+
+

सरकारी समितिले भन्यो : सगरमाथामा ‘ट्राफिक जाम’ले आरोहीको मृत्यु भएको छैन

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २९ गते १६:२४
Photo Credit : AFP/Getty Image

२९ साउन, काठमाडौं । सगरमाथासहित अन्य हिमालमा आरोहणमा अधिक चापका कारण आरोहीको मृत्यु नभएको सरकारी  समितिले बताएको छ । गत बसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहणको क्रममा मृत्‍यु भएका १५ जनाको मृत्यु भएको थियो ।

त्यसै समयमा सार्वजनिक भएको सगरमाथा आरोहणका क्रममा लामो लाइन लागेको तस्वीरले हिमालमा अधिक चापका कारण आरोहीको मृत्यु भएको राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चर्चा भएको थियो । यसलाई सगरमाथामा ‘ट्राफिक जाम’ पनि  भनिएको थियो ।

तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको ५ सदस्यीय समितिले हिमालमा लागेको लाइनका कारण आरोहीको मृत्यु नभएको बताएको हो । यसवर्ष निरन्तर मौसम प्रतिकुल रहेको र आरोहीको योजना तत्काल परिवर्तन गर्नुपरेका कारण मे महिनाको २२ र २३ गते सबैभन्दा बढी आरोहण भएको र एकै समयमा धेरै आरोही चुचुरोतर्फ लाग्दा लामो लाइन देखिएको समितिको निश्कर्ष छ । समितिका अनुसार करिब दुई घन्टा त्यस्तो लाइन बनेको थियो ।

तर, सोही लाइनका कारण भने आरोहीको मृत्यु नभएको समितिका संयोजक तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए ।

सगरमाथाको उच्च उचाईमा अधिक ट्राफिक जाम भनेर विभिन्न सञ्चार माध्यममा भनिए पनि तथ्याङ्कको अध्ययन गर्दा हालसम्मकै उच्च संख्यामा आरोहण भएको मे २२ मा मृत्यु प्रतिशत उक्त दिनको सफल आरोहणमा ०.४४ प्रतिशत मात्र रहने देखिन्छ’ समितिले भनेको छ  ‘यसर्थ सञ्चार माध्यममा भनिए जसरी सगरमाथाका लागि आरोहणको अनुमति अधिक भएको, उक्त अधिक अनुमतिपत्रका कारण ट्राफिक जाम भएको र सोही कारणले आरोहीको मृत्यु भएको विषय तथ्यले पुष्टि गर्न सक्ने देखिन्न ।’

समितिले प्रतिवेदनमा आगामी दिनमा सरोकारवाला निकायले हिमाल आरोहणमा देखिएका समस्या समाधान गर्न सुझावसमेत दिएको छ ।

कतिपय अवस्थामा आरोहीले जसरी पनि आरोहण गरिछाड्ने ढिपीले पनि जोखिम निम्त्याएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । आगामी दिनमा स्वास्थ परीक्षण अनिवार्य र स्वघोशणा गरेपछि मात्र अनुमति दिने व्यवस्था गर्न सिफारिस गरिएको छ ।

सम्पर्क अधिकृत समूहमा पठाउन सिफारिस

समितिले आगामी दिनमा सम्पर्क अधिकृत खटाउदा व्यक्तिगत नभई टीम पठाउन सिफारिस गरेको छ । टीमले अनिवार्य तालिम लिनुपर्ने पनि सिफारिस गरिएको छ ।

नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा देखा परेका समस्याको अध्ययन गरी त्यसको समाधानका उपाय तथा नेपालका उच्च हिमालहरु आरोहण गर्दा अवलम्बन गर्नुपर्ने मापदण्डसहित सिफारिस गर्न मन्त्रालयले समिति गठन गरेको थियो । समितिले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई प्रतिवेदन बुझाएको हो ।

सगरमाथा सुरक्षित छ : मन्त्री भट्टराई

मन्त्री योगेश भट्टराईले सगरमाथासहित सबै हिमाल सुरक्षित रहेको भन्दै ढुक्क भएर आरोहणमा आउन आग्रह गरेका छन । समितिले दिएका सुझाव कडाइका साथ लागू गर्ने उनले प्रतिवद्धता जनाए ।

सरकारले यसवर्ष बिना सूचना आधार शिविर नपुगेका सम्पर्क अधिकृतलाई आगामी दिनमा सम्पर्क अधिकृत बन्न अयोग्य हुने गरी कारवाही गर्ने भएको छ । मन्त्री जिम्मेवारीमा खटिएर काम नगर्ने कर्मचारीलाई अयोग्य घोषणा गर्ने बताए । तर, उचित कारण सहित जान नसकेका कर्मचारीमा यो लागू हुने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?