Comments Add Comment

कांग्रेसमा राजनीतिक प्रस्ताव : तीनै तहको सरकारमा भ्रष्टाचार मौलायो

१२ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले केन्द्रसँगै प्रदेश र स्थानीय तहको सरकारमा भ्रष्टाचार मौलाएको बताएको छ । साथै वाइडबडी, सुन, चिनी, बालुवाटार र मेलम्ची काण्डबारे छानविन गर्न माग गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सहमहामन्त्री प्रकाशशरण महतले राजनीतिक प्रस्ताव पेश गरेका थिए, जसमा सातौं नम्बर बुँदामा भ्रष्टाचारको विषय उल्लेख छ ।

‘वर्तमान नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको केन्द्रीय सरकार, प्रदेश सरकार स्थानीय सरकारहरुमा मौलाउँदै गएको संस्थागत भ्रष्टाचार, सार्वजनिक सम्पत्तिको दुरुपयोग, जनतालाई दिनपर्ने सेवा, सुविधा र विकास निर्माणमा देखिएको भेदभाव र ढिलासुस्ती तत्काल बन्द गर्न यो बैठक माग गर्छ,’ प्रस्तावमा भनिएको छ ।

सरकारमा बस्नेहरुमा संवैधानिक व्यवस्था, लोकतान्त्रिक मूल्यमान्यतालाई अवमूल्यन गर्ने प्रवृत्ति बढेको कांग्रेसको ठहर छ । उसले सरकारका असफलतालाई लोकतान्त्रिक व्यवस्थाको कमजोरीको रुपमा चित्रित नगर्न पनि सचेत गराएको छ ।

कांग्रेसले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गरेकोमा विरोध गरेको छ, मन्त्रिपरिषद् बैठकसम्बन्धी कार्याविधिको संशोधनलाई तत्काल सच्याउन माग गरेको छ । ‘यो देशको लोकतान्त्रिक पद्धति, राष्ट्रिय सुरक्षा र गोपनीयतासँग जोडिएको विषय भएकाले सरकारको निर्णयप्रति हाम्रो गम्भीर आपत्ति छ’ केन्द्रीय समितिमा पेश भएको राजनीतिक प्रस्तावमा भनिएको छ ।

कांग्रेसले संविधान संशोधनको माग गरेको छ । उसले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अघि सारेको प्रस्तावलाई अघि बढाउन माग गरेको हो । मधेस केन्द्रित दलहरुले पनि चुनावका बेला उठाउने र निर्वाचित भएपछि विर्सिएर द्वेध चरित्र देखाएको कांग्रेसको आरोप छ ।

संसद अवरुद्ध गरौं : पौडेल

प्रस्तावमाथि भएको छलफलमा नेता अर्जुननरसिंह केसीले जनतालाई सबैभन्दा आजित बनाएको विषय भ्रष्टाचार भएको बताए । तर सरकारको आलोचना गरेर मात्र नहुने भन्दै उनले कांग्रेसले के गर्छ भन्ने भन्न सक्नुपर्ने बताएका छन् ।

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले भ्रष्टाचारबारे सरकारको ध्यानाकर्षण गराएर मात्र नहुने बताए ।

बाइडबडी, सुनकाण्ड, बालुवाटार जग्गा प्रकरण लगायतका विषयमा संवैधानिक प्रक्रियाबाट छानविन गर्न माग गर्नुपर्ने र नभए संसद अवरुद्ध गरेर सडकमा आउन सक्नुपर्ने उनको धारणा थियो ।

तर सत्ताले विपक्षी पनि भ्रष्टाचारमा मुछिएको छ भन्दा पार्टी नेतृत्व हो कि भने झै गरी रक्षात्मक बनेको उनको आरोप छ । यसरी कांग्रेस बैकल्पिक शक्ति बस्न नसक्ने भन्दै उनले भ्रष्टाचारको मुद्दामा आक्रामक बन्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment