Comments Add Comment

नेतायुगको हनुमान चालीसा ! हनुमानगिरीको हाइट

सन्दर्भ- गाईजात्रे व्यंग्य

त्रेतायुगमा भारतवर्षबाट शुरू भएको हनुमानगिरी अहिले विश्वभरी फैलिएको छ भारतीय उपमहाद्वीप, खासगरी नेपाल खण्डका बासिन्दाहरू विश्वभरी जहाँजहाँ पुगेका छन्, त्यहाँ-त्यहाँ राम्रै हाइट लिएको छ हनुमानगिरीले ।

राजनीतिक दलले स्वदेशमा गरी खान दिएनन्, ‘यिनले देश सिध्याएको के हेर्नु’ भन्दै विदेश भासिएका एकसे एक देशभक्तहरू पनि विदेशमा कुनै न कुनै दलको रामभक्त भएकै छन् । दलको कुनै न कुनै गुटको गरिमा बढाएकै छन् । र, कुनै न कुनै नेताको हनुमानगिरीमा होमिएकै छन् ।

त्योबेला पवनपुत्र हनुमानजीले भगवान श्रीरामचन्द्रको निस्वार्थ भक्ति र सेवा गरेथे । अहिले त्यस्तै गर्नु नै हनुमानगिरी हो भन्दा उत्तराधुनिक हनुमानज्यूहरू माथि घनघोर अन्याय हुन जान्छ्र । त्यो त्रेतायुगको हनुमानगिरी थियो । त्यसको आयाम एउटै थियो । तर, अहिले त त्रेतायुग होइन, नेतायुग हो ।

नेतायुग अर्थात् कलीयुग भित्रको एउटा स्वर्णयुग भगवान् भक्तिलाई पनि नेता भक्तिले उछिनेको युग । किनभने त्रेतायुगका रामचन्द्रभन्दा शक्तिशाली छन् नेतायुगका नेताहरू । त्यसैले नेतायुगमा यसका काम र आयाम दुबै फैलिएका छन् ।

त्यसैले पंक्तिकार यहाँ हनुमानागिरी खासगरी नेतायुगीन यस्तो हनुमानगिरीमाथि हल्का प्रकाश पार्ने अनुमति चाहन्छ ।

यस्तो हनुमानगिरी गर्नलाई हनुमानजस्तै वीर र साहसी हुनुपर्दैन । न त हनुमानजीले जस्तै सिद्धता हासिल गर्नुपर्छ । न त धेरै पढेर विद्धत्ता देखाउनुपर्छ । न त पढ्दै नपढेर मूर्खता देखाइरहनुपर्छ । एक से एक निरक्षरदेखि धुरन्धर पीएचडीधारीहरूले पनि हनुमानगिरीमा श्रेष्ठता र ज्येष्ठता हासिल गरेका छन् । गरिरहेकै छन् ।

एक से एक अनविज्ञदेखि विज्ञ, महाविज्ञसम्म अनि सामान्यज्ञ देखि विषेशज्ञसम्मको रोजाईको उद्यम पनि बनेको छ हनुमानगिरी । बिचौलियादेखि घिचौलिया, अनि थिचौलियाको प्रगतिको आधार हो हनुमानगिरी । घुसात्माहरू र चुसात्माहरूको त हतियार हो हनुमानगिरी । उच्च महत्वाकांक्षाको मतियार हो हनुमानागिरी । सफलताको सूत्र हो हनुमानगिरी ।

एउटा व्यवसाय, नोकरी वा अरू केही उद्यम गर्नुस् । सँगसँगै हनुमानगिरीमा पारंगत हुनुस् । दिन दुगुना रात चौगुना प्रगतिको ग्यारेन्टी लिनुस् । नत्र लगानी वा नोकरी डुबाउनुस् अनि कुना पसी रूनुस् । कसको हनुमानगिरी र कुन हदको हनुमानगिरी गर्ने भन्ने कुरा कुन कदको प्रगति चाहाने हो, त्यसले निर्धारण गर्छ ।

पाँचै इन्द्रीय बन्द गरी आज्ञाचक्रले स्वामीको पादस्पर्श गरी दिमागमा दवाव र दिलमा दख्खल नदिँदा नै सर्वोत्तम हनुमानागिरी सम्भव हुन्छ । धेरै सोच्ने, मनलाई सोध्ने, माटो सुँघ्ने, दिमाग खियाउने, टाउको उठाउने, झण्डा सुम्सुम्याउने गर्न थाल्यो भने जाने हुन्छ- हनुमानगिरी भङ्ग भो । त्यो अर्कै गिरीको ढङ्ग भो । ढङ्ग नपुर्‍याई हनुमानगिरी गर्नु भन्दा नगरेकै जाती हो ।

आफ्नो देहमा स्वाभिमान र आत्मसम्मानका सपनाहरूको गर्भाधान हुनै नदिने, भैहाले पनि तिनलाई तुहाउँदै आफ्नो चोरऔंला मालिकलाई दक्षिणास्वरूप चढाएपछि नेतायुगीन हनुमानगिरीको शुरुवात हुन्छ । तर्कवितर्क, वादविवाद जस्ता हर्कतहरू यस्तो हनुमानगिरीमा हजम हुँदैनन् यस्ता हर्कतहरू । भइहाले भने पनि स्वामीकै भक्तिमा हुन्छ्र । उनकै शक्तिमा हुन्छ। नापजाँच, खोजिनीति, अध्ययन, अनुसन्धान, चियोचर्चो हनुमानगिरीको मापदण्डभित्र पर्दै पर्दैनन् ।

हनुमानगिरी गर्न हनुमानजीको जस्तो पुच्छर पनि चाहिन्न । न त, हनुमानजीझैं चारपाउ टेकेरै हिँड्नुपर्छ । बोलीचाली र व्यवहारले नै चारपाउ टेकेको स्पष्ट दृष्टिगोचर हुन्छ्र । अलिबार संगत गर्नुस्, आप से आप तिनको अभौतिक पुच्छर पनि नजर गर्न सक्नुहुनेछ ।

हनुमानगिरीका साधकहरू जन्मँदा मानव गोत्रमै जन्मिन्छन् । तर, जसै तिनको लगाव हनुमानगिरीमा बस्छ, बिस्तारै-बिस्तारै गोत्र परिवर्तन हुन थाल्छ । अनि तिनको व्यवहारमा आनका तान फरक हुन थाल्छ ।

हनुमानगिरीमा नेपाली वर्णमालाका सबै अक्षरहरू निलम्बन हुन्छन् । केवल निहुरमुन्टी ‘न’ मात्र बहालमा हुन्छ । सबै वाद बर्बाद भएर लम्पसारवाद मात्र आवाद हुन्छ । सबै सिद्धान्तको अन्त भएर ‘हनुमान-डक्ट्रीन’ मात्र जीवन्त रहन्छ । यो डक्ट्रीनअनुसार रामचन्द्ररुपी आफ्ना ख्वामितले जे भन्छन् हो हजूर भन्ने । जे अह्राउँछन्, जो आज्ञा भन्ने । जे खा भन्छन् कपाकप खाने । जहाँ जा भन्छ्न् कुदिहाल्ने । जे लेख् भन्छन् कलम समाई त्यही लेखिहाल्ने । आक्रमण गर् भन्छन् ठोकिहाल्ने । चुप भन्छन् हाब्रो बन्द गर्ने ।

यो डक्ट्रीनमा सबै सत्य मिथ्या भएर स्वामीभक्ति मात्र तथ्य हुन्छ । शंका उपशंकाले यो डक्ट्रीनको मर्म र भावनामाथि लघुशंका गरिदिन्छ । सन्देह र प्रश्नले यसको देहमाथि हमला गर्छ। तर्क र शर्त हनुमानगिरीको शब्दकोशमा भेटिँदै नभेटिने शब्द हुन् । निहीत स्वार्थसहितको स्वामीभक्ति नै नेतायुगीन हनुमानगिरीको अखण्ड शक्ति हो ।

हनुमानगिरीको सामु ओहोदा, मर्यादा, तह, श्रेणी, सिनियर, जुनियर, प्रोटोकल तपसिलमा पर्छन् । यहाँ जसले जसको पनि हनुमानगिरी गरिरहेको हुन सक्छ । निम्नपदस्थले उच्चपदस्थको हनुमानगिरी त प्राकृतिक नै छ हाम्रो समाजमा । तर यदाकदा यसको उल्टो पनि देखिन्छ । सचिवले खर्सापको वा मन्त्रीले राजदूतको हनुमानगिरी गरेको पनि देखिन्छ, सुनिन्छ ।

आवश्यकताको सिद्धान्त अनुसार पर्दामा वा नेपथ्यमा जहाँ पनि हुनसक्छ । पर्दाको हनुमानगिरी प्रख्यात हुन्छ भने नेपथ्यका एकाध हनुमानगिरीका नमूनाहरू भने कालान्तरमा आत्मकथामा आउँछन्।आइराखेकै छन् ।

जसले आफूले हनुमानगिरी गरेको कटुबोध गर्छन्, ती हनुमानगिरीमा टिक्दै टिक्दैनन् । हनुमानगिरीका तिनका कलाहरू बिक्दै बिक्दैनन् । त्यसकारण तिनले हनुमानगिरी सिक्दै सिक्दैनन् । जो आफूले हनुमानगिरी गरिरहेको पत्तो पाउँदैनन् अथवा पत्तो पाएर पनि त्यसैमा गर्ववोध गर्छन् वा आˆनो कामै यही हो भनेर चित्त बुझाउँछन् ।

हनुमानहरू हनुमानगिरीमै स्थापित हुन्छन् र हनुमानगिरी गर्दागर्दै रिटायर्ड हुन्छन् । हनुमानगिरी गर्दागर्दै मर्छन् । र, आगामी पुस्तालाई पनि हनुमानगिरीको दिव्य कला हस्तान्तरण गरेर मात्र परलोक हुन्छन् ।

जो हनुमानगिरीकै बलमा एउटा हाइटमा पुगेको हुन्छ, उसले नै अरूबाट बढीभन्दा बढी हनुमानागिरीको अपेक्षा राख्छ । उसको हनुमानगिरी गर्ने उसका प्यारा हुन्छन् नगर्नेका बङ्गारा खस्छन् ।

सधैं दलको मात्रै आलोचना गर्यो भनेर पंक्तिकारले निकै खप्की खायो । अझै पनि खाँदो छ । हनुमानगिरीका सिद्ध पुरुषहरूबाट मानसिक रोगीदेखि लिएर ‘रअ’ को एजेण्टसम्मका उपाधिहरू पनि पायो । ‘आफूलाई चाहिँ वाल्मीकि ऋषि ठान्या छस्’ भन्दै एउटा सी ग्रेडको सडकछाप हनुमानको हप्काई पनि खायो । एउटा हनुमानले त झण्डै कुट्यो । विदेशमा ‘प्यार'(पीआर ?) पाको अर्को हनुमानले ‘पख्लास् तँलाई हाम्रो ख्वामितको बारेमा जे पायो त्यही लेखिस्’ भनेर थर्कायो ।

‘बर्मा गए कर्मसँगै’ भन्थे, कर्म मात्रै होइन, प्यारवालाले आफूसँगै हनुमानगिरीको पनि भिसा लगाएछन् र साथै लगेछन् । अस्ति भरखर एउटा टापटिपे हनुमानले उसको ख्वामितको राम्रो कामको प्रशस्ति गाउँदै स्वामीभक्ति दर्शायो । मैले पनि राम्रो काम नै भनेर प्रसंशा गरेको त हनुमानले व्यंग्य ठानेर पंक्तिकारलाई बेस्मारी तर्सायो ।

हैट ! आजित भएँ म यस्ता उत्पीडनहरूबाट ।

जीन्दगीभरी नास्तिक बनेका महाकवि देवकोटाले मर्ने बेलामा ‘आखिर श्रीकृष्ण रहेछन् एक’ भनेर विदा भएका थिए रे । त्यही शैलीमा आज यो पंक्तिकार पनि हनुमानगिरीको श्रीगणेश गर्दछ र भन्दछ- आखिर ‘श्रीरामचन्द्र ‘ रहेछन् एक ।

तर, कुन ‘रामचन्द्र’ को गर्ने हनुमानगिरी ? एकछिन सोचमग्न भयो पंक्तिकार । निरंकुशतन्त्र हुञ्जेल हाम्रो देशमा भगवान् भन्दा शक्तिशाली कोही थिए भने ती श्री ३ र श्री ५ नै थिए । जो घोषितरूपमै आफूलाई नारायणको अवतार मान्थे । त्यसैले त्यो त्यति अनौठो मानिन्नथ्यो । तिनको हनुमान बन्नमा र भन्नमा गर्व गर्थे आम मानिसहरू । कता हिँडेको ? भन्दा ‘फलानो राजा साहेबको चाकरीमा’ भनेर सगौरव भन्थे ।

प्रजातन्त्रको पुनस्र्थापनापछि, लोकतन्त्र ल्याएपछि र गणतन्त्र गमनपछि भने हाम्रो देशमा भगवानभन्दा शक्तिशाली कोही छन् भने ती राजनीतिक दल छन् । दलभन्दा शक्तिशाली गुट छन् र गुटभन्दा शक्तिशाली उपगुट र तिनका नेता छन् । त्यसकारण हनुमानगिरी नगर्नु, गरेपछि दलकै गर्ने, गुटकै गर्ने, उपगुटकै गर्ने निर्णय गरियो । एक नेतालाई श्रीरामचन्द्र थापियो ।

आदरणीय पाठकवृन्द ! मेरा श्रीरामचन्द्र  भनेका त्रेतायुगका भगवान नभएर नेतायुगका मेरा ख्वामित् हुन् है ! मेरो प्यारो पार्टीको एउटा उपगुटको एउटा नेता । संयोगले वहाँ नै मेरो पार्टीका केन्द्रीय अध्यक्ष हुनुहुन्छ अहिले ।

यो क्षेत्रमा पंक्तिकारको प्रवेशले यसको बदनामीमा व्यापक कमी आउने अपेक्षा छ । र, एउटा हाइटमा पुगेपछि एमबीबीएस, टोफल, आइल्स, जी-म्याट, जीआरई, लोकसेवा तयारी कक्षाजस्तै सिंहदरबार अगाडि पुतलीसडकमा एउटा हनुमानगिरी सिकाउने भव्य इन्स्टिच्यूट खोल्ने सगर्व भाकल गर्दछ- रामभक्त इन्स्टिच्यूट अफ हनुमानगिरी । छोटकरीमा आरआईएच !

षट्कोणभित्र नेतायुगीन हनुमानजीको हनुमानीय मुद्रा आरआईएचको लोगो हुनेछ । सीट असीमित हुनेछ । दक्ष र अनुभवी हनुमानज्यूहरूबाट हनुमानगिरीका अत्याधुनिक कलाहरू सिकाउने प्रतिवद्धता पनि जाहेर गर्दछ ।

त्यसैले अब पंक्तिकार पनि यति धेरै र यति कुशलतापूर्वक हनुमानगिरी गर्छ कि आउने पुस्ताले मेरो यस्तो महान् कर्मलाई हनुमानगिरी होइन ‘शैलेशगिरी’ भनेर चिन्नेछन् । हनुमानचालीसा होइन, ‘शैलेशचालीसा’को विकास गर्नेछन् र प्रातस्कालयमा त्यसकै पाठ गर्नेछन् ।

हैन कति खानु गाली ? कति हेर्नु अरूकै हालीमुहाली ? कति छुच्चो हुनु खाली ! आखिर म पनि त खान चाहान्छु नि ताली । यो श्याम-श्वेत जीन्दगीमा चाहन्छु नि लाली । त्यसैले छुच्चोगिरी फाली ‘जय श्रीराम’ को झण्डा उचाली शुरू गरियो आजैबाट हनुमानगिरी !

श्रीरामचन्द्र त साक्षात् भगवान थिए र पो उनको भक्ति र प्रशस्ति जायज थियो । तर, अरूको हनुमानगिरी किन गर्ने ? भन्ने प्रश्न पनि गरिएला । तर, कलियुगमा भगवानको भक्ति गरेर केही पनि लछारपाटो लाग्दैन र लागेको पनि छैन । उदाहरणको लागि-

मैले गणेशजीको भक्ति गरेर यो बङ्गला जोडें अथवा नारायणको उपासना गरेर यो नियुक्ति पाएँ भनेको कतै सुन्नुभएको छ ? छैन। मैले शिवको आराधना गरेर सालोलाई जागिर लाएँ भनेर पनि सुन्नुभएको छैन । न त श्रीरामचन्द्रको उपासना गरेर टेण्डर पडकाएँ नै भनेको सुनिन्छ । अति भक्ति-भावानावश कसैले भने पनि त्यो भौतिकरूपमा प्रमाणित हुन सक्दैन ।

त्यस्तै अर्को उदाहरण- ‘भ्रष्टाचारीलाई किरा परोस्’ भनेर उहिल्यैदेखि भगवानसँग पुकारा गर्ने, धूप बाल्नेहरूको पुकारा पनि सुनिनु पर्ने हो, यही वाक्य पंक्तिकारले पनि धेरैपल्ट दोहोर्‍याएर तेहेर्‍याएर श्रीपशुपतिनाथको हनुमानगिरी गरेको हो । तर अहँ फलानो भ्रष्टाचारी स्याउँस्याउँती कीरा परेर मर्‍यो रे भनेको सुन्न त परको कुरा, उल्टै भ्रष्ट शिरोमणिहरूको खाँडो जागेको जागै छ । भ्रष्टहरूलाई लौरो लाउने निकायमै भ्रष्टहरू छिरेर त्यो विधि बदनाम हुन थालेको छ । भ्रष्ट शिरोमणिकै प्रतापले जनताले चाहिं स्याउँस्याउँती कीरा परेर मर्नु परिरहेको स्थिति छ्र । नजाने, कहिलेसम्म यसरी मरिरहनु पर्ने हो । भ्रष्टाचारीहरूकै मान, सम्मान र स्थान उच्च छ । भ्रष्टाचारीहरूकै हनुमानगिरी गर्नमा गर्व गर्नेहरूको जमात ठूलो छ्र । यसकारण भगवानको हनुमानगिरी वाइयात हो

अब हनुमानगिरीको पहिलो काम फेसबुके स्टाटसबाट शुरू भयो । लेखियो- ‘मेरो पार्टी जिन्दावाद, मेरा अध्यक्ष महान् हुन् !’

आफ्नो फ्रेण्ड लिष्टमा मेरो पार्टीका समर्थकको घुइँचो भएकाले लाइकको त कुरै नगरम् । अर्को दिन राखियो- ‘जुन देशमा मेरोजस्तो पार्टी छ, त्यो देशका जनताले कदापी दुःख पाउन्नन् । भोकै मर्दैनन्, नाङ्गै पर्दैनन् । रोगादिले थलिँदैनन् ।’

यसमा झन् धेरै लाइक । आफ्नो हनुमानाथको बिषयमा एउटा पुस्तक निकाल्ने बिचारमा छु । त्यसमा मेरो पार्टीका, मेरो गुटका, मेरो उपगुटका नेताको महावाणी शुरूमै राख्ने निर्णय गरिसकेको छु । कुन महावाणि राख्ने भन्नेबारेमा गहन अध्ययन जारी छ । पुस्तक सुपरहिट हुनेमा शंका छैन- विक्रीमा पनि र चर्चामा पनि । मेरो दलका अध्यक्ष महोदयले जे बोल्नुहुन्छ तात्तातै शेयर गर्न थालेको छु । वहाँको जसले आलोचना र खिसिट्युरी गर्छ तिनलाई भैतिकरूपमा भेटे भौतिकैरूपमा नभेटे फेसबुकमै भए पनि आक्रमण गर्न थालेको छु । अस्ति भर्खर त्यस्तै एउटा कटु आलोचकको चाबहिलमा च्यापु भत्काइदिएको थिएँ । निकै प्रशंसा पाइयो । ‘यिनले भविश्यमा राम्रै गरीखाने रान्’ भन्दै अध्यक्षज्यूको दरबारको यात्रा तय गराइयो । दायाँ हातमा अध्यक्षज्यूको प्रशस्तिसहितको येमानको तस्वीर र बायाँ हातमा राष्ट्रिय झण्डा हल्लाउँदै पुगियो गणतन्त्रकालीन आलिशान दरबार । आम्मामा ! दरबार देख्दै मेरो छाती ढक्क फुलेर आयो । नलिनु छहारी लिएपछि ठूलै रूखको लिनु भन्थे बुढापाका । त्यस्तै लाग्यो । कति धेरै सम्मान र इज्जत पाइयो भने कुरै नगरौं । ‘च्यापु काण्ड’ बाटै प्रख्यात भएँछु म त । त्यहाँ मेरो न्वारान पनि भयो, च्यापू डन भनेर । एकछिनपछि मेरा ‘रामचन्द्र’ ले दायाँ खल्तीमा गन र बायाँ खल्तीमा एक मुठो धन उपहार दिएर मेरो पास्नी गरिदिनु भो । त्यहाँ उपस्थित मेरो पार्टीका सजातीय र बिजातीय गुट उपगुटका बडे-बडे नेता सबैले मसंग हात मिलाउँदै, अंकमाल गर्दै, बधाई दिँदै खादा ओढाएपछि मेरो दीक्षान्त समारोह सकियो ।

हेर्दाहेर्दै डनको उपाधि अनि थोरबहुत धन र गन पाएकोमा खुशीको सीमै रहेन । म उम्दा कोटीको हनुमान भएँछु । त्यो कसरी थाहा भो भने मेरा पनि हनुमान जन्मिन थालेछन् । दायाँ बायाँ अगाडि, पछाडि मेरो पनि पो जीहजुरी थालेछन् । अर्थात् हनुमानका पनि हनुमान ।

एकजना विद्वानले भन्थे- हनुमानको हनुमान हुनुभन्दा त रामकै हनुमान हुनु जाती ! त्यसैले रामचन्ज्द्रकै हनुमान हुन पाएकोमा म भने मनमनै मखलेल भएँ ।

च्यापु डन आयो भनेपछि एक से एक वीरमानहरू पनि थर्कमान हुन थाले ! एक से एक शूरवीरहरू पनि झूरवीरमा परिणत भए । खुँडा बोकेर टोल थर्काउने खुँडे डनहरू पनि च्यापू डनको सामु घुँडा टेक्न थाले । ‘उसै त कुन, दुई कानमा सुन’ भने झैं ‘उसै त डन, पार्टीको सम्बन्धन’ भनेपछि सक्किगो नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment