Comments Add Comment

यू–१९ एसिया कप : टेष्ट राष्ट्रलाई हराउने नेपालको लक्ष्य

६ भदौ, काठमाडौं । दुई सातापछि सुरु हुने यू–१९ एसिया कप क्रिकेटमा टेष्ट मान्यताप्राप्त राष्ट्रलाई हराउने लक्ष्यका साथ नेपाली किशोर टोली भोलि श्रीलंका प्रस्थान गर्दैछ ।

श्रीलंकामा स्थानीय टोलीसँग केही अभ्यास खेल खेलेपछि नेपालको तयारी पूरा हुनेछ । भारत, पाकिस्तान, श्रीलंकालगायतका टेष्ट नेशनहरुको सहभागिता रहने यो प्रतियोगिता नेपालका लागि आफ्नो क्षमता जाँच्ने महत्वपूर्ण अवसर हो ।

सेप्टेम्बर ५ देखि १४ (१९–२८ भदौ) सम्म हुने प्रतियोगितामा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् भने नेपाल, कुबेत र यूएई एसोसिएट टिम । नेपाल आयोजक श्रीलंका, बंगलादेश र यूएईसँगै समूह ‘बी’ मा छ ।

वर्षाका बाबजुद तयारी सन्तोषजनक रहेको युवा टोलीका प्रशिक्षक विनोद दास बताउँछन् । भन्छन्, ‘मौसमले जतिसम्म साथ दिएको छ, त्यसको सदुपयोग गरेका छौं । हामीसँग भएको सुविधाको प्रयोग गरेर अभ्यासमा कुनै कसर छोडिएको छैन ।’

एसिया कपमा नेपालको कप्तानी अनुभवी ब्याट्सम्यान रोहितकुमार पौडेलले गर्नेछन् । टिममा पवन सर्राफ, सन्दीप जोरा, भीम शार्की, रित गौतम, आशिफ शेख, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरि, सागर ढकाल, खड्कबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जिसी छन् । उनीहरुमध्ये धेरैसँग अन्तर्राष्ट्रिय म्याचको अनुभव छ ।

सबै खेलाडीले राम्रो अभ्यास गरिरहेको र सकारात्मक नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको प्रशिक्षक दास बताउँछन् । नेपालको यू–१९ टिमले पछिल्लो दुई वर्षको अन्तरालमा २९ वटा खेल खेलेको छ । त्यसमध्ये ६ वटामा हार ब्यहोरेको छ भने बाँकी खेल आफ्नो पोल्टामा पार्न सफल भएको छ । हारेका ६ खेलमध्ये पाँच खेल सबै टेष्ट राष्ट्रसँग थियो । यो पटक भने नेपाल टेष्ट राष्ट्रलाई नै चुनौती दिने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

प्रशिक्षक दास भन्छन्, ‘हामी जित्नुपर्ने दबाबकै बीचमा खेल्नेछौं । यदि हामीले आफ्नो स्तरभन्दा माथि उठेर खेल्न सक्यौं भने मात्रै अरु टिमलाई चुनौती दिन सक्नेछौं ।’

विनोद दास

कप्तान रोहित टेष्ट राष्ट्रसँग खेल्न पाउनु नेपालका लागि अवसर भएको बताउँछन् । भन्छन्, ‘टेष्ट राष्ट्रसँग खेल्न पाउनु ठूलो अवसर हो । त्यो अवसरलाई राम्रोसँग सदुपयोग गरेर प्रतिद्वन्द्वीलाई स्तब्ध पार्ने लक्ष्य छ हाम्रो । हामी टेष्ट राष्ट्रलाई पराजित गर्न सक्छौं तर, फिल्डमा सबैले उत्तिकै राम्रो प्रदर्शन गनुपर्छ ।’

सन्तुलित टिम !

यो पटक एसिया कपको लागि नेपालले सन्तुलित टिम पाएको छ । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्ष निकै राम्रो भएको युवा टिमका प्रशिक्षक दास बताउँछन् ।

यसअघि एसीसी यू–१९ एसिया कप छनोटमा नेपालको ओपनिङ रित गौतम र पवन सर्राफले गरेका थिए । दुबै खेलाडीको जोडी ओपनिङमा निकै जमेको थियो । रितले छनोटमा सिंगापुरविरुद्ध शतक बनाएका थिए ।

यो पटक भने आशिफ शेख टिममा फर्किएसँगै ओपनिङमा आशिफ र रित आउने निश्चित छ । यस्तो भएमा पवनले तेस्रो नम्बरमा ब्याटिङ गर्ने छन् ।

नेपालको मध्यक्रम बलियो छ । रोहित, सन्दीप, भीम र हरिबहादुरले मध्यक्रम धान्ने छन् । फिनिसिङ लाइनमा भने अलराउण्डर कुशल मल्ल, रासिद खान र कमलसिंह ऐरि छन् ।

बलिङतर्फ पनि नेपाल राम्रो छ । स्पिनर सागर ढकाल, सुर्य तामाङ, कुशल मल्ल, पवन सर्राफ छन् । फास्ट बलिङमा रासिद खान, कमलसिंह ऐरि, प्रतिस जिसी हरिबहादुर चौहान छन् ।

ब्याटिङमा सुधार ?

परम्परागतरुपमा नेपालको कमजोर पक्ष भनेको ब्याटिङ नै मानिन्छ । तर यो पटक भने ब्याटिङ लाइन सुधारिएको मुख्य प्रशिक्षक विनोद दासको दाबी छ ।

भन्छन्, ‘एउटा खेलमा पवनले ९५ रन बनाएका छन् । अर्को खेलमा रितले ९५ रन बनाएका छन् । रोहितले त्यतिकै उत्कृष्ट ब्याटिङ गरेका छन् । सन्दीप, आसिफले पनि राम्रो खेलिरहेका छन् । यद्यपि सुधार गर्नुपर्ने ठाउँ बाँकी नै छ’ उनी भन्छन्, ‘एसिया कपको तयारीकै क्रममा ब्याटिङमा पनि विस्तारै सुधार हुँदै आएको छ । अझै पनि पूर्ण रुपमा कमजोरी हटेको भने छैन ।’

ब्याटिङ समस्या हट्न नसक्नुको कारण नेपालको विकेट र अनुभवको कमी भएको प्रशिक्षक दासको प्रस्ट्याईं छ ।

उनकाअनुसार नेपालमा स्तरीय विकेट छैन । यू–१९ क्रिकेट टिमले टियु क्रिकेट मैदानमै अभ्यास गर्‍यो । त्रिवि क्रिकेट मैदानको पिच अहिले निकै विग्रिसकेको छ ।

खेलाडीले स्तरीय पिचमा अभ्यास गर्न नपाउँदा ब्याटिङमा राम्रोसँग सुधार हुन नसकेको उनी बताउँछन् । त्यसो त, नेपालले भारतमा वैदेशिक अभ्यास गर्ने प्रस्ताव एसियन क्रिकेट परिषद् (एसीसी)मा पठाएको पनि थियो तर अस्वीकृत भयो । त्यसैले टोलीले केही पहिले गएर श्रीलंकामा नै अभ्यास गर्नेछ ।

प्रशिक्षक दास भन्छन्, ‘ब्याट्सम्यानहरुले राम्रो विकेटमा अभ्यास गर्न पाउन् र बलरहरुलाई पनि अलिकति चुनौती होस् भनेर भारत लैजान खोजेका थियौं, तर सफल भएनौं ।’

सेमिफाइनल पुग्ने लक्ष्य

एसिया कपमा नेपालको लक्ष्य सेमिफाइनल पुग्ने हो तर टेष्ट राष्ट्रलाई पराजित गर्नु त्यति सजिलो भने छैन ।

‘हामीले पछिल्लो दुई वर्षको अवधिमा बंगलादेशलाई उसकै घरेलु मैदानमा गएर हरायौं । अफगानिस्तानलाई भारतमा हरायौं । भारतलाई मलेसियामा हरायौं । श्रीलंकासँगको खेल जितनजिक पुगेर हारेका छौं । हामी कमजोर छैनौं,’ प्रशिक्षक दासले भने ।

कप्तान रोहितकुमार पौडेलेलाई पनि टेष्ट राष्ट्रलाई पराजित गर्ने विश्वास छ । उनी भन्छन्, ‘हामी सबैको लक्ष्य नै अहिले एसिया कपमा राम्रो गर्ने हो । टेष्ट राष्ट्रलाई पराजित गर्दै सेमिफाइनल, फाइनल पुग्न सक्यौ भने एकदमै राम्रो सन्देश जानेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment