Comments Add Comment

कैलालीमा एक वर्षभित्रै गेटा मेडिकल सञ्चालनको तयारी

३ भदौ, कैलाली । कैलालीमा गेटा मेडिकल कलेज सञ्चालनको लागि गृहकार्य थालिएको छ । चाँडै कलेज सञ्चालन गर्ने लक्ष्यका साथ गृहकार्य थालिएको हो ।

हालसम्म निर्माणाधीन अवस्थामा रहेको मेडिकल कलेजमा आर्थिक वर्ष ०७७/७८ देखि पढाइ सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

मेडिकल कलेजको न्यूनतम पूर्वाधार र आवश्यक संरचना चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने भएकाले मेडिकल कलेज सञ्चालनको गृहकार्य पनि सुरु गरिएको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिले जानकारी दिएको छ ।

मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धित मन्त्रालयले ‘मोडालिटी’ बनाउने कार्य गरिरहेको समितिका निर्देशक भीमबहादुर साउँदले जानकारी दिए । उनले कलेज कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने टुङ्गो लागि नसकेको बताउँदै मन्त्रालयले गृहकार्य भने अगाडि बढाइ सकेको जानकारी दिए ।

अहिलेसम्म मेडिकल कलेज सञ्चालनका लागि भने कानूनी जटिलता छ । कलेज संचालनका लागि कानून बनेमा चाँडै मेडिकल कलेज सञ्चालनमा आउने निर्देशक साउँदले बताए । उनले सम्भवतः हिउँदे अधिवेशनमा संघीय सरकारले कानून बनाउने बताए ।

आवश्यक उपकरणसहित भौतिक न्यूनतम् पूर्वाधारको काम एकवर्षभित्रै सक्ने लक्ष्य रहेको साउँदको भनाइ छ ।

आवश्यक संरचना निर्माणको काम सम्भवतः छ महिनाभित्रै पूरा हुने गरि काम भएरहेको निर्देशक साउँदले बताए ।

समितिले तीन महिनापछि कलेज भवन हस्तान्तरणको तयारी गरिरहेको छ । गेटा मेडिकल कलेजमा हालसम्म साना ठूला गरी २७ वटा भौतिक संरचनाको निर्माण कार्य भइरहेको छ ।

कलेज, अस्पताल र होस्टेल भवनलगायतका मुख्य-मुख्य संरचनाको निर्माण कार्य अन्तिमतिर पुगेको छ । यी संरचनाहरुलाई यसै वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको समितिले जनाएको छ ।

समितिका इन्जिनियर पवन रावलले कलेज भवनको निर्माण कार्य ८० प्रतिशत पूरा भएको बताए । उनले भवनको भित्री भागमा ‘फिनिसिङ’ भइरहेको र केही भवनहरुमा झ्याल, ढोका लगाउने र छेउछाउमा ट्रेन्च बनाउने काम बाँकी रहेको बताए ।

यसैगरी, पहिलो प्याकेज अन्तर्गत निर्माण भइरहेको अस्पतालको तल्लो भवनको निर्माण कार्य ६० प्रतिशत पूरा भएको छ । त्यसैमाथि बनिरहेको दोस्रो प्याकेज अन्तर्गतको दोस्रो अस्पताल भवनको निर्माण कार्य लगभग ४५ प्रतिशत सकिएको जनाइएको छ । तीन/तीन सय गरी दुवै अस्पताल भवन ६ सय शैय्याको रहेको छ ।

डाक्टर र कर्मचारी आवास भवनको निर्माण कार्य तीव्र गतिमा भैरहेको इन्जिनियर रावलले जानकारी दिए । उनले आवास भवनको ४६ प्रतिशत निर्माण कार्य पूरा भएको बताए ।

आवास भवनको निर्माण अवधि अझै एक वर्ष दुई महिना बाँकी रहेको छ । प्रशासनिक भवनको निर्माण कार्य भने सन्तोषजनक छैन ।

सबैभन्दा पहिले ठेक्का भएको प्रशासनिक भवनको निर्माण कार्य अत्यन्त सुस्त रहेको इञ्जिनीयर रावलले जानकारी दिए ।

एक वर्ष पाँच महिनामात्रै निर्माण अवधि रहेको प्रशासनिक भवन निर्माणको लागि तीन पटक म्याद थप भइसकेको छ । ‘१३ करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको प्रशासनिक भवनको थपिएको समय पनि यही भदौसम्म मात्रै छ’, रावलले भने, ‘अहिलेसम्म ५५ प्रतिशत निर्माण कार्य पूरा भएको छ ।’

सबैभन्दा पहिले निर्माण कार्य सकिनु पर्ने प्रशासनिक भवनको भौतिक प्रगति कलेज भवनको भन्दा कम छ । रविना कन्स्ट्रक्शन प्रालिले प्रशासनिक भवनको निर्माण कार्य गरिरहेको छ ।

केही वर्षसम्म रुख कटानको लागि वनले आदेश नदिदा र जग्गा स्वामित्वको विवादले गेटा मेडिकल कलेज निर्माणको कार्यमा ढिलाई भएको थियो ।

आर्थिक वर्ष २०८०/०८१ सम्म गेटा मेडिकल कलेजको आवश्यक सम्पूर्ण पूर्वाधार तयार हुने गुरुयोजना बनाइएको छ । हालसम्म मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने न्यूनतम् पूर्वाधारमात्रै निर्माण भइरहेको छ । आवश्यकतानुरुपका थप पूर्वाधारको विभिन्न समयमा निर्माण हुँदै जाने इन्जिनियर रावलले बताए ।

नेपाल सरकारले आर्थिक वर्ष २०६६/०६७ मा मेडिकल कलेज निर्माणको घोषणा गरेको थियो । तर, निर्माण कार्य भने ढिला गरी सुरु भएको थियो । गेटा मेडिकल कलेज निर्माणमा हालसम्म साढे तीन अर्ब रुपैयाँ खर्च भएको छ ।

साना-ठूला गरी विभिन्न २७ वटा संरचना निर्माण भइरहेको मेडिकल कलेजको तयार पार्न सात अर्ब रुपैयाँ खर्च हुने रावलले बताए । गेटा मेडिकल कलेज निर्माणको लागि चालू आर्थिक वर्षमा एक अर्ब २५ करोड रुपैयाँ बजेट सङ्घीय सरकारले उपलब्ध गराएको छ ।

५१. ८ हेक्टर क्षेत्रफल जमीनमा गुरु योजना अनुसार गेटा मेडिकल कलेजको निर्माण कार्य भइरहेको छ ।

गेटा मेडिकल कलेज सञ्चालनमा आएमा प्रदेशको स्वास्थ्य क्षेत्रमा ठूलो टेवा पुग्ने प्रदेशबासीको अपेक्षा छ । हालसम्म एउटा पनि मेडिकल कलेज नहुँदा प्रदेशका जनताले स्वास्थ्य उपचारमा निकै दुःख भोगिरहेका छन् ।

ठूलो र सुविधा सम्पन्न अस्पताल नहुँदा प्रदेशवासीले उपचारको लागि कोहलपुर मेडिकल कलेज, काठमाण्डौं र भारतसम्म धाउनु पर्ने बाध्यता छ ।

गेटा मेडिकल सञ्चालन भएमा उपचारका लागि बाहिरा जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment