Comments Add Comment

घरमा आवश्यक छ प्राथमिक उपचारका यी सामाग्री

यतिबेला धेरैको घरमा साना बालबच्चा हुर्किरहेका होलान् । बालबच्चा घरका शोभा हुन् । जसै उनीहरु घरमा प्रवेश गर्छन्, घरको माहौल बद्लिन्छ ।

उनीहरु खेल्छन्, उफ्रिन्छन्, चिच्याउँछन्, रुन्छन्, हाँस्छन्, दौडन्छन् । एकछिन आरमले बस्दैनन् । घरका सरसामन देख्यो कि छुन खोज्छन्, चलाउन खोज्छन् । बालबच्चा भएपछि घरमा बेग्लै रौनक छाउँछ ।

बालबच्चाको चुपचाप बस्दैनन् । शान्तसँग बस्दैनन् । एकै ठाउँमा रहँदैनन् । उनीहरु यताउता गरिरहन्छन् । यो उनीहरुको वालशुलभ चञ्चलता हो । यस्तै चञ्चलता हेरेर हामी आनन्दित महसुष गर्छौं ।

यद्यपि हरक्षण उनीहरुलाई निगरानी गरिरहन सकिंदैन । बेलाबखत खेल्ने क्रममा उनीहरु लड्न पुग्छन्, चोटपटक लाग्न सक्छ । आगोले पोल्न सक्छ । धारिलो बस्तुले घोच्न सक्छ । बालबालिकाहरु उफ्रिने, खेल्ने, दौडने भएकाले उनीहरुलाई चोटपटक लाग्ने भय पनि उत्तिकै हुन्छ ।

जब उनीहरुलाई चोट लाग्छ, हातख्ट्टा भाँचिन्छ, आगोले पोल्छ यस्तो अवस्थामा हामीसँग अस्पताल पुर्‍याउने अनुकुलता नहुन सक्छ । चाडै अस्पताल पुर्‍याएर उपचार गराउन असमर्थ भइन्छ । कहिले आफु बेफुर्सदिला भइन्छ, कहिले घरमा खर्चको व्यवस्था हुँदैन, कहिले अस्पताल टाढा हुन्छ । यस्ता अनेक समस्या हुनसक्छ । त्यसैले जब बालबच्चा घाइते हुन्छन् वा कुनै दुःख बिराम हुन्छ, तब आमाबुवाले नै उनीहरुको प्राथमिक उपचार गरिदिनुपर्छ । यसका लागि आमाबुवामा न्युनतम ज्ञान भए पुग्छ ।

समस्या जटिल भएपनि अस्पताल पुर्‍याउनुअघि प्राथमिक उपचार गर्नु राम्रो हो । यसका लागि घरमा केही महत्वपूर्ण औषधि र सरसामन राख्नुपर्छ ।

प्राथमिक उपचारका लागि आवश्यक चिज

घरमा प्राथमिक उपचारसँग जोडिएको तर, स-साना जरुरी सामान राख्नुपर्छ । यसका लागि छुटै फस्र्ट एड किट तयार गर्न सकिन्छ । उक्त किट आफुले खोजेको अवस्थामा सजिलै पाइनेगरी राख्नुपर्छ । फस्र्ट एड किटमा पट्टी, रुई अर्थात कपास, ब्यान्डेज, कैची, एन्टिसेप्टिक क्रिम, दुखाई कम हुने औषधी, एन्टिसेप्टिक लिक्विड आदि राख्नुपर्छ ।

बाल रोग विशेषज्ञ र अस्पतालको सम्पर्क

फस्ट एड किट वा तपाईंको मोवाइलमा बालरोग विशेषज्ञ वा कुनै परिचित चिकित्सकको सम्पर्क नम्बर हुनुपर्छ । नजिकको अस्पतालको सम्पर्क नम्बर पनि सुरक्षित राख्नुपर्छ । आफुलाई आवश्यक परेको बेला तुरुन्तै कुनै परामर्श लिन सकिन्छ ।

वाटरप्रुफ ब्यान्डेज

अक्सर बालबच्चाहरु लड्ने गर्छन् । यस्तो बेला उनीहरुको हातखुट्टामा चोटपटक लाग्न सक्छ, भाँचिन सक्छ । त्यसैले घरमा उनीहरुको प्राथमिक उपचार गरिदिन वाटरप्रुफ ब्यान्डेज आवश्यक हुन्छ । यस्तो ब्यान्डेज घाउमा लगाइदिन सकिन्छ, जसले बाहिरी संक्रमण हुनबाट बचाउँछ । जब बच्चालाई चोटपटक लाग्छ, तुरुन्त ब्यान्डेज लगाउन सकिन्छ ।

घाउ सुकाउने औषधी

बालबच्चाहरुलाई चोटपटक लागिरहेकै हुन्छ । चोट लाग्ने, रगत बग्ने समस्या धेरै हुन्छ । रगत बगेमा त्यसलाई रोक्न पट्टी बाँधिदिनुपर्छ । यद्यपि त्यसअघि चोट सुकाउने व्यवस्था गर्नुपर्छ, ताकि घाउमा संक्रमण नफैलियोस् ।

घाउलाई सुकाउने बजारमा केही किसिमका औषधी उपलब्ध छन्, जसलाई आशिंक मात्रामा आपतकालिन अवस्थामा प्रयोग गर्न सकिन्छ । सिप्लाडीन, बीटाडीन आदि यस्तै क्रिम हो, जसलाई चोटपटकमा तुरुन्तै प्रयोग गर्न सकिन्छ ।

एन्टिसेप्टिक क्रिम

बालबालिकाले खेल्दाखेल्दै वा अज्ञानतावस् आगोमा छुन पुग्छन् । आगोले जल्नसाथ त्यसको प्राथमिक उपचार गरिएमा पीडा कम हुन्छ । यस्तो अवस्थामा जलेको भागलाई पहिले त चिसो पानीमा डुबाउनुपर्छ । पाँच मिनेटजति चिसो पानीमा डुबाएर राखेपछि कपास वा मुलायम सफा कपडाले पुछेर त्यसमा एन्टिसेपिप्टक क्रिम लगाइदिनुपर्छ । यदि जलेको भाग ठूलो छ भने सबैभन्दा पहिले जलेको भाग चिसो पानीले धोइदिनुपर्छ । त्यसपछि पुरा भागमा एन्टिसेप्टिक क्रिम जस्तो बारोप्लस, बरनाल आदि लगाएर तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

थर्मामीटर

बालबच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । सामान्य खानपान नमिल्दा, मौसम परिवर्तन हुँदा पनि उनीहरु अस्वस्थ्य हुन पुग्छन् । कहिले काही कुनै भित्री रोगको कारण पनि उनीहरुलाई ज्वरो आउँछ ।

सामान्य ज्वरो त यसैपनि ठिक हुन्छ । यद्यपि अन्य कुनै कारणले ज्वरो आएको हो भने त्यसको उपचार खोज्नुपर्छ । त्यसैले बच्चालाई कति ज्वरो आएको हो भन्ने जाँच्नका लागि थर्मामिटर घरमै राख्नुपर्छ । यदि धेरै ज्वरो आएको हो भने आवश्यक उपचार खोज्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment