
अभिनेत्री विद्या बालनले एउटा अन्तर्वार्ताको क्रममा आफूले विगतमा गरेको संघर्षका प्रसंगहरु उठाएकी छिन् । त्यसक्रममा उनले आज आफू सफल अभिनेत्रीको रुपमा स्थापित भए पनि कुनै बेला उनले निकै संघर्ष गर्नु परेको कुरा उल्लेख गरेकी हुन् ।
विद्याका अनुसार एक समय उनले काम पाउनै छाडेकी थिइन् । त्यो बेला उनी प्रत्येक रात आँखाभरी आँशु राखेर सुत्थिन् ।
विद्या बालनले ठूलै संघर्ष र कडा मेहनतपछि मात्र बलिउडमा एउटा ठूलो नाम बनाउन सफल भएकी हुन् । विद्या वालन प्रदर्शनको तयारीमा रहेको नयाँ फिल्म ‘मिशन मंगल’ देखिंदैछिन्, जुन मार्स अर्बिटर मिसनमा आधारित छ ।
मुम्बईबाट प्रकाशित हुने एउटा पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा विद्या बालले भनेकी छिन्-‘कुनै बेला त्यस्तो पनि थियो, जति बेला म हरेक रात रुँदै सुत्दथें ।’ आफ्नो संघर्षको दिनहरु सम्झदै उनले भनेकी छिन्-‘दक्षिण भारतको फिल्म उद्योगमा मैले लगातार तीन वर्षसम्म रिजेक्सनको सामना गर्नु परेको थियो ।
त्यो बेला म राती-राती रुन बाहेक अरु केही गर्न सक्दिन थिएँ । तर भोलिपल्ट बिहान पुनः संघर्षका लागि तयार भैसकेकी हुन्थें । बिहान आफ्नै खुट्टामा उभिएर, अनुहारमा मुस्कान तथा एउटा ठूलो आशासहित म पुनः कामको खोजिमा निस्किन्थें ।’
लामो संघर्षपछि उनले फिल्म परिणीता पाएकी थिइन् । आजको दिनमा उनी भारतीय फिल्म उद्योगकी एक लोकपि्रय तथा सफल अभिनेत्रीको रुपमा चिनिन्छिन् ।
त्यसो त विद्या बालनको जीवनमा एक समय त्यस्तो पनि आएको थियो जब उनलाई लगातार आठ वटा बायोपिकबाट प्रस्ताव आएका थिए । तर उनले ती मध्ये एमएस सुब्बूलक्ष्मीबाहेक अन्य कुनै पनि बायोपिकमा काम गरिनन् । त्यस प्रसंगमा गरिएको जिज्ञासामा विद्याको भनाइ छ-कुनै पनि व्यक्तित्वमाथि फिल्म बन्नु मात्र सबै कुरा होइन । उनीहरुका बारेमा भन्नका लागि केही कथा पनि हुनु पर्छ ।’
विद्यालाई मीना कुमारीको बायोपिकमा काम गर्न मन थियो तर आजसम्म उनीसमक्ष कसैले पनि यसका लागि प्रस्ताव लिएर आएका छैनन् । आज पनि उनी उक्त फिल्ममा काम गर्न इच्छुक छिन् ।
फिल्म मिशन मंगल भारतद्वारा सफलताभन्दा पहिलाको प्रयासमा मंगल ग्रहमा पठाइएको मंगलयानको कथा प्रस्तुत गरिएको छ । यो फिल्म यही शुक्रवार प्रदर्शन हुँदैछ । उनी मिशन मंगल फिल्ममा अक्षय कुमार, सोनाक्षी सिन्हा, तापसी पन्नू तथा कीर्ति कुल्हरीसंगै देखिने छिन् ।
प्रतिक्रिया 4