Comments Add Comment

एक गरिब बाबुको संघर्ष

फूलको थुँगाजस्तै उज्याली छोरीले फेरि बाबा भनेर बोलाएको सुन्ने रहर छ उनलाई । ठेला चलाएरै भए पनि छोरीलाई पढाउने र बढाउने इच्छा मरेको छैन । उनले हिम्मत हारेका छैनन् । छोरीको उपचार हुन्छ भने संसारको जुनसुकै कूनामा लैजान तयार छु भन्ने दृढ संकल्प जिउँदैछ ।

त्यसैले त उनी छोरीको उपचारमा रात दिन तल्लीन छन् । छोरीलाई सञ्चो भएर फेरि बाबा भन्दै बोलाउँदाको क्षण उनलाई संसार जितेजस्तो हुने छ । अहिले अर्को कुनै सोच छैन । छोरी नै संसार हो । छोरी नै दैनिकी अनि त्यही छोरीमा उनको प्राण अटेको छ ।

उनको नाम राजकुमार सूचिकार हो । वर्ष ४४ । चितवन जिल्ला राप्ती गाउँपालिका वार्ड नम्बर एक पिप्लेका स्थायी वासिन्दा उनी हाल नारायणगढमा ठेला चलाएर दैनिकी गुजार्छन् । उनको परिचय यत्ति हो ।

उनका साथमा छिन् उनकी तीन वर्षीया छोरी कृष्णमाया सूचिकार । ०७३ भाद्र ९ गते जन्मदा स्वस्थ छोरी एकाएक अहिले बोल्न, देख्न र उठ्नसमेत नसक्ने भएपछि उनको संसार अहिले अँध्यारो भएको छ ।

लामो समय हैदरावाद भारतमा मजदुरी गरेपछि वुटवल आएर ज्यामी काम गर्दागर्दै आफूजस्तै काम गर्ने श्रीमती पाएर उनी मख्ख थिए । जिन्दगी ठिकै चल्दै थियो । छोरी जन्मिएपछि उनीहरु झन् खुशी भए । तर, खुशी धेरै दिन टिकेन । गत माघ १८ गते माइत जान्छु भन्दै छोरी लिएर हिँडेकी श्रीमती अर्कैसँग बिहे गरेर गइन् । छोरीको मायाले उनले गत फागुनमा श्रीमतीलाई भेटेर छोरी फिर्ता ल्याए ।

लेखक

श्रीमतीले लिएर जाँदा स्वस्थ छोरी जब फागुनमा उनले भेटे दुब्लाएकी छोरी, घाउ खटिरा आएको, खानेकुरा खासै खान नखाने अवस्थाकी दुब्ली, ख्याउटे ।

जन्मिएको १७/१८ महिनासम्म स्वस्थ छोरी अहिले यो हालतमा आउँदा पटक–पटक भक्कानिएर रुन्छन् उनी । छोरी अहिले बोल्न सक्दिनन्, आँखा देख्दिनन् अनि हातखुट्टा बाँङ्गा भएका छन् ।

उपचारका लागि उनले चितवनका सबै अस्पताल चाहारे । हाल काठमाण्डौं आइपुगेका छन् । आफ्नो भन्नु कोही छैन, त्यही ठेला चलाएर गुजारा गर्नुपर्ने अवस्थामा छोरी स्याहार्ने अर्को व्यक्ति नहुँदा उनी पटक–पटक भक्कानिएर रुन्छन् । यस्ती छोरी छाडेर काममा कसरी जाउँ ? नजाउँ भने हातमुख के गरी जोडिन्छ, यस्तै पीडा, अभाव र तनावका वीच छोरीलाई जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि निको बनाउने उनको हिम्मतले काठमाडौंसम्म आएका छन् ।

युट्युवमार्फत उनको भिडियो हेरेपछि मैले उनलाई नानीको अवस्था बुझ्न फोन गरें । उनी छोरीको उपचारका लागि काठमाण्डौं आएको चार दिनमात्र भएको रहेछ । नानीलाई भेट्ने तिब्र चाहनाका वीच उनलाई राखिएको पोषण पुर्नस्थापना केन्द्र ललितपुर पुगें । राजकुमार कपडा धुँदै रहेछन् ।

‘आफन्तहरु सबै पराइ भए सर’, उनी एकैछिन भक्कानिए र भने, ‘बोल्न सक्ने बनाउने इच्छा छ, अनि सन्तानको लागि बाबुले कतिसम्म गर्न सक्छ भन्नेर उदाहरण दिनु छ सर । आमाले त छोडेर गई, अब यसलाई जसरी पनि सञ्चो बनाउनु छ । छोरीको उपचारमा प्राप्त भएको रकम एक रुपैयाँ पनि मेरो लागि खर्च गर्दिनँ । म ठेला चलाएरै खान्छु ।’

मैले उनकी छोरीलाई पनि भेटें । उनको निर्दोश अनुहार, चन्द्रमाजस्ती उज्याली छोरी देख्दा मन ढक्क फुलेर आयो । एकछिन छोरीलाई सुम्सुम्याएँ । छोरी चाँडै निको भइदिउन् जस्तो लाग्यो ।

सोचें, यो गरिबलाई किन फेरि पीडा थपियो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment