Comments Add Comment

भारतीयको प्रदर्शनका कारण वीरगञ्ज नाका अवरुद्ध

४ भदौ, वीरगञ्ज । सीमा क्षेत्रमा भारतीय नागरिकको प्रदर्शनका कारण नेपाल प्रवेश गर्ने गाडी रोकिएको छ । भारतीय नम्बर प्लेटका गाडी इन्ट्री गर्ने नाममा वीरगञ्ज भन्सार कार्यालय दुख दिएको भन्दै रक्सौलका वासिन्दाले प्रदर्शन गर्दा भारतबाट समान लिएर आएका गाडी नेपाल प्रवेश गर्न नसकेको हो ।

रक्सौलस्थित भारतीय कष्टम अगाडि एम्बुलेन्स लगायतका सवारी साधन तेर्साएर विरोध प्रदर्शन गर्दा बुधबार दिउँसोदेखि वीरगञ्ज–रक्सौल नाका अवरुद्ध बनेको थियो ।

भारतीय सीमावर्ती रक्सौल भित्रिने नेपाली नम्बर प्लेटका सवारी साधनमा भारतीय कस्टमले कुनै किसिमको इन्ट्रि तथा राजस्व नलिए जस्तै गरी वीरगञ्ज महानगरपालिकाभित्र भारतीय मोटरसाइकललाई विना रोकतोक जान दिनुपर्ने उनीहरुको माग छ ।

सवारी साधन नेपाल प्रवेश गर्दा फारम भर्न लगाई दुख दिएको र घण्टौं लाइन राखेको उनीहरुको गुनासो छ । भारतीय एम्बुलेन्सले समेत इन्ट्री गर्नुपर्दा समस्या भएको उनीहरुको भनाइ छ । केही दिनदेखि भारतीय गाडीलाई नेपाल प्रवेशमा कडाइ गरेपछि भारतीयले विरोध गरेका हुन् ।

भारतको रक्सौलस्थित डंकन अस्पतालबाट विरामीलाई रिफर गरी वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लैजाने क्रममा बीआर ०६ पी ८९१६ नम्बरको एम्बुलेन्सलाई इन्ट्री गराउने क्रममा विरामीको मृत्यु भएको उनीहरुको भनाइ छ ।

वीरगञ्जबाट रक्सौल जाने क्रममा कतैपनि सवारी साधन इन्ट्री गर्नुपर्दैन । तर, नेपालतर्फ आउँदा वीरगञ्ज भन्सार कार्यालयमा इन्ट्री गराउनुपर्ने प्रावधान छ ।

नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनले २४ घण्टे निशुल्क पास पाउँछन् भने बढी समय बसेमा प्रतिदिन मोटरसाइकलका लागि १ सय ५० र चारपांग्रे सवारीका लागि ५ सय रुपैयाँ भन्सार महशुल तिर्नुपर्छ ।

चोरी, तस्करीलगायत विभिन्न आपराधिक गतिविधिमा भारतीय सवारी साधनको प्रयोग बढेको भन्दै केही दिनयता वीरगञ्जमा भारतीय गाडीको चेकजाँचमा कडाई गरेको छ ।
दिउँसोको समयमा धेरै भारतीय मोटरसाइकल आउने भएकोले भीड हुने गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत मनिष महतोले बताए ।

एक दिन अघि मात्रै सशस्त्र प्रहरीले अनुमति पत्र नलिई सञ्चालनमा रहेका १४ वटा भारतीय गाडी नियन्त्रणमा लिएको थियो भने नेपाल प्रहरीले १५ वटा गाडी नियन्त्रणमा लिइसकेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भारतीय नागरिकबाट आएको गुनासोको बारेमा समकक्षी अधिकारीसँग छलफल भएको र सवारी साधन सुचारु गराइएको बताएका छन् ।

‘दुई देश भएपछि दुईथरी कानुन छ, कानुन कार्यान्वयनकै क्रममा भारतीय नागरिकबाट केहि गुनासा आएका छन्’ उनले भने, ‘दुवै देशका अधिकारीहरु आफ्नो देशको कानुन बाहिर जान त मिल्दैन, तर आइपरेका अप्ठेराहरुलाई व्यवहारिक रुपमा समाधान गर्न सकिन्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment