+
+

१६ लाख लुटिएको सूचनाले प्रहरीलाई दिनभर तनाव, उजुरीकर्ता नै समातिए

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १ गते १८:२८

१ भदौ, काठमाडौं । आइतबार दिउँसो साढे १ बजे प्रहरी कन्ट्रोल १०० मा फोन आयो, ‘न्यूरोडबाट दिउँसै १६ लाख लुटियो ।’

राजधानीको व्यस्त बजारबाट दिनदहाडै लुटिएको खबर प्रहरी सञ्चार सेटमा फैलिएलगत्तै महानगरीय प्रहरी वृत्त, जनसेवाका डीएसपी वासुदेव खतिवडा घटनास्थलतर्फ लागे ।

काठमाडौं प्रहरी परिसर, टेकुबाट सादा पोशाकमा खटिने डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा विशेष टोली पनि परिचालित भयो ।

न्यूरोड पुगेपछि प्रहरीलाई लुटपाटबारे सूचना दिने युवक भारतको नवाफगञ्जका २२ वर्षीय मनिषकुमार शाह भएको खुल्यो ।

‘उनी दीपककुमार गोयलको गोयल एजेन्सीमा पैसा संकलन गर्ने व्यक्तिको रुपमा कार्यरत रहेछन्’, जनसेवाका डीएसपी खतिवडाले अनलाइनखबरसँग भने, ‘ग्लोबल आईएमई बैंकमा पैसा राख्न जाँदा कालो रङको पल्सर मोटरसाइकलमा आएका व्यक्तिले लुटेको भनिएको थियो ।’

शाहको सूचनाको आधारमा प्रहरीले उपत्यकाबाट बाहिरिने सबै नाका शील गर्‍‍यो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमार्फत उपत्यकाको सबै चेक पोइन्टमा सतर्क भएर बस्न पनि निर्देशन जारी गरियो । तर, कुनै उपलब्धी हात लागेको थिएन ।

सीसी टीभीले खोलेको पोल

युवकको बयानपछि अनुसन्धान अधिकृतले बैंक छेऊको सीसी टीभी फुटेज विश्लेषण गर्न थाले । तर, कुनै पनि फुटेजमा युवक देखिएनन् । न त उनले लुटपाटमा प्रयोग भएको भनिएको पल्सरकै पहिचान गर्न सके ।

‘त्यसपछि हामीलाई उनको बयान नै शंकास्पद लाग्न थाल्यो’, खतिवडाले भने, ‘सोधपुछका क्रममा उनले पैसा नहराएको स्वीकारे ।’ त्यसपछि डीएसपी बोगटी नेतृत्वको टोली डल्लूस्थित शाहको कोठासम्म पुग्यो ।

‘कोठामा टीभी पछाडि उनले पैसा लुकाएर प्रहरीलाई खबर गरेका रहेछन्’, बोगटीले अनलाइनखबरसँग भने । उनका अनुसार, युवकले पैसाको प्रलोभनमा परेर लुटिएको नाटक गरेको स्वीकारेका छन् ।

काठमाडाैं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी सीसी टीभीका कारण युवकको ढाँट लुक्न नसकेको बताउँछन् । उनले भने, ‘सीसी टीभी एक्सेस थिएन भने अनुसन्धानका लागि अरु बाटो पहिल्याउनु पर्ने हुनसक्थ्यो अथवा लुटिएकै मानिने थियो ।’

गत वर्ष १ भदौदेखि जारी मुलुकी अपराध संहिताले प्रहरीलाई अपराधको झुटो सूचना दिने विरुद्ध आपराधिक विश्वासघातको कसूरमा कारबाही हुनसक्ने व्यवस्था गरेको छ । सोही कसूरसहित चोरी मुद्दामा शाहविरुद्ध म्याद थप गरेर विस्तृत अनुसन्धान हुने काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?