Comments Add Comment

वीचैमा पढाइ छाड्ने विद्यार्थीको समस्या विकराल

विद्यानाथ कोइराला भन्छन्- रेडियो, टेलिभिजनबाटै पढ्न मिल्ने पाठ्यक्रम बनाऔं

१० भदौ, काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरु नै लागेर सरकारले देशव्यापीरुपमा विद्यार्थी भर्ना अभियान चलाए पनि वीचैमा पढाइ छाड्ने विद्यार्थीहरुबारेे न सरकारले ध्यान दिएको छ, न त अन्य सरोकारवालाहरुले नै ।

सरकारी तथ्यांकअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीहरुले विभिन्न कारणले वीचैमा पढाइ छाड्ने गरेका छन् । विद्यालयको अवस्थामा सुधार हुँदै आएको र बीचैमा पढाइ छाड्नेहरुको संख्यामा कमी आएको भनिए पनि विद्यालय भर्ना भएका विद्यार्थीमध्ये ३० प्रतिशत पनि उच्च तहमा नपुग्ने गरेको तथ्यांकमा देखिएको छ ।

एक अध्ययन अनुसार सबैभन्दा बढी १ कक्षामा पढ्ने विद्यार्थीले बीचैमा पढाइ छाड्ने गरेको पाइएको छ । गत आर्थिक वर्ष ०७५/७६ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको अध्ययनलेे १ कक्षा देखि २ कक्षामा जाने विद्यार्थीको संख्यामा कमी देखिएको छ । तथापि, २ देखि ५ कक्षासम्म पढ्ने विद्यार्थीले पढाइ छाड्ने क्रम भने केही घटेको देखिएको छ ।

तर कक्षा ६, ७ र ८ मा पुगेपछि बीचैमा पढाइ छाड्ने विद्यार्थीको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ ।

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन अनुसार कक्षा १ देखि ५ सम्म पढ्ने उमेर समूहका ३.४ प्रतिशत वालवालिका विद्यालय बाहिर छन् । त्यस्तै कक्षा ८ सम्मको गणना गर्दा १० प्रतिशत वालवालिका विद्यालय बाहिर छन् ।

कक्षा १० उत्तीर्ण गर्नेहरुको समेत गणना गर्दा झण्डै एक तिहाइ वालवालिका पढाइ पूरा नगरी विद्यालयबाट बाहिरिएको देखिन्छ ।

तथ्यांकअनुसार बढीजसो निजी स्कुलका भन्दा सामुदायिक स्कुलका विद्यार्थीले बीचैमा पढाइ छाड्ने गरेका छन् ।

कक्षा १२ उत्तीर्ण गर्दा नगर्दै बाहिरिनेहरु झनै उल्लेख्य सङ्ख्यामा देखिएका छन् । अर्थात १२ कक्षा उत्तीर्ण गरेकाहरुमध्ये १५ .२४ प्रतिशत विद्यार्थीहरु उच्च शिक्षामा प्रवेश नगरी बाहिरिने गरेको प्रतिवेदनले देखाएको छ ।

स्कुल भर्ना भएका विद्यार्थीमध्ये ७१ प्रतिशत विद्यार्थीले भने प्राथमिक तहको पढाइ पूरा गरेका छन् ।

विद्यालय भर्ना भएर बीचैमा पढाइ छाड्ने सबैभन्दा बढी विद्यार्थी प्रदेश नं ५ मा पाइएका छन् । ७ वटा प्रदेशमध्ये प्रदेश ३ र गण्डकी प्रदेशमा बीचैमा पढाइ छाड्ने विद्यार्थीको संख्या तुलनात्मरुपमा न्यून रहेको छ ।

देशभर प्रारम्भिक बालविकास केन्द्रको संख्या ३६ हजार ५६८ छ । देशभरका विद्यालयहरुको संख्या ३५ हजार ६०१ छ भने उच्च शिक्षा प्रदान गर्ने विश्व विद्यालयसहितका क्याम्पसहरु १ हजार ४०७ वटा छन् ।

पछिल्लो वर्ष देशैभरबाट विद्यालय उमेरका ९६.६ प्रतिशत बालबालिका विद्यालयमा भर्ना भएका छन् । आर्थिक वर्ष ०७५/७६ मा भर्ना भएका विद्यार्थीमध्ये छात्रहरुले बढी पढाइ छाड्ने र नियमित विद्यालय नजाने गरेको पाइएको छ । यसअघि छात्रले भन्दा छात्राले बढी पढाइ छाड्ने गरेको पाइन्थ्यो ।

शिक्षा मन्त्रालयले भने पछिल्लो वर्षहरुमा विद्यालय भर्ना भएका विद्यार्थीले बीचैमा पढाइ छाड्ने क्रमशः घट्दै गएको दाबी गरेको छ । मन्त्रालयकी प्रवक्ता दिव्या दवाडीले अघिल्लो वर्षहरुको तथ्याङ हेर्दा बालबालिकाले पढाइ छाड्ने क्रममा विस्तारै सुधार हुँदै गएको बताइन् ।

उनले भनिन् ‘हामीले एकैचोटि पढाइ छाड्ने विद्यार्थीको सख्या घटाउन सक्छौं भन्दैनौं, यो एक जनाको मात्र समस्या नभएर देशैभरको समस्या हो । यो समस्या समाधानका लागि स्थानीय तहले पनि भूमिका खोल्नुपर्ने देखिएको छ ।’

किन छाड्छन् त विद्यार्थीले बीचमै पढाइ ?

विद्यालय भर्ना भएका बालबालिकाले बीचैमा पढाइ छाडनुको कारण विद्यालयको फर्निचर र साथीसगँको सम्बन्धले समेत प्रभाव पार्ने अध्यननले देखाएको छ ।
आर्थिक वर्ष ०७४/७५ को तथ्याङले के देखाउँछ भने प्राथमिक तहसम्म विद्यालय पढ्ने बालबालिका निम्न माध्यमिक तहसम्म पुग्दा झण्डै १० प्रतिशतले विद्यालय छाडिसकेका छन् ।

यसबाट पनि के पुष्टि हुन्छ भने प्राथमिक विद्यालयमा जति निम्म माध्यमिक तहको विद्यालयको पहुँच सहज छैन । साथै गुणस्तरीय शिक्षा पढाइको स्तर कमजोर भएकाले पनि काममा जाने तर विद्यालय नजाने समस्या बढ्दै गइरहेको छ ।

शिक्षाविद् विद्यानाथ कोइराला भन्छन् ‘विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये बीचैमा पढाइ छाड्नुको मुख्य कारण आर्थिक विपन्नता, शिक्षक-विद्यार्थीबीचको सम्बन्ध राम्रो नुहुनु र पाठयक्रमसँँग विद्यार्थीलाईर् नजोड्नु पनि हो ।’

शिक्षाविद् कोइरालाका अनुसार विद्यार्थीलाई निरन्तरता दिएर विश्वविद्यालयसम्म पुर्‍याउने हो भने स्कुललाई नै खुल्ला मोडल अर्थात स्कुल आउन नसक्ने बालबालिकालाई रेडियो टेलिभिजनबाटै पढ्न मिल्ने गरी पाठ्यक्रम बनाउनुपर्छ । साथै उनीहरुले घरमा गरेको काम पनि एक प्रकारको पढाइ भएकाले पाठ्यक्रमसँग त्यसलाई जोडेर पाठ्यसामग्री बनाउन जोड दिइनुपर्छ ।

काम गर्दै पढ्ने कुरा नौलो होइन, केहीलाई पढ्न मन नलाग्ने पनि हुन सक्छ । रहर नभएकालाई कामकै आधारमा छोटो अवधिको तालिम दिनुपर्छ,’ कोइराला भन्छन्, ‘कामबाट उत्पादन भएको वस्तुलाई स्थानीय तहले खरिद गरिदिनुपर्छ । विद्यार्थीहरुलाई विश्वविद्यालयसम्म पुर्‍याउने हो भने स्थानीय सरकार अघि बढ्नुपर्ने देखिन्छ । नत्र, संघीय सरकारले केही गर्ने पक्षमा देखिन्न ।’

बालबालिकाको विद्यालय छाडनुको अर्को कारणमध्ये बाल संवेदनशीलता पनि रहेको छ । राष्ट्रिय बालअधिकार परिषदका प्रवक्ता रामबहादुर चन्दका अनुसार अभिभावकले बालबालिकाको कुरामा विश्वास नगर्ने र उनीहरुको समस्या नसुन्ने जस्ता व्यवहारले पनि उनीहरु स्कुल छाडन बाध्य बनिरहेका छन् ।

यस्तो हुनुमा चन्द नेपालको शिक्षा प्रणालीलाई पनि दोष दिन्छन् । धेरै पुराना शिक्षकहरुले धेरै समय एउटै विद्यालयमा पढाइरहने, शिक्षकसँग आधुनिक प्रविधिको ज्ञान नहुनु आदि कारणले पनि यसमा असर गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment