+
+
Shares

बर्दिबासमा व्रतालुले घरआँगनमै बनाए छठघाट

बर्दिबास–जलेश्वर सडक छेउकै घरअगाडि महतोले छठघाट बनाएका छन् । बस्ती वरिपरिका कतिपय पोखरी र डबरा (सानो पोखरी) मा पानी सुकेका र नदी निकै टाढा भएपछि आँगनमा नै घाट निर्माण गर्नुपरेको उनको भनाइ छ ।

रासस रासस
२०८२ कात्तिक १० गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिकाका धेरै बस्तीमा पानीको अभावले घरआँगनमै छठघाट बनाउने चलन बढेको छ।
  • पछिल्ला वर्षमा पोखरी र नदीमा पानी सुक्दा बर्तालुले नावर र इनार छेउमा घाट बनाएर सूर्यदेवलाई अर्घ्य दिने परम्परा पालना गरिरहेका छन्।
  • चुरे पर्वत क्षेत्रको अनियन्त्रित उत्खनन र वनजङ्गल विनाशले पानी स्रोत सुक्दै गएको चुरे विज्ञ डा विजयकुमार सिंहले बताएका छन्।

१० कात्तिक, महोत्तरी । बर्दिबास नगरपालिका–२ लच्काका उमेश महतोले छठ मनाउन घरआँगनमा नै घाट बनाएका छन् ।

बर्दिबास–जलेश्वर सडक छेउकै घरअगाडि महतोले छठघाट बनाएका छन् । बस्ती वरिपरिका कतिपय पोखरी र डबरा (सानो पोखरी) मा पानी सुकेका र नदी निकै टाढा भएपछि आँगनमा नै घाट निर्माण गर्नुपरेको उनको भनाइ छ ।

यस्तै यसै बस्तीकी पवित्रा रेग्मीले पनि घरआँगनमा छठघाट बनाउनुभएको छ । बर्दिबास–१४ को लच्कास्थित ब्रह्मस्थान परिसरमा त्यहीं वरपरका बर्तालुका परिवारले सामूहिक रुपमा घाट बनाएका छन्।

नजिकको हटिया पोखरीमा निर्मित घाटमा ठाउँ नपुगेपछि पछिल्ला तीन/चार वर्षदेखि यहीँ नै रातु नदीबाट कुलोमा आएको पानी खाल्डा बनाएर जम्मा गरी घाट निर्माण गरिँदै आइएको बर्तालु मञ्जु साह सोनार बताउँछन् ।

यसरी घर नजिक घाट बनाइएका ठाउँमा पानी जम्ने ठाउँ बनाइएको छ । कतिपयले भने घाटमा नावरं (गाईवस्तुलाई पानी र खाना ख्वाउन बनाइएको सिमेन्टको एक प्रकारको भाँडा) मा पानी भरेर पर्व गर्ने तयारी गरेका छन्।

पर्वमा बर्तालुले पानीमा चोबलिएर सूर्यदेवलाई अर्घ्य दिने परम्परा छ । यसैले घरआँगनमा घाट बनाउनेहरुले चारैतिर लिसो माटोको घेराबेरा गरेर पानी जमाएका छन् । यसैगरी नावर घाटमा राखेर पानी भर्नेको सङ्ख्या निकै बढेको छ ।

महोत्तरीको उत्तरी क्षेत्रमा धेरैजसो पोखरी गेग्रान बलौटे माटो हुँदा बर्खा सकिने बित्तिक्कै सुक्छन् । पछिल्ला केही वर्षयता खोल्साखोल्सीमा पानी देखिन छाडेको छ । बस्ती नजिकका पोखरी÷तलाउ, नदी र खोल्साखोल्सीमा पानी मरेपछि घरआँगनमा घाट बनाउनु परेको बर्तालु र परिवारजनको भनाइ छ।

‘जस्तो समय आइपर्छ, त्यस्तो गर्नै पर्‍यो, के गरौँ ? नजिकका पोखरी र पानीका डबरा यसपालि छठअघि नै सुके, रातु नदीमा पनि पानी धेरै छैन, त्यो पनि टाढा छ’, बर्दिबास–२ की बर्तालु पवित्रा रेग्मी भन्छन्, ‘त्यसैले घरआँगनमा नै घाट बनाएर पर्व मनाउनतिर लाग्यौँ।’

जिल्लाका बर्दिबास, भङ्गाहा र गौशाला नगरक्षेत्र उत्तरी भेगका हुन् । अहिले यी तीनवटै नगरपालिकाका अधिकांश बस्तीमा घरआँगनमै छठघाट बनाउने चलन निकै बढेको छ । बर्दिबास–६, ७, ९, १२ र १३ का बस्तीमा घरअगाडिका इनार छेउमा घाट बनेका छन्।

यसैगरी भङ्गाहाका वडा नं ४ र ५ का बस्तीहरुमा पनि इनार नजिक घाट बनाएर नावरमा पानी भरेर पर्व मनाउने तयारी देखिदो छ । पछिल्ला वर्षहरुमा नयाँ पुस्ताका युवायुवती निकै टाढाका घाटमा जान झिँजो मान्न थालेपछि यसरी घरआँगनमै बनाउनु परेको बताउने पनि भेटिएका छन् ।

‘पहिले-पहिले टोलटोलकै स–साना डवरा पानीले भरिएका हुन्थे, सजिलो थियो, अब यी डबरामा पानी हुँदैन, त्यसैले आँगनको इनार छेउमै घाट बनाएका छौँ’, भङ्गाहा–४ रामनगरका ६० वर्षीय गङ्गाराम महतो भन्छन्, ‘यसरी पर्व गर्न थालिएको पनि सात÷आठ वर्ष नाघ्यो।’ यसरी घरआँगनका घाटमा नुहाएर अर्घ्य देखाइए पनि कम्मरसम्मको पानीमा चोबलिन भने नमिल्ने गङ्गाराम बताउँछन् ।

छठ पर्वमा जलाशयको ठूलो महत्व हुन्छ । पोखरी वा नदीमा दह झैँ बनेको कम्मरसम्म डुब्ने पानीमा चोबलिएर सूर्यदेवलाई अर्घ्य दिने पुरानो मिथिला परम्परा हो । तर पछिल्ला केही वर्षयता नदीमा पानी चल्न छाडेको, पोखरी÷तलाउ कतै सुकेका र कतै फोहर थुपारिएर दुर्गन्धित बनेपछि पर्व परम्परा थेग्न अब ‘नावर’ र इनार छेउमा बनाइएका खोबिल्टाको भर पर्नु परेको बर्तालुको भनाइ छ।

प्रकृति पूजाको छठ परम्परा अब केही वर्षपछि घरघरका धारा वा स्नानघरमा पुग्ने छाँट देखिन थालेको पाका मैथिल चिन्ता व्यक्त गर्छन् । मुख्य रुपले जलाधारक्षेत्र मासिँदै जानु र नदीमा पानी चल्न छाडेपछि इनार, चापाकल र बोरिङको जलसतह पनि गहिरिँदै गएको छ।

मधेसको शिरमा रहेको चुरे पर्वत र यसका श्रेणी एवम् नदी क्षेत्रमा बढ्दो अनियन्त्रित उत्खनन र वनजङ्गलको विनाशले पानीका स्रोतका मुहान सुक्दै जाँदा यो सङ्कट बढेको चुरे विज्ञ डा विजयकुमार सिंहको भनाइ छ।

गत शनिबार सुरु भएको छठ पर्वको तेस्रो दिन बर्तालु आज निराहार व्रतमा छन् । बर्तालुले आज साँझ अस्ताउँदा र भोलि बिहान उदाउँदा सूर्यलाई घाटमा उभिएर अर्घ्य दिनेछन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?