिले वर्षाको कारण क्षतिग्रस्त सडक र पुलहरु तत्काल मर्मत गर्न मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । दशैं, तिहार, छठजस्ता चाडपर्वलाई समेत ध्यानमा राखेर वर्षाले क्षति पुर्याएका संरचनाहरु तत्काल बनाएर नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।
समितिले संघ, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिएका सडक तथा पुलहरुको जीर्णोद्धार तथा पुनर्निर्माणको काम कसले गर्ने भन्ने अन्यौल अन्त्य गर्न पनि भनेको छ । बैठकमा सांसद प्रभु साहलगायतले संघ, प्रदेश र स्थानीय सरकारको हानथापका कारण वर्षाले क्षति पुर्याएका संरचना पुनर्निर्माणको काम अघि बढ्न नसकेको बताएका थिए ।
बैठकमा सहभागी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्षाले क्षति पुर्याएका सबै सडक तथा पुलहरुको पुनर्निर्माणको जिम्मेवारी सरकारले लिने जवाफ दिएका थिए । त्यसका लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग सहकार्य भइरहेको जानकारी उनले गराए ।
बैठकमा मन्त्री महासेठले वर्षाले क्षति पुर्याएका सबै सडक तथा पुलहरुको पुनर्निर्माणको लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग सहकार्य भइरहेको जानकारी उनले गराए ।
यस्तो छ मन्त्री महासेठले दिएको जानकारी
| क्र.सं. | स्थान | क्षति भएको पुल संख्या | अनुमानित खर्च |
|---|---|---|---|
| १. | सडक डिभिजन खुर्कोट | ५ | ४७ लाख |
| २. | सडक डिभिजन विराटनगर | ३ | १ करोड २५ लाख |
| ३. | सडक डिभिजन जनकपुर | ५ | २ करोड ९० लाख |
| ४. | सडक डिभिजन लहान | ६ | १ करोड |
| ५. | उत्तर-दक्षिण व्यापारिक मार्ग | १ | ५० लाख |
| ६. | सडक डिभिजन हेटौंडा | ३ | २ करोड १० लाख |
| ७. | सडक डिभिजन नेपालगञ्ज | ३ | ३ करोड |
| ८. | मध्यपहाडी लोकमार्ग आयोजना | २ | १ करोड २० लाख |
| ९. | सडक डिभिजन झापा | ७ | २ करोड २५ लाख |
| १०. | सडक डिभिजन दमौली | १ | १ करोड ३५ लाख |
| ११. | सडक परिक्रमा मार्ग जनकपुर | १ | २ करोड ५० लाख |
| १२. | सडक डिभिजन चन्द्रनिगाहपुर | १ | १४ लाख |
| १३. | हुलाकी राजमार्ग जनकपुर | ७ | २ करोड ५० लाख |
प्रतिक्रिया 4