Comments Add Comment

वडाध्यक्षलाई भाटे कारवाहीको धम्की दिने डीएसपीले माफी मागे

१३ भदौ, दोलखा । दोलखाका प्रहरी प्रमुख मानबहादुर राईले एकजना जनप्रतिनिधिलाई गद्धार भन्दै भाटे कारवाही गर्ने धम्की दिएपछि चर्किएको विवाद प्रमुख जिल्ला अधिकारी र नेकपाका नेताहरुको रोहबरमा समाधान भएको छ ।

बिहीबार साँझ एकजना यातायात मजदूरको हत्या भएको घटनाबारे जानकारी लिन पीडित परिवार र अन्य स्थानीयसहित जिल्ला प्रहरी कार्यालय पुगेका भीमेश्वर नगरपालिका ४ का वडाध्यक्ष हरिवंश चौलागाईमाथि डिएसपी राईले दुव्र्यवहार गरेका थिए ।

सामान्य घटनामा मुद्दा चलाउने प्रहरीले हत्याको घटनामा कुनै कारवाही अघि नबढाएपछि आफू जानकारी लिन जाँदा डीएसपीले भाटे कारवाही गर्छु भन्दै मुख छाडेको चौलागाईले बताए । डीएसपीले तेरो सरकारले मलाई के दिएको छ ? भन्दै मुख छाडेको चौलागाईको आरोप छ ।

वडाध्यक्ष चौलागाईले घटनाको बारेमा पत्रकार सम्मेलन गरी डीएसपीमाथि कारवाहीको माग गरेका छन् । उनले आफूमाथि हातपातसमेत भएको भन्दै घटनाको स्वतन्त्र छानविन गर्न प्रमुख जिल्ला अधिकारीको समेत ध्यानाकर्षण गराएका थिए ।

चौलागाईको विज्ञप्तिमा भनिएको छ ‘अनुसन्धान प्रक्रियामा ढिला किन भयो भनेर प्रश्न गर्दा एक्कासी म माथि अपशब्द प्रयोग गर्दै तँ गद्दारलाई भाटा हान्छु, तेरो सरकारले मलाई राज्यको पुनर्संरचना अनुसार प्रविधि के दियो ? तँ गद्दारले चुनाव कसरी जितेको छस् ? मलाई राम्रोसँग थाहा छ भन्दै हातपात प्रयास गरे ।

नेकपाका जिल्लास्तरीय नेतासमेत रहेका चौलागाई गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए । आफ्नो वडाका बासिन्दा यातायात मजदूर पवन बस्नेतको हत्याको घटना ढाकाछोप गर्न खोजिएको भन्दै उनी जिल्ला प्रहरी कार्यालय गएका थिए ।

डीएसपीले माफी मागे

यसैबीच दोलखाका डिएसपी राईले भने वडाध्यक्ष चौलागाईसँग विवाद भए पनि अब आफूहरु मिलिसकेको बताए । ‘हिजो विवाद भएको हो, केही कमजोरी भएकै हो तर आज फेरि यो विषयमा हामीबीच छलफल भएर कुरा मिलिसकेको छ’ राईले अनलाइनखबरसँग भने ।

शुक्रबार विहान चरिकोटस्थित जिल्ला प्रशासन कार्यालयमा डीएसपी राईले विहिवारको घटनाप्रति माफी मागेका हुन् । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको कार्यकक्षमा डीएसपी राई र वडाध्यक्ष चौलागाईलाई राखेर विवाद समाधान गरिएको थियो ।

सो अवसरमा नेकपा नेताहरु प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ, प्रदेशसभा सदस्य पशुपति चौलागाई, नेकपा जिल्ला इन्चार्ज देवी खड्का, जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल, भीमेश्वरका मेयर भरत केसीलगायतको उपस्थितिमा डीएसपी राईले आवेशमा आएर आफूले गल्ती गरेको भन्दै आइन्दा जनप्रतिनिधिसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment