Comments Add Comment

राजपाले मार्‍यो संविधान संशोधनको आशा, यसै साता प्रधानमन्त्रीलाई भेट्ने

१ भदौ, काठमाडौं । संघीय संसदको चौथो ठूलो दल राष्ट्रिय जनता पार्टीले कम्युनिस्ट सरकारबाट संविधान संशोधन हुने आश मारेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले केपी ओली नेतृत्वको सरकारले संविधान संशोधन गर्ने सम्भावना टरेको बताएका हुन् ।

एक वर्षसम्म सरकारलाई समर्थन गरेर संविधान संशेाधानको बाटो हेर्दा पनि सम्भव नभएपछि समर्थन फिर्ता लिइएको भन्दै उनले अब आश मरेको बताए ।

संविधान संशोधनबारे यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक छलफल गर्ने र तत्काल संविधान संशोधन हुने हुने स्थिति नआए सडक र सदनमा आन्दोलन चर्काउने संयोजक यादवले बताए ।

आइतवार पत्रकारहरुसँग कुरा गर्दै उनले भने-औचारिक रुपमा यहि साताभित्र प्रधानमन्त्रीसँग संविधान संशोधन लगायतका विषयमा कुरा गरेर एउटा निश्कर्षमा पुग्छौं । यदि संविधान संशोधन नहुने स्थिति भयो भने सदनभित्र प्रतिपक्षीय भूमीका छँदैछ र फेरि सडकमा गएर पुनः आन्दोलनको नेतृत्व गर्ने आवश्यकता हुनसक्छ ।

संविधान संशोधन गर्ने/नगर्ने विषय प्रधानमन्त्री ओलीको कोर्टमा रहेको पनि उनले बताए ।

‘प्रधानमन्त्रीसँग संसदमा दुई तिहाई छ । तर, संविधान संशोधनको विषयलाई जुन रुपमा लिएर अगाडि बढ्नुपर्ने हो त्यसरी अगाडि बढ्नुभएको छैन् । अब पनि यो उहाँकै कोर्टमा छ । उहाँले चाहेको बेला संविधान संशोधन हुनसक्छ ।’ यादवले भने ।

प्रधानमन्त्री ओलीले संविधान संशोधन हुन सक्ने तर, के के विषयमा संशोधन गर्ने हो ? त्यो ल्याउनुपर्यो भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिने गरेका छन् । तर, आफुहरुको संविधान संशोधनको माग स्पष्ट रहेको संयोजक यादव बताउँछन् ।

पहिचानसहितको प्रदेश संरचना, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, प्रदेशको अधिकारलाई संकुचन गर्न नहुने लगायतका विषयलाई आफुहरुले उठाउँदै आएको उनले बताए ।

प्रधानमन्त्रीले चाहेको दिन संविधानमा गर्नुपर्ने संशोधनका विषय लेखेर दिन तयार रहेको यादवले बताए ।

एकताबारे छलफल भएको छैन

राजपा नेपाल र समाजवादी पार्टीबीच पार्टी एकताका लागि पहल सुरू भएका सामाचार आइरहेका छन् । तर, राजपा संयोजक यादवले भने एकताका लागि औपचारिक पहल भन्दा बढी हल्ला भएको भन्दै असन्तुष्टी व्यक्त गरे ।

‘अहिलेसम्म अनौपचारिक ढङ्गले मात्रै पार्टी एकताको पहल भइरहेको छ । दुई वटै पार्टीले वार्ता समिति बनाएको छ । तर, पार्टी एकताका लागि औपचारिक ढङ्गले छलफल अगाडि बढेको छैन् ।’ उनले भने ।

नेतृत्व एकल, निर्णय सामुहिक !

राजपाले एकल नेतृत्वमा जानेगरी पार्टीको विधान मस्यौदा तयार पारेको छ । तर, त्यो औपचारिक रुपमा पारित भइसकेको छैन् ।

विधान मस्यौदामा पार्टी एकल नेतृत्वमा जाने उल्लेख छ । हाल राजपामा ६ जना अध्यक्ष रहेका छन् । चक्रिय प्रणालीअनुसार अध्यक्षमण्डलका सदस्यले अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

हाल राजकिशोर यादव संयोजक छन् । आगामी महाधिवेशनपछि पार्टी एकल नेतृत्वमा जाने सहमति भएको उल्लेख गर्दै संयोजक यादवले नेतृत्व एकल भए पनि निर्णय सामुहिक गनुपर्ने गरी अगाडि बढ्न खोजिएको बताए ।

६ वटा पार्टी मिलेर बनेको राजपाले एकताको महाधिवेशन पनि गरेको छैन् ।महाधिवेशनका लागि राजपाले आगामी कार्तिक २८ देखि ३० गतेसम्मको मिति तय गरेको छ । यसअघि वैशाख ७ देखि ९ गतेसम्म पार्टी महाधिवेशन हुने भनिए पनि हुन सकेको थिएन ।

यसपटक पनि तोकिएकै मितिमा महाधिवेशन हुन्छ कि हुँदैन भन्ने आशंका पार्टी भित्रैबाट आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment