Comments Add Comment

पुनर्निर्माणको काम हेर्न भारतीय राजदूत गोरखामा

प्रधानमन्त्रीबीचको भिडियो कुराकानीमा देखाइने

१५ भदौ, गोरखा । भारतीय राजदूत मञ्जिवसिंह पुरीले गोरखामा भारत सरकारको सहयोगमा भएको भूकम्पपछिको पुनर्निर्माणको निरीक्षण गरेका छन् । दुई देशका प्रधानमन्त्रीबीच हुने प्रत्यक्ष भिडियो कुराकानीका क्रममा देखाइने पुनर्निर्माणको दृश्यबारे छिनोफानो गर्न उनी गोरखा आएका हुन् ।

भदौ २४ गते दुई देशका प्रधानमन्त्रीबीच प्रत्यक्ष भिडियो कुराकानी हुदैछ । ‘त्यो दिन मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दुवै देशका प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत संयुक्त रुपमा उद्घाटन गर्ने मुख्य कार्यक्रम छ,’ भारतीय राजदूतका प्रेस संयोजक अभिषेक दुवेले भने, ‘त्यही मौकामा भारत सरकारको सहयोगमा गोरखा र नुवाकोटमा भएको पुनर्निर्माणका कामको पनि निरीक्षण हुन्छ ।’

पुनर्निर्माण सम्बन्धी कामका केही झलकहरु भिडियोमार्फत प्रत्यक्ष देखाइने उनले बताए । ‘नेपालका प्रधानमन्त्रीले काठमाडौ र भारतका प्रधानमन्त्रीले नयाँ दिल्लीमा बसेर भिडियोमार्फत बिभिन्न साइटहरुमा जोडिनुहुन्छ, त्यही बेला पाइपलाइनको उद्घाटन गर्ने र पुनर्निर्माणको अवस्थाबारे निरीक्षण गर्ने कार्यक्रम छ,’ उनले  भने ।

उक्त भिडियो कन्फेरेन्सको भारतको दुरदर्शन र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने उनले बताए ।

‘भिडियो कन्फरेन्स’ मा गोरखाको दुई मिनेटको लाइभ भिडियो समेटिने छ । भारत सरकारको सहयोगमा घर पुनर्निर्माण भएको गोरखा नगरपालिका–९ लक्ष्मीबजार पदेलडाँडाकी रेनुका खड्का कुँवरको गृह प्रवेशको लाइभ दृश्य समेटिने दुवेले बताए । उक्त घरको आइतबार राजदुत पुरीले निरीक्षण गरेका छन् । घर निरीक्षण गर्दै उनले भने, ‘भारत र नेपाल सरकारको समन्वय र सहकार्यले गर्दा पुननिर्माणको काम सक्रिय रुपमा अगाडि बढेको छ, म खुशी छु ।’

भारत र नेपालबीचको सम्बन्धलाई थप सुदृढ बनाउदै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिने उनले बताए । कुँवरको घरमा निर्मित तुलसी मोठमा राजदुत पुरीले तुलसी समेत रोपे । कुँवर परिवारसँग उनले केहीवेर कुराकानीसमेत गरे । राजदूत पुरीसँगै जिल्ला आएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका धु्रव शर्माले भूकम्प पछिको पुनर्निर्माणमा भारत सरकारले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।

भारत सरकारद्वारा गोरखा र नुवाकोटमा भूकम्पले क्षति पुगेका ५० हजार घरधुरी पुनर्निर्माणका लागि ६ अर्ब ९५ करोड रुपैयाँ सहयोग भएको छ । हालसम्म ४० हजार घर पुनर्निर्माण भइसकेको दुतावासले जनाएको छ ।

गोरखामा मात्रै २६ हजार ९ सय १२ भूकम्पपीडित घरधुरीलाई सहयोग गरिएको यूएनडीपीका जिल्ला संयोजक राम सापकोटाले बताए । जसमध्ये २३ हजार आठ सय घर बनिसकेका छन् । त्यस्तै दश विद्यालय र ३२ वटा स्वास्थ्यचौकी पुनर्निर्माणका लागि पनि भारत सरकारले सहयोग गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment