
२ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने भएका छन् ।
उनले आइतबार राति सकिएको सचिवालय बैठकमा नोट अफ डिसेन्ट लेख्न खोजेका थिए । तर, पाएनन् । नेता नेपालको लिखित असहमति आएमा महासचिव विष्णु पौडेलले माइन्युटमा चढाउने जानकारी बैठकमा दिइएको एक नेताले बताए ।
उनको असहमति आफ्नो वरीयता खोस्नेदेखि केही जनवर्गीय संगठनका इन्चार्ज तथा सहइन्चार्जमा छ ।
सोमवार बिहानै जनकपुरतर्फ गएका नेता नेपालको नोट अफ डिसेन्ट तयार भइसकेको र सो लिखित कपी महासचिवलाई पठाइने स्रोतले जनाएको छ ।
सचिवालय बैठकले अध्यक्षद्वयपछिको वरीयतामा झलनाथ खनाललाई राख्ने निर्णय गरेको छ । यसअघि नेता नेपाल थिए । अब उनी चौथो वरीयतामा धकेलिएका छन् ।
नेता नेपालले युवा, मजदुर, महिला र खेलकुद संगठनका इन्चार्जमा असहमति जनाएका छन् । मापदण्डविपरीत जुनियरलाई इन्चार्ज बनाइएको उनको गुनासो छ । युवा इन्चार्जमा महेश बस्नेत, महिलामा गोमा देवकोटा, मजदुरमा विना श्रेष्ठ र खेलकुदको इन्चार्जमा गणेशमान पुन तोकिएका छन् ।
कतिपय नेतालाई दोहोरो तेहेरो जिम्मेवारी दिइएकोमा पनि उनले असहमति जनाएका छन् ।
नेपालनिकट स्रोतका अनुसार उनले लिखित रूपमा नै असहमति दर्ता गराउनेछन् । पार्टी एकतापछि नेपालको यो दोस्रो नोट अफ डिसेन्ट हो । यसअघि प्रदेश कमिटीका पदाधिकारी चयनमा उनले नोट अफ डिसेन्ट लेखेका थिए ।
प्रतिक्रिया 4