Comments Add Comment

नाडा अटो मेलामा आउँदैछन् यस्ता नयाँ गाडी

६ भदौ, काठमाडौं । हरेक वर्ष चाडपर्वको माहोल सुरु भएपछि धेरै नेपालीहरुमा नयाँ सवारीसाधन जोड्ने जोश चढ्छ । आर्थिक स्रोत मजबुत भएका मध्यमवर्गीय व्यक्ति पनि दुईपांग्रे र चारपांग्रे छनोटमा लाग्छन् ।

उपभोक्ताको यही प्रवृत्तिमा टेकेर निजी सवारीसाधनहरुको संगठन नाडाले हरेक वर्ष यस सिजनमा ‘अटो शो’ आयोजना गर्दै आएको छ । नयाँ सवारीसाधन किन्न इच्छुकहरुका लागि यहाँ छनोटका धेरै विकल्पहरु हुन्छन् । एक प्रकारले यो दुईपांग्रे र चारपांग्रे सवारीसाधनको मेला जस्तै हो ।

यसपालीको अटो शो भदौ १० गतेबाट सुरु हुँदैछ । यसैलाई लक्षित गर्दै विभिन्न आटोमोबाइल ब्रान्डहरुले नयाँ-नयाँ सवारीसाधन भित्र्याएका छन् । कति सार्वजनिक भइसकेका छन् भने कतिपय सार्वजनिक गर्ने तयारी हुँदैछ ।

अटो मेलामा यस वर्ष पनि विभिन्न कम्पनीले नयाँ मोडलका सवारीसाधन राख्नेछन् । मेलामा नयाँ चार पांग्रे सवारीहहरु आकर्षणको केन्द्रमा हुन्छन् । आफ्ना प्रतिक्षित र उत्कृष्ट उत्पादनलाई कम्पनीहरुले यसै समयमा सार्वजनिक गर्छन् । त्यसैले नाडामा आउने नयाँ गाडीबारे धेरैलाई चासो छ ।

मेलालाई लक्षित गरेर धेरै कम्पनीले भर्खरै नयाँ कार नेपाल ल्याएका छन् । यहाँ हामीले तीमध्ये केही कारहरुको चर्चा गर्दैछौं ।

टाटा एच फाइभ

टाटाले ‘ह्यारियर’ नाममा उत्पादन गरेको गाडी हो ‘एच-फाइभ’ । नेपालमा टोयोटाले यही नाम दर्ता गरेकाले यसलाई एच फाइभ नाम दिएर नेपाल ल्याइएको छ ।

सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोमा यो एसयूभीलाई सार्वजनिक गर्दैछ । हेर्दा र चढ्दा प्रिमियम गाडीको झल्को आउने भए पनि यो गाडीको मूल्य भने अपेक्षित सस्तो हुने कम्पनीको दावी छ ।

उत्कृष्ट प्लेटर्फममा बनेको यो गाडी लुक्समा मात्रै सानदार छैन, परफर्मेन्स र सुरक्षाका हिसावले पनि अब्बल मानिएको छ । यसले नेपाली बजारमा प्रभाव छाड्ने कम्पनीको विश्वास छ ।

यो कारमा क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिन छ । शक्तिशाली इन्जिनसहितको गाडी नेपाली सडकका लागि उपयुक्त भएको कम्पनी बताउँछ । यसको इन्जिनले १३८ बीएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ ।

टाटा एच फाइभ ल्यान्डरोवरको ओमेगा डिएट प्लेटर्फममा निर्माण गरिएको गाडी हो । यसमा पुश बटन स्टार्ट-स्टप, सेमी-डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, मल्टी फङ्सन स्टेरिङ, हाइट-अड्जस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् ।

सिप्रदीले यो गाडीको बुकिङ खुला गरिसेकको छ ।

सुजुकीका तीन हाईब्रिड गाडी

सिजी मोटोकर्पले नाडामा तीनवटा हाईब्रिड गाडी सार्वजनिक गर्दैछ । अब सियाज पूर्णरुपमा नयाँ भर्सनमा आउने छ भने आर्टिगा र एसक्रस फेस लिफ्टमा आउँदैछन् ।

यी हाईबि्रड कारहरुले माइलेज बढाउँछन् । जामाम बस्दा पनि यसले इन्धन बचाउँछ । एसक्रस तीन भेरियन्टमा उपलब्ध हुनेछन् । जसमा एसक्रस डेल्टा, जेटा र अल्फा हुन् । यिनको मूल्य फरक तय भएको छ ।

आर्टिगा पनि तीनवटै भेरिन्टमा उपलब्ध हुनेछन् । यसमा भीएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस भेरियन्टको विकल्प छ ।

सियाज पूर्णरुपमा नयाँ विशेषतासहित आउँदैछ । यसका पनि तीनवटा भेरियन्ट छन् । यी गाडीहरुले नेपाली बजारमा सुजुकीलाई थप नयाँ उचाईमा लैजाने कम्पनीको दावी छ ।

हुन्डाई ‘भेन्यू’, सान्ट्रो र कोना

हुन्डाईले आफ्नो लोकप्रिय एसयूभी ‘भेन्यू’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो गाडी पनि नाडाकै लागि नेपाल ल्याइएको हो ।

यो गाडीले नेपाली बजारमा गजबको प्रतिक्रिया र ग्राहक बटुल्ने विश्वास कम्पनीको छ । हुन्डाईको नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले यो गाडी नेपाली माटो र बाटो सुहाँउदो रहेको बताएको छ ।

विशेषगरी ३५ देखि ४५ वर्ष उमेरका व्यक्ति, इन्ट्री लेभलमा गाडी अपग्रेड गर्न चाहने र मध्यमवर्गका विभिन्न पेशागत उपभोक्ता तथा युवाहरुलाई लक्षित गरी यो गाडी नेपाल ल्याइएको कम्पनीले जानएको छ । उत्कृष्ट एक्स्टेरियर, इन्टेरियर र फिचर्समा ल्याएकाले पनि यसले बजारमा राम्रो चर्चा पाउने विश्वास कम्पनीका प्रवन्ध निर्देशक अन्जन श्रेष्ठको छ ।

भेन्यू गाडी प्रिमियम अवतारमा आएको छ । यसमा विभिन्न आधुनिक सुविधाहरु छन्, जसले कारलाई पि्रमियमस्तरको बनाएको छ ।

भेन्यूमा थुप्रै ‘बेस्ट इन सेगमेन्ट’ र ‘फस्र्ट इन सेगमेन्ट’ फिचर्सहरु छन् । जुन ग्राहकका लागि निकै उपयोगी हुन्छन् । यसमा शक्तिशाली इन्जिनहरु प्रयोग भएका छन् । यो गाडीमा १.२ लिटर पेट्रोल इन्जिन, १.४ डिजेल इन्जिन र १.० टर्बो पेट्रोल इन्जिनका विकल्पहरु छन् ।

त्यसैगरी हुन्डाईले गत वर्षको नाडामा देख्न नपाइएको सान्ट्रो पनि यो वर्ष राख्नेछ । नयाँ स्यान्ट्रो पहिलेको भन्दा पनि धेरै पि्रमियम अवतारमा आएको छ । पहिले इन्ट्री लेभलको मानिएको कार अहिले निकै परिष्कृत भएर आएको छ । यसमा विभिन्न आधुनिक सुविधाहरु छन्, जसले कारलाई पि्रमियमस्तरको बनाएको छ ।

पहिलो उत्पादनको २० वर्षपछि फेरि स्यान्ट्रो आएको हो । कम्पनीले स्यान्ट्रो कारलाई सन् १९९८ मा पहिलोपटक बजारमा ल्याएको थियो ।

नयाँ सान्ट्रो पहिलोको भन्दा स्पेसियस हुनुका साथै डिजाइनका हिसावले पनि निकै आकर्षक रहेको कम्पनी बताउँछ । हुन पनि यसको बाहिरी डिजाइनले सबैलाई प्रभावित गरेको छ । त्योभन्दा बढी यो गाडीमा हाल सबै भेरियन्टमा एयरब्याग र एबीएस छ । जसले गाडीलाई सुरक्षित बनाएको छ ।

पहिलेको भन्दा यसमा धेरै परिवर्तनहरु गरिएका छन् । अहिले पाछाडि बसेर यत्रा गर्नेका लागि पनि ‘रियर एसी भेन्ट्स’ छ ।

यसको लेग रुमा पनि कम्फर्टेबल बनाइएको छ भने सस्पेन्सन सिस्टम पनि आधुनिक भएकाले लामो यात्राका दौरान पनि थकान महसुश हुँदैन ।

गाडीभित्र विभिन्न टुल्सहरु वैज्ञानिक तवरले ‘प्लेसिङ’ गरिएको छ । यसलेे गर्दा गाडी सुसज्जित र भव्य लाग्छ ।

गाडीमा रेयर पार्किङ सेन्सर पनि राखिएको छ । यस्ता महत्वपूर्ण फिचर्सका कारण यो गाडी धेरै ग्राहकको नजरमा परेको छ ।

पावर विन्डोसहितको यो गाडीको बडी आइस्ट्यान्स स्टिलबाट बनेको छ । यसले गाडीलाई मजबुत मात्रै बनाएको छैन, सुन्दर बनाउन मद्दत गरेको छ ।

यो गाडीमा १६५  एमएमको ग्राउन्ड क्लीयरेन्स छ । जुन विशेषताका कारण ग्राभल रोडमा  पनि सान्ट्रो सजिलै चलाउन सकिन्छ ।

यस्तै विशेषताका कारण पुरानो सान्ट्रो चढिरहेकादेखि उच्चवर्गीय परिवारसम्मले यो गाडीलाई रोजेका छन् । ‘कोना’ पनि हुन्डाइले नाडामा राख्ने गत वर्षको भन्दा फरक गाडी हो ।

महिन्द्राका दुई मोडल

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यसपटकको नाडा अटो शोमा महिन्द्राको पछिल्ला उत्पादनहरु ‘एक्सयूभी-३००’ तथा ‘मराजो’ नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ ।

भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलग्गै पहिचान बनाउन सफल यी दुई गाडीले नेपाली बजारमा निकै राम्रो बजार बिस्तार गर्ने कम्पनीको अपेक्षा छ ।

महिन्द्राले उत्पादन गरेको स्पोर्ट्स यूटिलिटी भेइकल (एसयूभी) ‘एक्सयूभी ३००’ र कम्पनीकै पहिलो लग्जरी मल्टि पर्पोज भेइकल (एमपीभी) ‘मराजो’ ले नाडा अटो शो २०१९ मा सबैको ध्यान खिच्ने दावी गरिएको छ ।

महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी-३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी हो । महिन्द्राको नयाँ प्लाटर्फम ‘एक्स-१००’ अवधारणामा आधारित एक्सयूभी-३०० को डिजाइन निकै आक्रामक रहेको छ ।

यसमा आकर्षक सन-रुफको साथै, एलईडी डेटाइम रनिङ-लाइट, पुस स्टार्टस्टप बटन, टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता उपलब्ध छन् ।

एक्सयूभी ३०० मा ७ ओटा फस्टइन सेग्मेन्ट फिचर दिइएको छ । सातवटा एयरब्याग, चारै चक्कामा डिस्क-ब्रेक, १७ इन्च अलोय-ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी-३०० निकै सुरक्षित गाडी बनेको छ ।

नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरका साथै २००० देखि ३५०० आरपीएममा २०० एनएम-टर्क उत्पादन गर्छ ।

साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५०० देखि २५०० आरपीएममा ३०० एनएम टर्क उत्पादन गर्छ । यो गाडीले युवा पुस्तालाई आकषिर्त गर्नेछ ।

त्यस्तै निकै चर्चामा रहेको महिन्द्राको पहिलो एमपीभी मराजो पनि यस वर्षको नाडा अटो शोमा मुख्य आकर्षणको रुपमा रहने छ । मराजोको डिजाइन सार्क माछाबाट प्रेरित हो भने, कारको केही भागहरू शिकारी सार्क माछाको डिजाइनबाट प्रेरित भएर निर्माण गरिएको छ ।

महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ । मराजोका सबै भेरियन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिस्ट, स्टायडर्ड रुपमा दुईवटा एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू दिइएको छ ।

मराजो कारको क्याविनको छतमा एयर कन्डिसनिङ भेन्ट सिस्टम जडान गरिएको छ भने कारको सेन्टर कन्सोलमा ठूलो टचस्क्रीन सहितको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।

कारमा थ्री-स्पोक स्टेयरिङ ह्वील रहेको छ, जसमा अडियो, ब्लू-टुथ टेलेफोनिक र क्रुज कन्ट्रोलको सुविधा रहेको छ ।

महिन्द्रा मराजोमा नयाँ १.५ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ । जसले ३५०० आरपीएममा १२१ हर्स पावर र १७५० देखि २५०० आरपीएममा ३०० एनएमटर्क उत्पादन गर्छ ।

जिपको कम्पास ट्रायलहक र स्पोर्ट्स प्लस

नाडामा जिपले दुईवटा नयाँ गाडी सार्वजनिक गर्दैछ । ट्रायलहक र कम्पास स्र्पोट प्लस जिपले नाडामा सार्वजनिक गर्ने नयाँ गाडी हुन् ।

ट्रायलहक ‘अफरोड-फोकस्ड’ छ । यसमा ‘डिजेल अटो कम्बिनेसन’ छ । पुरानो क्रोम बिटहरुलाई ‘ब्ल्याक आउट’ गरिएको पाउनुहुनेछ । ‘फ्रन्ट गिल’अब ‘म्याट ब्ल्याक’भएको छ र बोनेटको बीचमा रहेको जिपको लोगो पनि कालो बनाइएको छ । र, सबैभन्दा महत्वपूर्ण कुरा यसको फेन्डरमा ‘ट्रायल रेटेड’ ब्याज छ ।

ट्रायलहकमा १७ इन्चको एलोइ ह्विल लगाइएको छ भने गाउन्ड क्लीयरेन्स २०५ एमएम रहेको छ । यसको ‘वाटर वेन्डिङ डेफ्ट’ ४८० एमएम रहेको छ जुन अघिल्ला कम्पासको तुलनामा ७५ एमएम बढी हो ।

त्यसैगरी कम्पास स्र्पोट्स प्लस निकै स्पोर्ट लुक्समा ल्याइएको गाडी हो । यसमा ब्ल्याक रुफ रेल्स छ । जसले कारलाई निकै सुन्दर देखएको छ ।

स्याङयोङको म्युसो ग्रान्ड

स्याङयोङले पनि नाडालाई लक्षित गरेर एउटा नयाँ गाडी नेपाल ल्याएको छ । डबल क्याब पिकअप म्युसो ग्रान्ड नामा देख्न पाइने छ । हाल यो गाडीको पि्र-बुकिङ पनि खुलिसकेको छ ।

म्युसो फोएक्स २ एमटी, फोर एक्स टु एटी, फोरएक्स फोर एटी गरी तीन भेरियन्टमा उपलब्ध गराइने छ । आकर्षक डिजाइनको यो पिक-अप गाडी नेपाली बजारमा निकै प्रभावशाली हुने कम्पनीको विश्वास छ  ।

यो पिक-अपमा स्मार्ट इन्फोटेनमेन्ट सिस्टमसँगै एप्पल कार प्ले र एन्ड्रोइड अटोको सविधा छ ।

अटो डिमी रियर भ्यु मिरर, स्पीड सेन्सिङ पावर स्टेयरिङ, अटोमेटिक हेडल्याम्प, एडजस्टेबल लेभलिङ, डबल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, र सनरुफ लगायतका पि्रमियम फिचर्सहरु छन् ।

फोर्डका दुई मोडल

जीओ फोर्डले यो वर्ष फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ । कम्पनीले रेन्जरको हाइइन्ड र इकोस्पोर्टको ‘थन्डर’ मोडल सार्वजनिक गर्नेछ । नेपाली बजारमा निकै निकै रुचाइएको यो गाडी  यसअघिका भर्सनभन्दा परिस्कृत गरेर ल्याइएको छ  ।

आधुनिक फिचर्स, गाडीको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, माइलेजका कारण धेरैले इको स्पोर्टलाई रुचाएका छन् । यसको नयाँ भेरियन्टलाई पनि बजारमा रुचाइने अपेक्षा छ ।

यो १५ सय सीसीको कम्प्याक्ट एसयूभी हो । यसमा ५ सिट क्षमता छ भने ५२ लिटरको टयांकी छ । ग्राउण्ड क्लियरेन्स २०० मिलिमिटर छ ।

आकर्षक डिजाइनको यो गाडीमा आधुनिक प्रविधिको म्युजिक सिस्टमसहित लक्जेरियस सिट छ ।

डीएफएसकेको ग्लोरी-५८०

डोङ्फेङ् सकोन -डीएफएसके) को ग्लोरी -५८० मोडल पनि नाडमा नयाँ गाडीमा रुपमा प्रदर्शनमा रहनेछ । १.५ लिटरको टर्बोचाज्र्ड इन्जिन रहेको ग्लोरी -५८० मा ६ वटा अटोमेटिक सीभीटी ट्रासमिसन छ । जसले १४८ बिएचपी पावर तथा २२० एनएम-टर्क जेनेरेट गर्छ ।


यसमा ईबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, ब्रेक असिस्ट सिस्टम, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टुइन-साइड तथा कर्टन एयरव्याग, रिभर्स पार्किङ सेन्सर तथा क्यामरा लगाएतका फिचर्स छन् ।

कम्पनीका अनुसार यसको अगाडि बम्परमा तीनवटा लाइनमा रहेको क्रोम फिनिसिङले यसलाई स्पोर्टी देखाएको छ भने प्रोजेक्टर एलईडी डेटाइम रनिङ-लाइट रहेको छ, जसलाई लायन आई-सेपमा डिजाइन गरिएको छ । ग्लोरी-५८० को नेपाली बजारमा लग्जरी भेरियन्ट र म्यानुयल ट्रान्समिसन उपलब्ध छ।

कियाको निरो

कन्टिनेन्टल ट्रेडिङले यो वर्ष नाडमा राख्ने गाडीहो, कियाको विद्युतीय गाडी निरो । पछिल्लो सयममा विद्युतीय कारमा उपभोक्ताको बढ्दो विद्युतीय सवारी प्रतिको आकर्षणलाई ध्यानमा राखेर यो कार नेपालमा सार्वजनिक भइसेकेको छ ।

किया निरोमा ६४ किलोवाट क्षमताको ब्याट्री छ । १५० किलोवाटको इलेक्टि्रक मोटरले २०१ बीएचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । निरोले ७.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको गती तय गर्न सक्छ ।

यसमा डिसी फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न ७५ मिनेट लाग्छ । एक पटकको पुरा चार्ज गरेपछि गाडीले ४८० किलोमिटर गुड्न सक्छ ।

निसानको किक्स एक्सभी प्रिमियम प्लस

नाडामा निसानको किक्सको नयाँ भेरियन्ट एक्सभी प्रिमियम प्लस पनि आउँदैछ । यो किक्सको टप भेरियन्ट हुनेछ ।

किक्स एक्सभी प्रिमियम प्लसमा १.५ लिटर के९के डीसीआई डिजेल इन्जिन छ । यो १४६१ सीसी क्षमताको हो । यसले ३८५० आरपीएममा १०८ बीएचपी पावर र १७५० आरपीएममा २४० एनएम टर्क उत्सर्जन गर्छ ।

यो गाडी एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसिस्ट, हिल एसिस्ट, इन्जिन इमोबिलाइजर, चाइल्ड लक, पावर विन्डो, अटोमेटिक हेड ल्याम्पसहितका सुविधा छन् ।

क्रुज कन्ट्रोल, १२ भोल्ट पावर आउटलेट, रियर पार्किङ क्यामेरा, पुसबटम स्टार्ट, हाइट एड्जस्टेवल ड्राइभर सिट, फ्रन्ट आर्मरेष्ट, कि-लेस इन्टि्र, क्लाइमेट कन्ट्रोलजस्ता फिचर्स पनि छन् ।

टोयोटा र्‍याभ फोर हाईब्रिड

टोयोटाको र्‍याभफोर नाडा अटो शो २०१९ मा देख्न पयाइने नयाँ गाडी हो ।  टोयोटाले हाईब्रिड र्‍याभफोर २.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ ।

यो सीभीटी अटोमेटिक गेयरबक्समा आधारित गाडी हो । यसमा ८ इन्च टच स्क्रीन इफोटेनमेन्ट सिस्टम छ । अटो हेडल्याम्प, अटो वाइपर, १७ इन्ज अलोय ह्वील लगायतका फिचर्सले गाडी सुसज्जित छ ।

रेनोले पनि आफ्नो नाडालाई लक्षित गर्दै गाडी नेपाल ल्याउन लागेको छ । यस्तै अन्य केही ब्रान्डले पनि नयाँ गाडीहरु नाडालाई लक्षित गरेर बजारमा ल्याउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment