
२ भदौ, काठमाडौं । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका रसुवा जिल्ला कमिटी सदस्य तथा युवा संगठनका केन्द्रीय सदस्य योर्साङ घलेले जिल्ला प्रशासन कार्यालय, रसुवासमक्ष आत्मसमर्पण गरेका छन् ।
गत जेठ २७ मा जिल्लाका जनसरकार प्रमुख, किसान जिल्ला संयोजकलगायतले आत्मसमर्पण गरेको केही समयपछि विप्लव समूहका रसुवाका प्रभावशाली नेता मानिने घलेले पनि उक्त समूहसँगको सम्बन्ध विच्छेद गरेका हुन् ।
घलेले जनप्रतिनिधि, नागरिक समाज र पत्रकारहरूको रोहवरमा विप्लव समूहको साधारण सदस्यसमेत नरहने गरी आइतबार जिल्ला प्रशासनसमक्ष आत्मसमर्पण गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अर्जुन भण्डारीले जानकारी दिए ।
पार्टी त्यागको घोषणा गरेका घलेले सरकारले लगाएको प्रतिबन्धको समर्थन गर्दै प्रचलित कानूनको अधीनमा रही सर्वसाधारणसरह जीवनयापन गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रचलित कानूनमा रहेर सामान्य जीवनयापन गर्ने प्रतिबद्धतापछि आवश्यक परेको बेला जिल्ला प्रशासनमा उपस्थित हुने गरी घलेलाई छाडिएको प्रजिअ भण्डारीले जानकारी दिए ।
विप्लव समूहको रसुवाका प्रभावशाली नेता मानिने घले जनयुद्धकालदेखि नै भूमिगत राजनीति गर्दै आएका व्यक्ति हुन् । एकीकृत माओवादीमा आएको विभाजनसँगै वैद्य समूहमा लागेका उनले वैद्यसँग विप्लवले सम्बन्ध विच्छेद गर्दा विप्लवको साथ रोजेका थिए ।
सरकारले नेकपामाथि प्रतिबन्ध लगाएसँगै रसुवामा आत्मसमर्पण गर्नेको संख्या ५ पुगेको छ । यसअघि ०७६ जेठ २७ गते नै रसुवा जिल्ला जनसरकार प्रमुख, किसान जिल्ला संयोजक, विद्यार्थी जिल्ला संयोजकलगायतले आत्मसर्पण गरेका थिए । विप्लवका एकपछि अर्का सक्रिय नेताले आत्मसमर्पण गरेकाले यो समूह रसुवामा कमजोर अवस्थामा पुगेको दाबी प्रशासनले गरेको छ ।
प्रतिक्रिया 4