Comments Add Comment

जनप्रतिनिधिबीचको द्वन्द्वले लिखु तामाकोसीका जनतालाई सास्ती

८ भदौ, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाका जनप्रतिनिधिबीचको आन्तरिक द्वन्द्वका कारण त्यहाँका जनताले सास्ती भोग्नु परेको छ ।

आन्तरिक द्वन्द्वका कारण तीन सातादेखि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नबस्दा विकास निर्माण लगायत अन्य सेवासुविधा प्रभावित हुँदा त्यहाँका जनताले सास्ती भोग्नु परेको हो ।

गाउँपालिका अध्यक्ष गोविन्द खड्का, उपाध्यक्ष दीपशिखा दाहाल र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राई कार्यालय नगएका कारण विकास निर्माण लगायत सर्वसाधरणको काम प्रभावित भएको स्थानीय हेमन्त पौडेलले बताए । ‘जनप्रतिनिधिहरुबीचको विवादले जनताको काम त रोकिनु भएन नि । यसको निकास सरोकारवाला निकायले पनि खोजिदिनु पर्छ । कार्यालय कति दिन बन्द हुने’, उनले भने ।

गत साउन १६ गते भएको कार्यपालिका बैठकमा अध्यक्ष खड्काले पेश गरेको विद्युतीकरणको विलको रकम भुक्तानीको विषयमा ६ जना वडा अध्यक्षसहित १० जना कार्यपालिका सदस्यले असहमति जनाएपछि विवाद सुरु भएको हो ।

वडा- १ को दुरागाउँमा गरिएको विद्युतीकरण कार्यका लागि ६ करोड रुपैयाँ भुक्तानी माग गरेका थिए । तर, कार्यपालिका सदस्यहरुले त्यसको एकपटक अनुगमन समितिले अनुगमन पछि मात्रै भुक्तानी दिनु पर्ने प्रस्ताव राखेका थिए । अनुगमनको कुरा उठाएपछि गाउँपालिका अध्यक्षले बैठकमै आक्रमणको प्रयास गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत राई सोही दिन कार्यालय छाडेर हिँडेका थिए । उनी अहिले सदरमुकाम मन्थलीमा बस्दै आएका छन् ।

बैठकमा प्रुमख प्रशासकिय अधिकृत राई र वडा-७ का अध्यक्ष सुवास बोहोरालाई कुर्सीले आक्रमण गर्न खोजेको भन्दै कार्यपालिका बैठक रोकिएको थियो ।
कार्यपालिका बैठक रोकिएपछि गाउँपालिका उपाध्यक्ष दाहाल र प्रमुख प्रशासकीय अधिकृत राई कार्यालयमा गाएका छैनन् ।

अध्यक्षबाट असुरक्षित भएको भन्दै कार्यालय नगएको उनीहरु बताउँछन् । प्रमुख प्रशासकीय अधिकृत राइले त आफू असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा निवेदन नै दर्ता गराएका छन् ।

आन्तरिक विवादपछि काठमाडौं गएका गाउँपालिका अध्यक्ष खड्का पनि गाउँ फर्किएका छैनन् । खड्कालाई धम्क्याउँदै २ करोड रुपैयाँ माग गरेको आरोपमा प्रहरीले साउन २४ गते काठमाडौंको स्वयम्भुबाट सोही गाउापालिका-७ का विजय लामा र अमृत तामाङलाई गोली हानी पक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस स्वयम्भु गोलीकाण्डको तरंग : गाउँपालिका अध्यक्षलाई कारवाही गर्न नेकपाको सिफारिस

वडा अध्यक्ष बोहरा र उपाध्यक्ष दाहालको समेत हात रहेकोले आफू असुरक्षित भएका भन्दै गाउँपालिका अध्यक्ष खड्का पनि गाउँ नफर्किएको बताउँछन् ।

गाउँपालिका अध्यक्ष खड्काले उपाध्यक्ष दाहाल, वडा ७ का अध्यक्ष बोहरा र नेकपाका नेता धु्रव कार्कीविरुद्ध किटानी जाहेरी नै दर्ता गराएका छन् ।

विद्युतीकरणको क्रममा १२ करोड रुपैयाँभन्दा बढी खर्च भएको भन्दै अध्यक्ष खड्काले गत वर्ष विनियोजन गरेको ५ करोड ९० लाख रकमबाट थप ६ करोड रुपैयाँ अपुग भएकोले रकम छुट्याउन गाउँसभामा प्रस्ताव लगेपछि विवाद भएको थियो ।

विवादको क्रममा अध्यक्ष खड्काले आक्रमणको प्रयास गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत राई, उपाध्यक्ष दाहाल र ६ जना वडा अध्यक्षसहित १० जना कार्यपालिका सदस्यले साउन १७ गते पत्रकार सम्मेलन गरेका थिए । यस गाउँपालिकामा ७ वटा वडा रहेका छन् ।

विद्युतीकरण विस्तारको अनुगमन

दुरागाउँमा विस्तार गरिएको विद्युतीकरणबारे विवाद उत्पन्न भएपछि जिल्ला स्तरीय अनुगमन समितिले अनुगमन गरेको छ ।

अनुगमनको क्रममा विद्युतीकरणमा प्रयोग भएका सामाग्रीको गुणस्तर राम्रो पाइएको अनुगमन समितिले जनाएको छ । तर, प्रयोग गरिएको सामानको परिमाणमा भने समितिले शंका गर्दै गाडिएको विद्युतको पोल गनिने भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको प्राविधिक टोलीले सोमबार विद्युतीकरणका क्रममा गाडिएको पोलका बारेमा जानकारी लिने नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रका प्रमुख विनोद अधिकारीले बताए ।

अनुगमनपछि मात्रै गाडिएको पोल र त्यसमा प्रयोग भएको तारको खर्चबारे वास्तविकता पत्ता लाग्ने उनले बताए ।

विद्युतीकरणका लागि विद्युत प्राधिकरणले १ सय ४० वटा पोल दिएको र बााकी पोल गाउँपालिकाको बजेटबाट खर्च भएको उनले बताए । विद्युतीकरणको क्रममा १ हजार १ सयदेखि एक हजार २ सयसम्म पोल गाडिएको दावी स्थानीयको छ ।

विद्युत प्राविधकरणले पनि गाडिएको पोलमा खर्च गरेकाले एक हजार ओटा विद्युत पोलमा मात्रै गाउापालिकाको खर्च भएको अनुमान स्थानीयको छ । तर, अध्यक्षले भने १ हजार ७ सय पोल खर्च भएको दावी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment