+
+

स्वामी चिन्मयानन्दमाथिको यौन दुर्व्यवहारको आरोप के हो ?

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ११ गते १७:५९

११ भदौ, काठमाडौं । भारतका पूर्वगृह राज्यमन्त्री स्वामी चिन्मयानन्दलाई फेरि एक छात्रामाथि यौन शोषण गरेको आरोप लागेको छ ।

भाजपाबाट तीन पटकसम्म सांसद बनिसकेका चिन्मयानन्दलाई आफ्नै कलेजमा अध्ययन गर्ने एक छात्राले शारीरिक यौन शोषण गरेको आरोप लगाएकी छिन् ।

चिन्मयानन्दमाथि आरोप लगाएकी छात्रा अहिले बेपत्ता छिन् । प्रहरीले स्वामी चिन्मयानन्द र अन्य केहीलाई अपहरण र धम्कीको आरोपमा मुद्धा दायर गरेको छ ।

उनीमाथि लगाइएको आरोपको बारेमा बीबीसीले जानकारी लिन खोज्दा चिन्मयानन्दसँग सम्पर्क हुन नसकेको उल्लेख छ । उनका वकिल र प्रवक्ता ओम सिंहले स्वामी चिन्मयानन्द सहरबाहिर रहेकाले सम्पर्क हुन नसकेको बताए ।

उनीमाथि लगाइएको आरोपका बारेमा सिंह भन्छन्, ‘यो सबै स्वामीजी र संस्थालाई बदनाम गराउने षडयन्त्र मात्रै हो ।’

के थियो घटना ?

शाहजहाँपुरमा रहेको कानुन कलेजमा अध्ययन गर्ने उक्त छात्राले चार दिनअघि एउटा भिडियो पोष्टमार्फत उनलाई ‘सन्त समाजको एक ठूला नेता’ विरुद्ध धेरै युवतीहरूलाई शोषण र धम्की दिएको आरोप लगाएकी छिन् ।

आफू स्वयं र परिवारका सदस्यहरुको समेत ज्यान खतरामा रहेको धारणा उनीले भिडियोमा व्यक्त गरेकी छिन् । भिडियो भाइरल भएसँगै मिडियामा पनि घटना सार्वजनिक भएपछि प्रहरीले मंगलबार राति जाहेरी दर्ता गरेको छ ।

बेपत्ता छात्राको खोजीका लागि ठाउँ ठाउँमा प्रहरीको टोली परिचालन गरिएको शाहजहांपुरका प्रहरी प्रमुख एस चिनप्पाले बताए । साथै युवतीको बुबालाई पनि सुरक्षा प्रदान गरिएको उनले बताए ।

प्रहरी प्रमुख चिनप्पाले भने, ‘युवतीको बुबाले भने अनुसार नै स्वामी चिन्मयानन्द र अन्य विरुद्ध मुद्दा दर्ता गरेका छौं । कानुन अनुसार उनीहरुमाथि कारवाही हुन्छ । भिडियो भाइरल भएलगत्तै युवतीको खोजीमा प्रहरीको टोली परिचालित छ । प्रहरीले कुनै प्रकारको लापरवाही गरेको छैन ।’

छात्रा चिन्मयानन्दको कलेजमा पढ्थिन्

यौन शोषणको आरोप लगाउने युवती स्वामी चिन्मयानन्दकै कलेजमा अध्ययन गर्ने विद्यार्थी हुन् । स्वामी चिन्मयानन्द युवती अध्ययन गर्ने कलेजको व्यवस्थापक र मालिक हुन् ।

यो भिडियो भाइरल हुनु भन्दा दुई दिनअघि स्वामी चिन्मयानन्दले ‘चन्दा उठाउने र ब्ल्याकमेल गर्ने धम्की’ दिने गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो । यी दुवै घटना एक आपसमा सम्बन्धित भए नभएको बारेमा प्रहरी अधिकारीहरूले अहिलेसम्म कुनै स्पष्ट पारेका छैनन् ।

एसपी एस जिन्नाप्पाले भने, ‘अहिले घटनासम्बन्धी सबै विवरण लिइरहेका छौं, घटनालाई एक अर्कासँग जोडेर अध्ययन पनि गरिरहेका छौं । ठोस प्रमाण प्राप्त भएपछि मात्रै यथार्थ सार्वजनिक गर्छौं ।’

‘दबाव सिर्जना भएमा एफआईआर दर्ता हुन्छ’

स्वामी चिन्मयानन्दका वकील र प्रवक्ता ओम सिंहले बीबीसीलाई बताए अनुसार उनले नै प्रहरीमा जाहेरी (एफआईआर) दर्ता गर्न दवाव दिए । षड्यन्त्रकारी गिरोहको चंगुलमा परेर युवतीले स्वामी चिन्मयानन्दमाथि यस्तो आरोप लगाएको ओम सिंहले बताए । ओम सिंहका अनुसार २२ अगस्तमा धम्की पूर्ण मेसेजकाबारेमा प्रहरीमा उजुरी गर्न गएका थियौं । तर, प्रहरी अधिकारीले मुद्धा दर्ता गर्न र मिडियामा नजान आग्रह गरे । प्रहरी अधिकारीको भनाइ उधृत गर्दै सिँहले भनेका छन्, ‘मुद्धा दर्ता गर्दा र मिडियामा जाँदा अनुसन्धानलाई प्रभाव पर्न सक्छ । जसबाट षड्यन्त्रकारीले फाइदा उठाउन नसकोस् ।’

उनी भन्छन्, ‘प्रहरीले हामीलाई विश्वास दिलाएको थियो । मेसेज पठाउनेलाई प्रहरीले चाँडै नियन्त्रणमा लिन्छ । तर, दुई दिनपछि जब युवतीको भिडियो बाहिर आयो, हामीलाई लागिरहेको छ कतै यी दुबै घटनाहरू एक अर्कामा सम्बन्धित त छैन ?’ हामीले प्रहरीलाई २४ अगस्टमा मुद्धा दर्ता गर्न दबाब दियौं । त्यसपछि मुद्धा दर्ता भयो ।’

‘मोबाइल समस्या दुई दिन बन्द छ भने म समस्यामा छु’

यसभन्दा पहिले युवतीले आफूलाई दुव्र्यवहार भएको वा अन्य किसिमको समस्याका बारेमा कहिल्यै केही नभनेको उनकी बुबाले भनेका छन् । युवतीका बुबा भन्छन्, यो सबै अचानक भयो ।

उनले भने, ‘जब छोरी रक्षाबन्धनमा घर आइन्, उनले केही चिन्ता व्यक्त गरेकी थिइन्, उनी दुःखी देखिन्थिन् ।’ धेरै पटक सोध्दा उनले भनेकी थिइन्, ‘यदि मेरो मोबाइल लगातार दुई दिनसम्म बन्द भयो भने बुझ्नु म समस्यामा छु ।’

उसको मोबाइल २३ अगस्टदेखि बन्द थियो । २४ अगस्टमा उसको भिडियो सार्वजनिक भयो । सोही दिनदेखि प्रहरीलाई दबाव दिइरहेका छौं, तर कुनै सुनवाई भएको छैन ।
कलेज परिसरमा रहेको होस्टलमा छोरी बस्दै आएको उनको बुबाले बताए । अध्ययनका साथै छोरीले पार्टटाइम जागिर पनि गर्ने गरेको उनले बताए । छोरीलाई केही हुने हो कि भन्ने चिन्तामा अहिले परिवारका सदस्य छन् ।

तर, चाखलाग्दो कुरा के छ भने अहिलेसम्म यस घट्नाको बारेमा युवतीको परिवार, कलेज व्यवस्थापन र स्वामी चिन्मयानन्दले एक आपसमा कुराकानी गर्ने प्रयास समेत भएको छैन ।

को हुन् चिन्मयानन्द ?

पूर्वभाजपा सांसद स्वामी चिन्मयानन्द अटल बिहारी वाजपेयीको नेतृत्वमा एनडीए सरकारमा गृह राज्यमन्त्री थिए । उनी राममन्दिर आन्दोलनका एक ठूला नेता पनि हुन् । शाहजहाँपुरमा उनको आश्रम छ । उनी धेरै शैक्षिक संस्थाको व्यवस्थापनसँग सम्बन्धित व्यक्ति पनि हुन् ।

आठ वर्षअघि शाहजहाँपुरकी अर्की महिलाले पनि स्वामी चिन्मयानन्दविरुद्ध यौन दुव्र्यवहार र उत्पीडनको मुद्दा दर्ता गरेकी थिइन् । उनी स्वामी चिन्मयानन्दको आश्रममै बस्थिन् । राज्यमा भाजपा सरकार गठन भएपछि सरकारले उनीविरुद्ध लागेको मुद्धा फिर्ता लिएको थियो । तर, पीडित पक्षले सरकारको यो निर्णयलाई चुनौती दिँदै उच्च अदालतमा मुद्धा दर्ता गर्‍यो । अहिले यो मुद्धा उच्च अदालतले मुल्तवीमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?