Comments Add Comment

पूर्वमाओवादी कार्यकर्ताको अनुभव : दोस्रो पटक बगें, तर किनारा भेटेको छैन

देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना भएको एक दशक पूरा भइसकेको छ । दश वर्ष लामो जनयुद्ध र १९ दिने जनआन्दोलनको जगमा स्थापित यस व्यवस्थालाई नयाँ संविधानमार्फत् संस्थागत गर्ने सम्बन्धमा नै करिव एक दशक लामो यात्रा तय गर्नु परेको पृष्ठभूमिमा फेरि एकपटक यो व्यवस्थाले एउटा अफ्ठेरो बाटोबाट आफ्नो यात्रा तय गर्नु परिरहेको सबैतर्फ चर्चा हुन थालेको छ ।

लोकतान्त्रिक मान्यतासहितको नयाँ संविधान, राज्यको पुनःसंरचना, स्थानीय, प्रदेश र संघीय तहहरुमा आम जनताको उत्साहपूर्ण सहभागितामा भएको निर्वाचन र तत्–तत् तहहरुमा नयाँ–नयाँ सरकारहरुको गठन पश्चात कमसेकम देशको राजनीतिक परिवर्तनको कोर्स पूरा भयो र अब सबै जनताका साझेदारहरु देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन पूर्णतः तयार र सक्षम छन् भन्ने जनअपेक्षा थियो । तर, यसविपरीत विगत पछिल्ला केही वर्षदेखि राजनीतिक परिघटनाहरु, देश र जनताका साझेदारहरु बीचको ध्रुवीकरण र नेतृत्वको आम सामाजिक राजनीतिक व्यवहार र राज्य सञ्चालनमा देखिएको चरम बेथितिका कारण सत्तासिन दलकै नेता तथा कार्यकर्ताहरुसमेत सन्तुष्ट नहुनु आफैंमा एक अनपेक्षित परिस्थिति हो ।

यही अवस्थामा परम्परागत सामन्तवादी मान्यतामा आधारित विभिन्न सामाजिक तथा प्रतिष्ठित व्यक्तिहरु, विचार समूह, एवं राजनीतिक दलहरु समेतले जारी राजनीतिको कोर्समा राखेका गम्भीर विमतिका स्वरहरु खुल्ला रुपमा प्रकट भइरहेका छन् । यता विश्व राजनीतिको महत्वपूर्ण क्षेत्र मानिएको दक्षिणपूर्वी एसियाको राजनीतिमा समेत नयाँ तवरका अस्थिरताका संकेतहरु देखापरिरहेका छन् ।

यी सबै परिस्थितिका बाबजुद नेपाली राजनीतिको मूलधारलाई प्रतिनिधित्व गर्ने मान्यता, संरचना र संगठन वा समूह आम जनताको विश्वास, समर्थन र संरक्षणको अभावमा लामो कालसम्म सत्तामा रहिरहन सक्दैन भन्ने कुरा इतिहासले पुष्टि गरिसकेको विषय हो । यही मान्यतामा रहेर, नेपाली गणतन्त्र र गणतान्त्रिक अभ्यासप्रति आम जनताको दृष्टिकोणलाई बुझ्ने सन्दर्भमा एक पूर्वमाओवादी कार्यकर्ता बुद्धिसागर ओझाको अनुभव र अनुभूतिलाई हामी प्रस्तुत गरिएको छ ।

०५५ सालदेखि माओवादी जनयुद्धमा जोडिएका बुद्धिसागर ओझाको स्थायी ठेगाना कास्कीको रुपा गाउँपालिका बडा नं. २ सिरकोतान हो । ३९ वर्षका उनको हालको बसोबास पोखरा २९ पटनेरी (साविक लेखनाथ नगरपालिका) मा छ । प्रविणता प्रमाण पत्रसम्म अध्ययन गरेका ओझाले १० कक्षा पढ्दै गरेको अवस्थादेखि नै गाउँको एक प्रा.वि.मा १० वर्षसम्म पढाए । २०६४ सालमा बिहे गरी एक छोरा र एक छोरीका बाबुसमेत भएका ओझा शारिरक रुपमा कडा परिश्रम गर्न र दोडधुप गर्न सक्दैनन् । उनको दायाँ गोडा अलिक कमजोर छ र हिँड्दा खुट्टा खोच्याउँदै हिँड्नु पर्छ । यद्यपि घरका सबै काम गर्न उनी जहिल्यै तयार हुन्छन् ।

प्रतिशोधको शिकार र अनुत्तरित प्रश्न

सानो उमेरदेखि नै गाउँघरमा छँदा जहिल्यै अन्यायको विरुद्धमा र सामाजिक न्यायको पक्षमा आफूलाई उभ्याउने गरेको उनको अनुभव छ । एकपटक जातीय विभेदविरुद्ध आफ्नो विचार राख्दा आफ्नै बाबुको नराम्रो पिटाइ खानुपरेको र अगाडिका २ वटा दाँत नै भाँचिएको उनको भोगाइ छ ।

कक्षा ५ मा पढ्दै गर्दा नै उनी राजनीतिमा जोडिन पुगे । उनी अनेरास्ववियुको स्कूल कमिटीमा बसे । तर, घरमा उनका बाबु भने कांग्रेस पृष्ठभूमिका थिए । जसका कारण राजनीतिक प्रतिशोधको शिकार भयो उनको परिवार ।

२०५४ सालको स्थानीय चुनावको बेला उनका बाबुले भोट खरिद गर्न पैसा लुकाएर राखेका छन् भन्ने हल्ला चलाएर तात्कालीन एमाले कार्यकर्ताहरुले उनको घरलाई घेरा हाले । यही कारण उनको परिवारमा भय र असुरक्षाको वातावरण बन्न गयो । सो घटनाले एमालेसँग उनको विश्वास टुट्यो र उनको झुकाव माओवादीतर्फ बढ्दै गयो । ०५५ सालको अन्त्यसम्म उनी माओवादीको विश्वसनीय कार्यकर्ता भइसकेका थिए । त्यस समयको एक घटना सम्झदै उनी भन्छन्, ‘मैले गाउँबाट जम्मा गरेको एक झोला पैसा बोकेर जिल्ला तहका तात्कालीन एक नेतालाई दिएको थिएँ । त्यो झोलामा कति पैसा थियो त्यो मलाई थाहा थिएन, न त मलाई त्यो गन्न आवश्यक थियो । किनभने मलाई कुनै लोभ थिएन ।’ पछि ती नेता, जसलाई उनले पैसा दिएका थिए, युद्धकै क्रममा उनले आफ्नो ज्यान नै गुमाए ।

जनयुद्धको सफलताको बारेमा निश्चिन्त थिए । क्रान्तिको उद्देश्य र नेताहरु उनका लागि सबैभन्दा प्रिय र पुज्य थिए । साथै आफ्ना नेताहरुप्रति ठूलो आशा, विश्वास र भरोसा थियो उनको ।

यस्तैमा देशमा ठूलो राजनीतिक परिवर्तनसँगै माओवादी शान्ति प्रक्रियामा आयो र जनयुद्धले विश्राम लियो । जंगलबाट सडक र सदन हुँदै संविधानसभा र सरकारसम्म पुग्यो माओवादी पार्टी । राजनीतिक परिवर्तन भए पनि जनयुद्ध लडेका तल्ला तहका कार्यकर्ताको जीवन कुनै फरबदल भएन । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थाको स्थापना पनि भयो । तर, यो व्यवस्थाको संरक्षक को हो ? जुन पार्टी र क्रान्तिले यो परिवर्तन ल्यायो, त्यसलाई त समाप्त पार्ने काम भयो भने अब यसको भविष्य के हुन्छ ? यस्ता केही अनुत्तरित प्रश्नहरु उनका ओठमा झुण्डिएका थिए ।

यो बीचमा पार्टीले गम्भीर गल्तीहरु गर्दै गएको उनलाई लाग्दै थियो तर उनको माओवादीप्रतिको आस्था र विश्वासको श्रृंखला यतिमै रोकिएको थिएन, रोकिने पनि कुरै थिएन । २०६७ साल वैशाख २१ गते काठमाडौंमा पार्टीले आयोजना गरेको प्रदर्शनका क्रममा उनीसँगैका गणेश सुवेदी प्रहरीको गोलीको शिकार भए र उनको मृत्यु नै भयो । त्यहाँ उनी बाँच्न सफल भए, तर सुरक्षाकर्मीको लाठी प्रहारबाट उनको दायाँ हात भाचिनुका साथै उनी गम्भीर घाइते बन्न पुगे ।

जब माओवादी नेतृत्व तहमा विवाद र खुट्टा तान्ने प्रवृत्ति सतहमा आयो तब उनलाई लाग्यो साउनको उर्लदो भेलसँगै म कतै हराइरहेको त छैन ? उनी थप्छन्, ‘म दोस्रो पटक बगेँ र आजसम्म बगेको बग्यै छु । अहिलेसम्म कुनै किनारा भेटेको छैन ।’ पहिलो पटक उनी कक्षा ५ मा पढ्दाखेरि नै खोलाले बगाएर बाँचेका थिए । ०५० साल जेठ ३ गते, जुन दिन मदन भण्डारी र जीवराज आश्रितको जीप दुर्घटनामा मृत्यु भएको थियो, त्यही दिनमा गाउँमै रहेको घुङ्गा खोलाले उनलाई बगाएको थियो । तर, संयोगबस ३० मिटर जति परसम्म बगाएपछि खोलाले किनारातर्फ नै फ्याँकिदियो र उनी बाँच्न सफल भए । त्यतिबेला उनलाई लागेको थियो त्यो उनको नयाँ जीवन थियो ।

तर, जब दाश्रो पटक उनका आशा र सपनाहरुको किनाराबाट उनी चिप्लिए तब उनलाई किनारमा ल्याउने नेपाली राजनीतिको अग्रगामी परिवर्तन र सामाजिक न्यायको बलियो झोक्का कहीँ कतैबाट आएन । ‘सायद यही कारण हुनसक्छ, लामो समयसम्म शारीरिक र मानसिक रुपमा पनि थकित र आहात बन्नु परेको ब्यथा छ मभित्र,’ उनले सुनाए ।

जब संविधानको सभाको निर्वाचनबाट ठूलो दल बनेर माओवादी सरकारमा गयो त्यो समयदेखि नै माओवादीको असफलताको दिन सुरु भएको उनको ठम्याइ छ । ‘किनभने, जब सरकारमा गयो तब जनयुद्धकालमा जे जस्तो भनिएको थियो त्यसको व्यवहारीक प्रयोग समाजको कुनै पक्षमा पनि हुन सकेन । केही व्यक्तिको स्वार्थका लागि सम्पूर्ण राज्य बन्धक बन्न पुग्यो । आम जनता र कमजोर वर्गले आफ्नो पक्षमा शासन र सत्ता भएको अनुभूति गर्ने कुरा त परै जाओस् त्यसको आशा गर्ने ठाउँसमेत कुनै बेला पनि बन्न सकेन,’ उनी भन्छन् । यसो हुनुमा पूर्णतः नेतृत्वलाई दोषी देख्छन् उनी । यतिबेला क्षतविक्षत माओवादी आन्दोलनको आफू एक साक्षीमात्र भएको उनको बुझाइ छ ।

जहाँ बढी माया र विश्वास पोखिन्छ त्यहीबाट नै सबैभन्दा ठूलो दर्द र पीडा भोग्नुपर्छ मान्छेको जीवनमा । सायद यस्तै भयो बुद्धिसागरको जीवनमा पनि ।

पार्टीप्रतिको आस्था र विश्वास उनमा यति कञ्चन थियो कि काठमाडौंमा भएको प्रदर्शनमा सहभागी हुने क्रममा उनका नागरिकता, शैक्षिक प्रमाणपत्र, अपांगता परिचयपत्र र मोबाइलसमेत रहेको झोला हरायो । त्यतिबेला उनले ठाने, ‘हराए पनि हराओस्, पुरानो सत्ताका यी कागज अब किन चाहियो ? किन चाहियो नागरिकता ? क्रान्तिकारी पार्टीको म एक क्रान्तिकारी कार्यकर्ता हँु । योभन्दा ठूलो परिचय र मेरा आर्जन अरु के हुन सक्छ ?’ तर बिडम्बना, सरकारमा गएपछि उही पुरानो भनिएको सत्ताको नागरिकता बनाउन पार्टीले कार्यकर्ताहरुलाई उर्दी जारी ग¥यो । सरकारी नियुक्तिहरुमा पनि तिनै शैक्षिक प्रमाणपत्रको खोजी भयो ।

त्यही अपांगताको परिचयपत्र बनाउनसमेत कति हण्डर र ठक्कर खानु परेको थियो भन्ने सम्झिँदा अहिले मन चसक्क हुन्छ उनको । किनभने त्यससँग जोडिएका धेरैजसो स्थानीय नेता, कर्मचारी, डाक्टरलगायतबाट उनीमाथी भएको ब्यवहार, बहिस्करण र अपहेलनाको अनुभूति ज्यादै नमिठोसँग उनको मनमा गढेर बसेको छ ।

माओवादीमा प्रचण्ड, मोहन वैद्य र बाबुराम एकै ठाउँमा नहुन नै ठूलो दूर्भाग्य ठान्छन् उनी । उनको विचारमा उनीहरु योग्य र दुर दृष्टि राख्ने नेताहरु हुन् । तर यो पक्षलाई भरपुर उपयोग गर्न प्रचण्ड मात्रै होइन् समग्र माओवादी आन्दोलन नै चुकेको उनलाई लागेको छ । त्यसैले अबको नेपालको राजनीतिक भविष्यमा ओझा त्यति विघ्न आशावादी देखिँदैनन् । विप्लव हुन् वा राजावादी, वैकल्पिक हुन् वा समाजवादी सबैको कार्यशैली र मनोदशामा तात्विक अन्तर नभएको उनको बुझाइ छ । समग्रमा राज्यलाई थप कमजोर बनाउने र समाजमा अरु अस्थिरता निम्त्याउनेतर्फ त राजनीति बढिरहेको होइन भन्ने उनमा आशंका छ ।

माओवादी आन्दोलन जस्तै उनको पारीवारिक अवस्था पनि क्षतविक्षत बन्न पुग्यो । जब माओवादीमा एकपछि अर्को विग्रह र विभाजन सुरु भयो, उनलाई गाउँमा बस्न मन लागेन । त्यसपछि उनले आफ्नो भागमा भएको लइनो भैंसी २० हजार ५०० रुपैयाँमा बेचेर २०६९ सालमा परिवारसहित जन्मस्थान रुपा गाउँपालिकाको सिरकोतान छाडेर बेंसी झरे अर्थात् अवसरको खोजीमा साविक लेखनाथको शहरी क्षेत्रमा बसाइँ सरे । सात वर्षको अवधिमा उनले लेखनाथका विभिन्न वडाहरुमा पाँच पटक ठाउँ फेरिसके तर पनि उनको स्थायी बसोबासको टुंगो छैन ।

श्रीमतीले डोकोमा राखेर गर्ने फलफूलको व्यापारले अहिले भरथेग गरेको छ । तर, स्थानीय प्रशासन र प्रहरीबाट बेला–बेलामा हुने ज्यादती र अपहेलना आम्दानीभन्दा अचाक्ली छ । केही हप्ता अगाडि मात्र मण्डीबाट खरिद गरिएका १० वटा भुइँकटहरमध्ये ४ वटा मात्रै बेच्न बाँकी रहेको अवस्थामा नगर प्रहरीले खोसेर लगेको प्रतिनिधि घटनाले जनताको शासन ल्याउँछौं भनेर चुनाव जितेका नेताहरुको अनुहार झल्झली याद आउँछ उनलाई । उनी प्रश्न गर्छन्, ‘गरी खाने वर्गको हितमा सरकारले किन काम गर्न सकेन ? किन राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था उस्तै छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment