Comments Add Comment

तीजका गीत : बीचबीचमा नाच्नेदेखि ‘पिसाब लाग्यो’ सम्म !

१३ भदौ, काठमाडौं । महिलाको विशेष चाड तीजले झपक्कै छोपिसक्यो । तीजलाई लक्षित गरेर विगतका वर्षहरुमा जस्तै धेरैखाले गीतहरु सार्वजनिक भएका छन् । यस वर्ष रिलिज भएका तीजका गीतमा पिसाबदेखि निसाफसम्म विषयवस्तुहरु समेटिएका छन् ।

यस वर्ष भाइरल भएको तीज गीत हो, ‘हामी पनि नाच्नुपर्छ बीच-बीचमा’ ।

गायक दुर्गेश थापाले यस गीतमा महिलाले मात्र तीजमा रमाइलो गर्नुपर्ने कुरालाई खण्डन गरेका छन् । तीजमा पुरुषले पनि नाच्न पाउनुपर्ने कुरालाई उनले गीतमा समावेश गरेका छन् ।

उनको यस गीतको एक अंश ‘दिदी बहिनीमात्र नाच्छन् जहिले पनि तीजमा, हामी पनि नाच्नु पर्छ बीचबीचमा’ टिकटकमा समेत हिट भएको छ ।

यस वर्ष धेरैले रूचाएको अर्को तीज गीत हो, ‘बुहारी-२’ । टीका सानु र मानसिंह खड्काको यो गीत युट्युवको ट्रेण्डिङ नम्बर १ मा परेको थियो । गीतमा बुहारीको बेदना प्रस्तुत गरिएको छ ।

पशुपति शर्माले यस वर्ष पनि तीज गीत तयार गरेका छन् । पशुपतिको लय शब्दमा तयार भएको पहिलो गीत ‘अष्ट्रेलिया काण्ड (बिर्सी जाने मायालाई के भनौँ)’ छ । यसमा सम्झना भण्डारी र पशुपतिको स्वर छ । यो गीतमा अष्ट्रेलिया पुगेपछि केटाले धोका दिएको कुरालाई प्रस्तुत गरिएको छ ।

पशुपतिकै लय शब्दमा तयार भएको अर्को गीत छ ‘सुहायो चौपट्टै’ । युट्युबमा रुचाइएको यस गीतमा देवी घर्ती मगरले शर्मालाई सघाएकी छिन् । यस गीतमा आˆनो श्रीमान-श्रीमतीको प्रशंसा गरिएको छ । श्रीमानले कपाल काट्दा र श्रीमतीले कपाल बाट्दा चौपट्टै सुहाएको गीतमा समावेश गरिएको छ ।

पशुपति शर्माले नै ‘बैमानीले ढाँट्यो’ बोलको अर्को गीत तयार गरेका छन् । सीता श्रेष्ठले स्वर दिएको यस गीतमा प्रेमिकाले सम्पत्ति खोजेको र प्रेमी आश देखाएर पूरा नगरेको देखाइएको छ । गीतमा एक-अर्काले दुबैलाई ढाँटेका छन् ।

‘बोल माया’ र ‘गलबन्दी’ गीतबाट चर्चामा आएकी शान्ती श्री परियारले पनि तीज गीत ल्याएकी छिन् । ‘फूलमती र चनमती’ बोलको गीतमा ज्ञानु परियारले स्वर थपेकी छिन् । यस गीतमा देशमा भएको नराम्रो कुरालाई चित्रण गरिएको छ । नेपालमा चेलीहरु सुरक्षित नभएकाले मनमा पीर परेको र तीजमा नाच्न मन नभएको गीतको भाव छ । गीतमा जातीयता, दाइजो र बलात्कारको पनि चर्चा छ ।

त्यसैगरी सिन्धु मल्लको ‘चिटिक्कै भा’छु रे’ बोलको तीज गीत पनि चर्चामा छ । त्यस्तै गोमा कार्कीले तीन वटा गीत सार्वजनिक गरेकी छिन् । त्यस्तै जानकी तारमी मगरले ‘छप्पै मायालाई’ बोलको तीज गीत बजारमा ल्याएकी छिन् ।

सन्तोष केसीले तीजलाई लक्षित गरेर ठट्यौली तीज गीत ‘सौता’ सार्वजनिक गरेका छन् । राधिका हमाल र रीता केसीले पनि स्वर दिएको यस गीतमा दुई श्रीमती बिबाह गर्दा एक श्रीमानले भोग्नुपरेको सकस समेटिएको छ ।

यस वर्ष चर्चामा रहेको अर्को तीज गीत हो, ‘पिसाब लाग्यो ।’ ज्योती मगरले गाएको यस गीतलाई जनचेतनामूलक तीज गीत भनिएको छ । यो गीतमा गाडी चढेपछि पिसाब लाग्दाको क्षणलाई प्रस्तुत गरिएको छ । तिलक वलीको शब्द, संगीत तथा स्वर रहेको गीतमा खुल्ला ठाँउमा पिसाब गर्न नहुने सन्देश दिन खोजिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment