Comments Add Comment

पानीट्यांकी बनाउँदा पहिरो : लोकन्थलीका पाँच घर जोखिममा, एक घर खाली गराइयो

३ भदौ, काठमाडौं । भक्तपुरको लोकन्थलीमा पहिरो खस्दा पाँच घर जोखिममा परेका छन् । एक घरलाई खाली गराइएको छ । पहिरोले पैदल हिँड्ने बाटोसमेत अवरुद्ध पारेको छ ।

मंगलबार बिहान पौने २ बजेतिर पहिरो खसेको र अब के गर्ने भनेर जिल्ला सुरक्षा समितिमा छलफल चलिरहेको मध्यपुरठिमी नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुरज खड्काले जानकारी दिए । उनका अनुसार घर भने चर्किएको छैन ।

असावधानी 

मध्यपुरठिमी नगरपालिकाको वडा नम्बर १, २ र ३ मा खानेपानीको समस्या छ । त्यसैले स्थानीय जनप्रतिनिधिहरु आइसकेपछि केन्द्र सरकारबाट बजेट मागेर वडा नम्बर १ मा पाँच लाख लिटर क्षमताको ट्यांकी बनाउने काम सुरु भयो । ट्यांकी बनाउन बजेट १ करोड ३२ लाख खर्च हुने स्टिमेट गरियो ।

त्यसपछि ठेक्का दिएर गत वैशाख महिनाबाट ट्यांकी खन्न सुरु गरियो । तर, काम गर्दागर्दै वर्षा सुरु भएको भन्दै ठेकेदारले काम रोक्यो । दुई-चार दिन पानी रोकिएपछि भदौ १ गते फेरि सामान्य सरसफाइ गर्ने भन्दै काम थालियो । तर रातिको वर्षाले ठूला रुखसमेत ढल्ने गरी पहिरो गयो ।

‘ग्याबिन वाल लगाउने भनेर अलिअलि खनेका रहेछन्, तर पहिरो गयो,’ वडा नम्बर १ का अध्यक्ष खड्काले भने ।

जहाँ पानी ट्यांकी बनाउने भनेर खनिएको छ, त्यो ठाउँ भिरालो छ । पानी ट्यांकी निर्माणमा सावधानी नअपनाउँदा पहिरो गएको र घरहरु जोखिममा परेको स्थानीय बताउँछन् । पहिरोका कारण सो स्थानको बाटो भत्किएर पैदल हिँडडुल गर्नसमेत गाह्रो भएको छ ।

वडा अध्यक्ष खड्काका अनुसार अघिल्लो वर्ष पनि त्यहाँ डेढ फिट भत्किएको  थियो । त्यसलाई सामान्य मर्मत गरियो । तर, राम्रोसँग मर्मत नगरेकाले अहिले पहिरो गएको वडाअध्यक्ष खड्काको अनुमान छ ।

पहिरो गएको स्थानको प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा प्रमुख, सांसद महेश बस्नेत र स्थानीय तहका जनप्रतिधिहरुले मंगलबार बिहान अवलोकन गरेका छन् । अवलोकनलगत्तै छलफल गर्न संयुक्त बैठक बसिरहेको छ ।

फोटो : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment