Comments Add Comment

तीजमा पनि बिकेन सुन, व्यवसायी आत्तिए

१५ भदौ, काठमाडौं । अघिल्ला वर्षहरुमा तीज लाग्नुभन्दा महिनौं दिन अगाडिदेखि सुन पसलहरुमा ग्राहकको भीड लाग्न थाल्थ्यो । पुराना गहनालाई सुन थपेर नयाँ डिजाइनमा ढाल्ने वा नयाँ गहना किन्न महिलाहरु पुग्ने गर्थे । तर, यसपालीको तिजमा काठमाडौंका अधिकांश सुन पसल सुनसान देखिए ।

तीजको अघिल्लो दिनसम्म पनि पसलमा ग्राहक शून्यजस्तै भएको व्यवसायीहरु बताउँछन् । पछिल्ला दिनमा सूनको मूल्यमा लगातार वृद्धिले यो अवस्था आएको बुझ्न कठिन छैन । महिलाहरु मूल्य घट्ने प्रतिक्षामा छन् ।

काठमाडौंको ओटुमा रहेको गहना निकुन्ज सुनचाँदी पसलमा अघिल्लो वर्षको तीज ताका दैनिक १५ देखि २० तोलासम्म सुन बिक्री हुन्थ्यो । तर, यो वर्ष खासै व्यापार नभएको सञ्चालक मणिकरत्न शाक्यले बताए ।

‘पसलमा दिनभरी रुँघेर बस्दा पनि नयाँ गहना बेच्न मुश्किल छ, बरु दैनिक ८ देखि १० तोलासम्म पुराना गाहकबाट किन्नु परेको छ,’ शाक्यले भने ।

सुन चाँदी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष समेत रहेका शाक्यको बुझाइमा सुनको मुल्य नेपालीको पहुँच बाहिर पुगेको छ । अब चाडपर्वमा पनि मानिसले गहना नकिन्ने र नलाउने अवस्था सृजना भएको छ ।

भक्तपुरमा सानाठुला गरेर करिब ११० हाराहारीमा सुन पसल रहेका छन् । पछिल्लो दुई महिनादेखि सुनको मूल्यमा बढोत्तरीका कारण मुख्य चाडपर्वको समयमा पनि सुनको व्यापार नभएको भक्तपुर सुन–चाँँदी डिलर एशोसिएसनका अध्यक्ष पदमबहादुर शाक्य बताउँछन् ।

उनको भनाइमा गत वर्षको तीजको तुलनामा यस वर्ष सुनको व्यापार ९० प्रतिशत न्यून छ । ग्राहकहरु पुराना गहना बेच्नका लागि विभिन्न बहाना बनाएर आउने गरेको भन्दै अध्यक्ष शाक्यले व्यापार ठप्प भएपछि बैंकबाट सुन उठाउनै छोडेको बताए ।

‘वाध्यताले सुन किन्ने मान्छे एकदमै कम छन, व्यापार ठप्प छ, तीज आएजस्तै नै लागेको छैन,’ अध्यक्ष शाक्यले भने ।

काठमाडौंको इन्द्रचोकमा रहेको क्वीन्स कलेक्सनकी सञ्चालिका कविता स्थापित आफ्नो सुन व्यवसायको २५ वर्षे ईतिहासमा यस्तो अवस्था पहिलोपटक भोगेको बताउँछिन । दिनमा एक तोला सुन पनि बिक्रि नहुने अवस्था सुन बजारमा आईलागेको उनको भनाई छ ।

‘सक्कली सुन किन्न छोडेर मानिसहरु नक्कलीतर्फ लागे, व्यापार चौपट भएको छ,’ कविताले भनिन् ।

इन्द्रचोककै शाक्य सुनचाँँदी ज्वेलर्सका संचालक किरण शाक्य व्यापार ठप्प भएर फुर्सदिलो बनेको बताउँछन ।

‘तीज सुरु हुनुभन्दा १५ दिन अघिदेखि सुन बजारमा चहलपहल हुन्थ्यो, तर तर यस वर्ष छैन,’ शाक्यले भने । गत वर्ष तीजको समयमा दैनिक ५ देखि १० तोलासम्म सुन बिक्रि हुने उनको पसलमा यो वर्ष सिजनमा सुख्खा लागेको छ । ३५ वर्ष लामो सुन व्यवसायमा अहिलेको जस्तो अवस्था कहिल्यै नभोगेको शाक्यले बताए ।

सुनसान सुन पसल

भक्तपुर, नयाँ बानेश्वर, न्यूरोड, इन्द्रचोक जस्ता मुख्य ठाउँका सुन पसलमा सुन किन्ने ग्राहक नै भेटिन्नन् । सुन पसलका कर्मचारीहरु टोलाएर बसेका देखिन्छन् ।

इन्द्रचोकको एक पसलमा भेटिएकी किर्तिपुरकी मेधा पोखरेलले पुरानो गहनामा अलिकति थपेर नयाँ गहना बनाउन सकिन्छ कि भनेर आफू सुन पसल छिरेको बताईन् । आफूसित भएको पैसाले नयाँ किन्न नसक्ने भएपछि पुरानैलाई थपथाप गर्न लागेको उनको भनाइ छ ।

सुनसपलमा भेटिएका स्थायी ठेगाना प्युठान बताउने जीवन बेल्बासे दिदीका लागि सुन साटफेर गर्न आएको बताए । सुनको मूल्य आकाशिएको कुरा आफूलाई जानकारी भएको भन्दै उनले यसलाई व्यवस्थापन गर्न सरकारले ढिलाई गर्न नहुने धारणा राखे ।

बिक्री ९० प्रतिशतले घट्यो

मणिकरत्न शाक्य

सुनचाँदी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्य यस्तै अवस्था थप केही समय रह्यो भने यस व्यवसायमा रहेको रोजगारी गुम्ने अवस्था रहेको बताउँछन् । सरकारले सुनको मूल्यमा केही गर्न नसके पनि कालिगढ र कर्मचारीलाई पाल्नै कठिन हुने अवस्था आउन सक्ने उनको भनाइ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य गत वर्षको तीजको तुलनामा यस वर्ष तीजमा सुनको व्यापार ९५ प्रतिशतले घटेको छ । सुन ब्यापारको अहिलेको मुख्य सिजनमा बैंकबाट व्यवसायीले २५ किलो बैंकबाट लिने गरेको र फिर्ता आएको सुनसमेत गरेर दैनिक ४० किलो हाराहारीको व्यापार हुने गरेको उनी बताउँछन् ।

महासचिव बज्राचार्यलाई देशभरबाट प्राप्त रिपोर्ट अनुसार अहिले बजारमा मुश्किलले ५ प्रतिशत सुन बिक्रि भएका छन् । सुनको मूल्य कति पुग्छ भन्ने अन्यौल अझै रहेकाले गारहक हच्किएको उनले बताए । पछिल्लो परिस्थितीबारे छलफल गरेर अगाडि बढन महासघंले आन्तरिक छलफल तिब्र बनाएको पनि महासचिव बज्राचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment