Comments Add Comment

प्रचण्डको विश्लेषण- हामी ‘एक्सन’मा नगए परिवर्तन विरोधीले ‘रियाक्सन’ गर्छन्

१९ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिभिन्न तहका सत्ता सन्चालन गरिरहेका जनप्रतिनिधिहरुले ‘एक्सन’मा नजाने हो भने प्रतिगमनकारीले ‘रियाक्सन’ गर्ने खतरा देखिन थालेको विश्लेषण सुनाएका छन् ।

समता फाउण्डेशनले बिहीबार काठमाडौंमा आयोजना गरेको तीनै तहका सरकार र संसदका जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले धर्म र अन्य असन्तुष्टिका नाममा संघीय गणतन्त्र र धर्म निरपेक्षतामाथि आक्रमण बढिरहेको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसमेत सहभागी कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले केही समयदेखि प्रतिगमनकारीले टाउको उठाउन थालेको बताए । उनले हालै प्रधानमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकबाट सबै पार्टी प्रगितमनकारीविरुद्ध एकजुट रहेको सन्देश दिइएको समेत दावी गरे ।

प्रचण्डले भने- हिजो जनआन्दोलन र जनयुद्धबाट सत्ताच्युत गरिएका मान्छे चलमलाउन थालेका छन् । तर त्यस्ता प्रवृतिविरुद्ध हामी सबै राजनीतिक पार्टी एक ठाउँमा छौं भन्ने सन्देश त दिएका छौं । तर हामी जनप्रतिनिधिहरुले एक्सनमा गएर जनताको आकांक्षा पूरा गर्न थालेनौं भने अर्कोले रियाक्सन गर्छ र त्यो धेरै महँगो पर्छ ।

जनयुद्धमा दलित र सिमान्तकृत समुदायलाई नेतृत्वमा ल्याउन आफूले भूमिका खेले पनि परिवर्तनपछि उत्पीडित समुदायलाई अधिकारसम्पन्न बनाउन नसकेको पूर्वप्रधानमन्त्री प्रचण्डले स्वीकार गरे । उनले संविधानमै संशोधन गरेर दलित समुदायका अधिकार स्थापित गर्न सकिने बताए ।

कार्यक्रममा कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले दलितलाई अधिकार दिलाउने सवालमा आफूले बिगतमा राजनीतिक पार्टीभित्रै पहिलोपटक समावेशिता लागु गरेको बताए । उनले लोकसेवा आयोगको आरक्षणसमेत खोजेको भन्दै आपत्ति जनाए ।

सरकारले दलित अधिकार स्थापित गर्ने सन्दर्भमा कुनै कानुन बनाउन चाहेमा कांग्रेसको साथ समर्थन रहने उनले प्रष्ट पारे ।

अर्का पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेको संविधानबाट दलितलाई अधिकार दिलाउन गाह्रो रहेको भन्दै निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताए ।

दुई दिनसम्म चल्ने भेलामा संघीय संसदका दुवै सदन, प्रदेशसभा, जिल्ला समन्वय समिति र स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरुको सहभागिता छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment