Comments Add Comment

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा किन बढ्यो लाइन ?

१२ भदौ, काठमाडौं । केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट यात्रा गर्नुभएको छ भने तपाईंले पहिलेको तुलनामा लामो लाइनमा बस्नुपर्‍यो होला ।

साविकमा बोर्डिङ पास लिइसकेपछि प्रहरीले सामान्य चेकजाँच गरेर उडानका लागि अनुमति दिइन्थ्यो । त्यसैले प्रतिक्षा हलमा छिर्न धेरै लामो लाइन बस्नु पर्दैनथ्यो । अहिले विमानस्थल व्यवस्थापनले आन्तरिक टर्मिनलमा पनि सुरक्षा प्रवन्ध कडा बनाएको छ ।

विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार आन्तरिक टर्मिनलमा समेत अब मेसिनबाटै सुरक्षा जाँच हुने प्रवन्ध मिलाइएको छ । अन्तर्राष्ट्रिय उडानमा जानु अगाडि जसरी यात्रुको शरीर ‘मेटल फ्रि’ बनाइन्छ । आन्तरिकमा पनि सोही प्रकारले मेटल डिटेक्टरमार्फत सुरक्षा जाँच प्रारम्भ गरिएको क्षेत्रीले जानकारी दिए ।

विमानस्थलमा नयाँ सुरक्षा प्रवन्ध प्रारम्भ भएपछि उडानपूर्व लाग्ने समय लम्बिएको छ । बाहिर लाइन बस्नुपर्ने भन्दै निर्धारित समयभन्दा १ घण्टा अगाडि नै विमानस्थल आइपुग्न वायुसेवा कम्पनीहरुले यात्रुलाई सूचित गराइरहेका छन् ।

बुद्ध एयर, यति एयर, समिट एयरलगायत कम्पनीले सूचना नै जारी गरी छिटो विमानस्थल आइपुग्न यात्रुलाई सूचित गरेका हुन् । साविकमा झै ढिला आउँदा जहाज छुट्न सक्ने भन्दै कम्पनीहरुले छिटो आइपुग्न आग्रह गरेका छन् ।

कन्भेयर बेल्ट पनि छिट्टै

अब आन्तरिकतर्फ पनि यात्रुले आफ्नो ब्याग कन्भेयर बेल्टमार्फत नै प्राप्त गर्ने सक्ने भएका छन् । बेल्ट जडानको काम अन्तिम चरणमा पुगेको क्षेत्रीले जानकारी दिए । अहिले ट्र्याक्टरमा ल्याएर कर्मचारीले टेवलमा ब्याग राख्दै यात्रुलाई दिने गरिन्छ । यसबाट ‘ब्यागेज रिसिभ’ गर्ने बेला अधिक भीड हुने गरेको छ । कन्भेयर बेल्ट सञ्चालनमा आएपछि भने त्यसरी छिनाझप्टि गर्नु पर्ने छैन । कुन वायुसेवा कम्पनीको ब्यागेज आयो भन्ने स्क्रिनमै हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment