Comments Add Comment

रसुवाको धुसेनीमा पहिरो, १० घर र १ विद्यालय जोखिममा

८ भदौ, काठमाडौं । अविरल वर्षापछि गएको पहिरोले रसुवाको ७ रोपनी धानखेत बगाएको छ । पहिरोले १० घर र विद्यालयसमेत जोखिममा पारेकाे छ ।

जिल्लाको कालिका गाउँपालिका–४, धुसेनीमा शुक्रबार राति गएको पहिरोले करिब ७ रोपनी धानखेत बगाएको हो ।

रसुवाको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले शुक्रबार धुसेनीको देवकोटा टोलमा गएको पहिरोले ३ परिवारको ७ रोपनी खेत बगाएको जानकारी दिए । प्रजिअ भण्डारीका अनुसार, १० घर र एक विद्यालयसमेत पहिरोका कारण जोखिममा परेका छन् । सेतीदेवी मावि र देवकोटा टोलका १० घर पहिरोले जोखिममा परेका हुन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी भण्डारीसहितको टोलीले शनिबार पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

भण्डारीले शनिबार पहिरो प्रभावित देवकोटा टोलको स्थलगत अवलोकन गरेर स्थानीयवासीसँग छलफल तथा परामर्श गरेको जानकारी दिए ।

रसुवा खासगरी पहिरोको जोखिममा रहेको हिमाली जिल्ला हो । एक साताअघि मात्रै भोटेकोसीमा बाढी आउँदा टिमुरे र रसुवागढी जोड्ने पुल बगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment