Comments Add Comment

नेपालको प्रस्तावमा भारत र पाकिस्तान सहमत, सार्क विदेशमन्त्रीस्तरीय बैठक न्युयोर्कमा बस्ने

१३ भदौ,काठमाडौं । जम्मू कश्मीर प्रकरणले भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का बैठक बस्ने भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाकै बेला न्युयोर्कमा सार्क विदेशमन्त्रीस्तरीय बैठक बस्ने नेपालको प्रस्ताव दुवै देशले स्वीकार गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्क विदेशमन्त्रीस्तरीय बैठक बस्नका लागि कूटनीतिक पहल गरेका थिए ।

उनले भारतका विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैसीसँग अलगअलग छलफल गरेका थिए । दुवै देशले कश्मीर मामिलामा नेपालको साथ खोजेका छन् । सार्र्क अध्यक्ष राष्ट्र समेत रहेको नेपालले भने दुवै देशलाई क्षेत्रीय शान्तिको अपिल गरेको तर कश्मिर प्रकरणमा कसैको पक्ष लिएको छैन ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल आफ्नो नीति अनुरुप नै कश्मीर प्रकरणलाई भारत र पाकिस्तानले सम्वादको माध्यमबाट शान्ति कायम गर्न पहल थाल्नुपर्ने पक्षमा रहेको बताए ।
परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार असोज ९ गते सार्क मुलुका विदेशमन्त्रीहरुको बैठक हुने निश्चित भएको छ ।

भारत पाकिस्तान तनावका कारण अवरुद्ध रहेको सार्कलाई पुनः सक्रिय बनाउन यो बैठक महत्वपूर्ण हुने मानिएको छ । सार्क विदेश मन्त्रीस्तरीय बैठकमा कश्मीर प्रकरणबारे औपचारिक छलफल हुने छैन । किनकी सार्कमा द्धिपक्षीय सम्बन्धमा विषयमा छलफल हुँदैन । यद्यपि पाकिस्तानले कश्मीर प्रकरणमा अन्तर्राष्ट्रिय समुदाय गुहारिरहेको छ ।

यसपटक संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने भएका छन् । निर्वाचनबाट बहुमतको सरकार बनेपछि शान्ति र सम्बृद्धिको सन्देश दिन अघिल्लो वर्ष महासभालाई सम्बोधन गरिसकेकाले यसपटक नजाने निर्णय भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले बताए ।

महासभामा नेपालको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवालीले गर्नेछन् । ७४ औं महासभामा भदौ ३१ बाट शुरु भएपनि उच्चस्तरीय बैठकहरु असोज ७ पछि हुनेछन् । महासभाको विषयगत बैठकमा भाग लिन उपप्रधानमन्त्री तथा स्वास्थयमन्त्री उपेन्द्र यादव, वनमन्त्री शक्ति बस्नेत सम्मिलित १२ सदस्यीय टोली न्युयोर्क जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment