Comments Add Comment

टेबल टेनिस रोज्नु मेरो जीवनकै सर्वोत्कृष्ट निर्णय

यतिबेला त मेरो दिमागमा ‘साग’ मात्रै भरिएको छ । म खाने सागको कुरा गरिरहेको छैन है ! ‘साग’ अर्थात्, दक्षिण एसियाली खेलकुद ।

१३ औं साग आगामी डिसेम्बर महिनाबाट सुरु हुँदैछ । हामी नेपाली खेलाडीहरुका लागि यो ओलम्पिक सरह नै हो । म अहिले यसैको तयारीका लागि कडा अभ्यासमा जुटिरहेकी छु । देशका लागि पदक जित्ने आकांक्षा मनभरि छ ।

सागको कुरामा फेरि आउने नै छु । तर, अहिले म तपाईंलाई मेरो खेल जीवनका अरु धेरै कुराहरु सुनाउन व्यग्र छु । कतिपय कुराहरु तपाईंलाई थाहा होला, कति नहोला ।

छोरीले तेक्वान्दोमा लागेर केही गरोस् भन्ने बुवाको चाहनालाई कुल्चेर टेबलटेनिसमा मोडिने निर्णय लिन मलाई पक्कै सजिलो थिएन । अनि, आफ्नै नन्दसित पाँच–पाँच पटक राष्ट्रिय प्रतियोगिताको फाइनलमा भिड्दाको अनुभव पनि कम्ति विशिष्ट छैन । साथै, टेबलटेनिसमा आठपटक राष्ट्रिय च्याम्पियन बन्नुको गौरव पनि त चानचुने होइन नि ।

०००

टेबलटेनिससित मेरो नाता कसरी गाँसियो भनेर जान्न त बाल्यकालमै फर्किनुपर्ने हुन्छ ।

सानैमा मलाई टेबलटेनिस बलको ट्वाक–ट्वाक आवाज निकै मन पर्थ्यो । दराजमा, टेबलमा, भुइँमा बेडमा, जहाँ पनि टेबलटेनिस खेल्ने गर्थें ।

म आठ कक्षामा पढ्दै गर्दा स्कुलले टेबलटेनिस प्रशिक्षक नै नियुक्त गरेको थियो । म त्यतिबेला म १३ वर्षकी थिएँ । अन्तरस्कुल प्रतियोगिताको लागि राकेश महर्जनलाई प्रशिक्षकका रुपमा ल्याइएको थियो ।

अरुबेला म टेबलटेनिस मनलाग्दी पारामा खेलिरहेको हुन्थेँ । तर कक्षा आठदेखि भने एउटा व्यावसायिक प्रशिक्षकबाट सिक्ने मौका पाएँ । त्यसपछि मैले अन्तरस्कुल टेबलटेनिस प्रतियोगितामा भाग लिएँ । पहिलो प्रतियोगितामै मैले अब्बल मानिएका खेलाडीलाई पराजित गरेर कास्य पदक जित्न सफल भएँ । अनि त ममा टेबलटेनिस नशा जस्तै भयो ।

मैले तेक्वान्दो छोड्ने कुरामा बुवा सहमत हुनुभएन । हुन पनि उहाँकै इच्छाअनुसार मैले तेक्वान्दो सिक्न थालेकी थिएँ । तर, राकेश गुरुले निकै जोड गरेपछि म तेक्वान्दो छोड्ने निर्णयमा पुगेँ । यसबाट बुवा खिन्न हुनुभयो । परिवारमा कोही पनि खुशी हुनुभएन ।

त्यो प्रतियोगितामा मेरो प्रदर्शनबाट प्रशिक्षक राकेश निकै खुशी हुनुभएको थियो । मेरो खेलको प्रशंसा गर्दै उहाँले भन्नुभएको थियो, ‘तिमी नेपालको नम्बर वान खेलाडी बन्नेछौ ।’

र, मैले यो भन्न छुटाउनु हुँदैन कि उनै राकेश कालान्तरमा मेरो श्रीमान बन्नुभयो । उहाँकै सहयोग र प्रेरणामा आफ्नो टेबलटेनिस करिअर यहाँसम्म ल्याएकी छु ।

०००

टेबलटेनिसभन्दा पहिलादेखि म तेक्वान्दो खेल्ने गर्थें । तीन कक्षा पढ्दादेखि नै तेक्वान्दो सिक्न थालेकी हुँ । तर, प्रशिक्षक राकेशले मलाई तेक्वान्दो छोडेर टेबलटेनिसमा नै केन्द्रित हुन सुझाव दिनुभयो । अनि त म दोधारमा परेँ । किनकी मेरो परिवारको झुकाव तेक्वान्दोतिर थियो ।

मैले तेक्वान्दो छोड्ने कुरामा बुवा सहमत हुनुभएन । हुन पनि उहाँकै इच्छाअनुसार मैले तेक्वान्दो सिक्न थालेकी थिएँ । तर, राकेश गुरुले निकै जोड गरेपछि म तेक्वान्दो छोड्ने निर्णयमा पुगेँ । यसबाट बुवा खिन्न हुनुभयो । परिवारमा कोही पनि खुशी हुनुभएन । त्यसैले टेबलटेनिसमा मैले परिवारबाट कुनै साथ र सहयोग पाइनँ ।

बुवाले भन्ने गर्नुहुन्थ्यो, टेबलटेनिसमा कुनै भविष्य छैन । तेक्वान्दो खेलमा स्थापित भए राम्रो गर्न सकिन्छ भन्ने उहाँको मनसाय थियो । तर मैले गुरुको कुरामा लागेर बुवाको चाहनामा कुठाराघात गरेँ । त्यही भएर बुवा मसित दुःखी हुनुभयो ।

राकेश गुरुले ममा निकै सम्भावना देख्नुभएछ, तर म आफैंमा भने त्यति आत्मविश्वास थिएन । ९ कक्षामा हुँदा पहिलोपटक राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर पाएँ । त्यसमा म सिनियर खेलाडीसित कडा प्रतिस्पर्धामा पराजित भएँ । पराजित हुँदा पनि मेरो आत्मविश्वास भने बढ्यो । विस्तारै एकपछि अर्कोमा राम्रो गर्न थालेँ । प्रशिक्षक र अन्य सिनियर खेलाडीको नजरमा पर्दै गएँ । अरुको तारिफले मेरो मनोबल उच्च हुन्थ्यो ।

१० कक्षापछि चाहिँ देशको नम्बर वान खेलाडी नै बन्छु भन्ने अठोट नै गरेँ । त्यही अठोटले मलाई यहाँसम्म डोर्‍याएको छ । एउटा सफल खेलाडीको परिचय पाएकी छु ।

मेरो पहिलो अन्तर्राष्ट्रिय सहभागिताचाहिँ २०६६ सालमा भारतमा भएको जुनियर प्रतियोगितामा थियो । त्यहाँ पनि निकै राम्रो खेलेँ । पदक जित्न सफल भएँ । यसले थप उत्साह बढ्यो ।

२०६७ सालमा बंगलादेशमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा मैले अवसर पाएँ । त्यसका लागि भएको छनोट प्रतियोगितामा सबै सिनियर दिदीहरु हुनुहुन्थ्यो । म सबैभन्दा जुनियर थिएँ । तर नम्बर वान भएर आफ्नो स्थान सुरक्षित बनाएँ ।

मैले टिम इभेन्ट्समा दुई खेल जिते । पदकका लागि पाँच खेलमा तीन खेल जित्नु पर्ने हुन्छ । सिनियर दिदीहरुले एक खेल पनि जित्न सक्नुभएन । एक खेल जितेको भए पदक आउँथ्यो । त्यो बेला निकै दुःख लागेको थियो । रातभर रोएँ ।

त्यसपछि म सिंगल्समा फोकस हुन सकिनँ । मिक्स डबल्स र डबल्स सबै हारेँ ।

सागपछि मैले २०६७ साल मै विराटनगरमा भएको राष्ट्रिय प्रतियोगिता खेलेँ । त्यसमा राष्ट्रिय च्याम्पियन स्वेच्छा नेम्वाङलाई पराजित गरेर स्वर्ण पदक जित्न सफल भएँ । पहिलोपटक राष्ट्रिय च्याम्पियन हुँदा आत्मसन्तुष्टि ठूलो थियो । मेरो लामो समयको मेहनत र समर्पणको प्रतिफल थियो त्यो । त्यसमाथि, च्याम्पियनलाई पराजित गर्दै च्याम्पियन हँुदाको खुशी बेग्लै थियो । यो सफलताले मलाई अगाडिको ढोकाहरु खोलिदियो ।

०००

२०६७ मा राष्ट्रिय च्याम्पियन बनेपछि आफूलाई यही पोजिसनमा टिकाइराख्ने चुनौती थपियो । त्यसका लागि मैले आफूलाई अझै निखार्नु पर्छ भन्ने लाग्यो । थप मेहनत गर्दै गएँ । टेबल टेनिसमा पहिलेको भन्दा बढी समय दिन थालेँ ।

जति प्रतियोगिता आउँथ्यो, कसरी गोल्ड मेडल जित्ने भन्ने रणनीति बुन्न थाल्थेँ । दिमागमा टेबल टेनिसभन्दा अर्थोक केही हुँदैनथ्यो । त्यसयता मैले कुनै प्रतियोगिता हारिनँ । खेलेको जति सबै जित्दै गएँ ।

राष्ट्रिय च्याम्पियन बनेदेखि अहिलेसम्म थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेको छु । तर, अन्तर्राष्ट्रिय स्तरमा भने हामी निकै पछाडि छौं । ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक त जित्न सकिएन, तर थुप्रै तितामिठा अनुभवहरु भने बटुलेको छु ।

२०१४ मा कोरियामा भएको एसियन गेम्स खेल्ने मौका पाएँ । यो मेरोलागि सबैभन्दा ठूलो प्रतियोगिता थियो । तर हाम्रो प्रदर्शन राम्रो भएन । मेरो व्यक्तिगत प्रदर्शन पनि निराशाजनक नै रह्यो ।

२०१६ मा भारतमा भएको १२ औं सागमा पनि उपलब्धि हासिल गर्न चुकेँ । खेलको अघिल्लो दिन हाम्रो टिमको एक खेलाडी विरामी परेको कारण पूरै टिमको सन्तुलन बिग्रिएको थियो । मानसिक रुपमा दबाव थियो । टिम, मिक्स डबल्स र डबल्समा राम्रो हुन सकेन । सिंगल्समा राम्रो गर्दागर्दै पनि हार्न पुगेँ ।

खेलाडीको सपना नै अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेर देशको नाम राख्ने हुन्छ । मेरो पनि यही सपना थियो । तर, हारसँगै बिलाएर गयो । निकै दुःखी भएँ र रोएँ पनि ।

२०१८ सा इन्डोनेसियामा भएको एसियन गेम्सको लागि अभ्यास निकै राम्रो भएको थियो । प्रतियोगिता आउनु तीन महिना अगाडिदेखि नै हामीले बन्द प्रशिक्षण थालेका थियौं । भारतमा एक महिना अभ्यास गरेका थियौं । त्यहाँ हामीले राम्रो खेल्ने पार्टनर पायौं । भारतमा हामीले जसरी अभ्यास गरेका थियौं, त्यही वातावरण इन्डोनेसियामा पायौं । मैले सिंगल्समा मंगोलियालाई एक सेट जितेँ पनि । तर खेल हार्न पुगेँ ।

टेबलटेनिसबाटै मेरो जिन्दगी बनेको छ । राम्रो खेल्नेलाई विभागीय टिमहरुले लिन्छन् । क्लब गेम्सहरु भइरहेका छन् । विभिन्न स्कुलहरुले पनि टेबलटेनिस खेलाडीलाई प्रशिक्षकको रुपमा राम्रो पारिश्रमिक दिएर राखेका छन् ।

मिक्स डबल्समा हामीले चीनलाई एक सेट जित्यौं । त्यो बेला हामीले एक अंक ल्याउँदा नै ‘वाउ !’ भएको थियो । तर खेल्दै जाँदा त्यो सेट जित्यौं । अरु सेट नजिक पुगेर हार्‍यौं ।

विश्व च्याम्पियन टिमलाई एक सेट जित्नु भनेको पनि हाम्रोलागि ठूलै उपलब्धि हो । मेरो पार्टनर स्यान्टु श्रेष्ठसँग खेलअघि भनेको थिएँ– हामी फराकिलो अन्तरले चाहिँ नहारौं । हाम्रो तर्फबाट बेष्ट दिनुपर्छ भनेको थिएँ । चीनविरुद्ध जित हात पारेको त्यो एक सेट नै मेरो खेल जीवनको अविस्मरणीय क्षण हो ।

०००

खेलाडी जीवनमा अनेकौ मोडहरु त आइहाल्छन् । तपाईंलाई मेरो अर्को रोचक सन्दर्भ सुनाउँदैछु ।

करिब आजभन्दा पाँच वर्षजति अगाडिको घटना होला । त्यो बेला काठमाडौंमा राष्ट्रिय प्रतियोगिता चलिरहेको थियो । फाइनलमा भेट भयो आफ्नै नन्द एलिना महर्जनसँग ।

मलाई जित्छु भन्ने विश्वास त थियो । तर जब खेल सुरु भयो, सबै दर्शक र समर्थकहरु एलिनाको पक्षमा हुटिङ गर्न थाले । मेरा समर्थकले पनि नन्दकै पक्षमा ताली बजाइरहेका थिए । म निकै नर्भस भएँ । त्यो बेलामा म अलिकति हल्लिएकी थिएँ । तर, खेल मैले नै जितेँ ।

त्यसयता मैले अहिलेसम्म पाँचपटक नन्द एलिनासँगै राष्ट्रिय प्रतियोगिताको फाइनल खेलेको छु । २०७१ देखि निरन्तर फाइनलमा एलिनासँग नै भेट हुने गरेको छ । तर नन्दले अहिलेसम्म जित्न सक्नु भएको छैन । घरमा सँगै हुँदा नन्दसँग बेलाबेलामा म जिस्काइदिन्छु पनि । ‘सर्वाधिक उपाधिको रेकर्ड तोडँे, अब तिमीलाई छोडिदिउँ ?’ भन्दा नन्द भन्नुहुन्छ, ‘होइन, म तपाईंलाई हराएरै नम्बर वान बन्छु ।’

मेरो परिवारमा अहिले हामी चार जना टेबलटेनिस खेलाडी छौं । मेरो श्रीमान (राकेश महर्जन) अहिले पनि सक्रिय खेलाडी र प्रशिक्षक हुनुहुन्छ । नन्द एलिना र एरिका पनि राष्ट्रिय स्तरका खेलाडी हुनुहुन्छ । हामी चारैजना सागदेखि थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सँगै जाने मौका पनि पाएका छौं । टेबल टेनिस नै महर्जन परिवारको भन्ने छ । बाहिर खेल्न जाँदा पनि परिवारसँग छुट्टिनु पर्दैन ।

०००

टेबल टेनिसलाई करिअर बनाएर अघि बढ्नु मेरो जिन्दगीकै सबैभन्दा सही निर्णय थियो भन्ने लाग्छ । हो, मैले त्यतिबेला आफ्नो बुवाको सपनालाई कुल्चिएँ । तर, आज उहाँ पनि मेरो सफलतामा उत्तिकै खुशी हुनुहुन्छ ।

मेरो खेल करिअरमा श्रीमान राकेशले नै टर्निङ प्वाइन्ट ल्याउनुभएको हो । बिहेअघि र बिहेपछि पनि उहाँ उस्तै सहयोगी हुनुहुन्छ । त्यत्तिकै केयर गर्नुहुन्छ ।

उहाँसित मेरो सुरुमै अफेयर चलेको भने होइन । विद्यार्थी र शिक्षककै सम्बन्ध थियो । तर विस्तारै–विस्तारै नजिकिँदै जाँदा माया बस्यो । कक्षा १० मा पढ्दासम्म हामी निकै नजिक भइसकेका थियौं । दैनिक रुपमा टेबल टेनिसको अभ्यासमा सँगै भइन्थ्यो । एक अर्कालाई बुझ्दै गयौं । त्यसपछि जिन्दगीसँगै जीवन बिताउने बाचा भयो । अहिले त बिहे भएको पनि पाँच वर्ष पूरा भइसक्यो ।

 

हाम्रो बिहे पनि अति व्यस्तताका बीच भएको थियो । बिहेको लागि सबै आफन्तहरु आएर मलाई कुरिरहनु भएको थियो । म भने राष्ट्रिय प्रतियोगिता खेलिरहेको थिएँ । मेरो बिहे दुई दिनअघिसम्म म प्रतियोगितामै व्यस्त थिएँ ।

मेरो श्रीमानको सपना थियो कि मैले राष्ट्रियस्तरमा सर्वाधिक उपाधि जित्ने रेकर्ड राखुँ । त्यो सपना पूरा गरेको छु । अहिलेसम्म आठपटक राष्ट्रिय च्याम्पियन बनेकी छु । मेरोचाहिँ अर्कै सपना छ । त्यो हो, ओलम्पिक खेल खेल्ने । ओलम्पियन बन्ने ।

तर यो टेबलटेनिसमा कठिन छ । वाइल्ड कार्डको लागि पनि हाम्रो बरियतामा भर पर्नुपर्छ । हरेक पक्षबाट कठिन छ । किनभने छनोट पनि खेल्न पाइँदैन । तर असम्भव भने छैन । यसका लागि संघ र सरकारले वातावरण बनाउनुपर्छ ।

००००

टेबल टेनिसबाट जिन्दगी बन्दैन, यसमा लागेर के हुन्छ ? भन्नेहरुको जमात पनि कम छैन । तर मेरो अनुभवले यस्तो भन्दैन । टेबलटेनिसबाटै मेरो जिन्दगी बनेको छ । राम्रो खेल्नेलाई विभागीय टिमहरुले लिन्छन् । क्लब गेम्सहरु भइरहेका छन् । विभिन्न स्कुलहरुले पनि टेबलटेनिस खेलाडीलाई प्रशिक्षकको रुपमा राम्रो पारिश्रमिक दिएर राखेका छन् ।

म २०६५ सालदेखि नै पुलिस क्लबमा आबद्ध छु । मैले कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन । मलाई टेबलटेनिसले पहिचान दिएको छ । आज टेबलटेनिस खेलाडी हुँ भन्दा गर्व लाग्छ ।

नयाँ खेलाडीलाई म भन्न चाहन्छु कि कडा परिश्रम गरेर टेबलटेनिसलाई नै करिअर बनाउने हो भने यसबाट पनि धेरै कुरा हासिल गर्न सकिन्छ ।

०००

यतिबेला हाम्रो अर्जुनदृष्टि १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामै छ । त्यसैले ‘होटल टु टेबल टेनिस हल, टेबल टेनिस हल टु होटल’ मै दिनचर्या बित्छ । २४ सै घण्टा मनमस्तिष्कमा टेबलटेनिस र साग भन्दा अर्को कुरा हुँदैन ।

मेरो मात्रै हैन, हामी क्लोज क्याम्पमा बसेका सबै खेलाडीको एउटै सपना हो सागमा देशको गौरव बढाउने । त्यसका लागि हामीले कडा मेहनत गर्नैपर्छ । यसमा खेलाडी र प्रशिक्षकबीचको तालमेल पनि निकै महत्वपूर्ण हुन्छ । खेलाडी वा प्रशिक्षकमध्ये एकले लत्तो छाडेमा सबै चौपट हुन्छ ।

अझै पनि टेक्निकल कुरामा हामी कमजोर नै छौ । आफ्नो कमीकमजोरी हामीलाई थाहा छ । त्यसलाई विस्तारै सुधार गर्दै गइरहेका छौं । हामीसँग समय पनि छ । यो अवधिमा बढीभन्दा बढी अभ्यासमै केन्द्रित हुने हो ।

मेडलको कुरा गर्दा भारतलाई जित्न गाह्रो हो, तर असम्भव भने चाहिँ छैन । अनि, श्रीलंका पनि हामीभन्दा बलियो नै छ । अरु टिम हाम्रै स्तरका हुन् । हामीले आफ्नो प्रदर्शन अलि उकास्यौं भने पहिलो बन्न असम्भव छैन । तथापि, अहिलेको हाम्रो लक्ष्य भनेको रजत पदक हो ।

अहिले मेरो धेरै पक्षमा सुधार भइरहेको छ । पावरदेखि लिएर टेक्निकल कुराहरुमा आएको सुधार आफैंले महसुस गरेकी छु । हाम्रो र उनीहरुको अभ्यासमा के फरक भन्ने स्पष्ट थाहा छ । म आफ्नो कमजोरीहरुलाई सुधार्दै आफ्नो खेललाई निखार्न चाहन्छु । प्रशिक्षकसँग पनि छलफल गरिरहेको छु ।

टेबल टेनिस ११ अंकको खेल हो । सानो गल्तीले पनि खेल हार्न सकिन्छ । त्यसैले मैले कहिल्यै पनि आफ्नो विपक्षी खेलाडीलाई कमजोर आँक्दिनँ ।

गत बैशाखमा प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सबै चारवटा इभेन्ट्समा स्वर्ण पदक जित्न सफल भएँ । तर, जितमा मात्तिने र हारमा आत्तिने मेरो स्वभाव छैन । मलाई केवल राम्रो गर्नु छ । आफूप्रति इमान्दार भएर खेल्नु छ ।

प्रस्तुतिः सरोज तामाङ

फोटो र भिडियोः शंकर गिरी

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृंखला ‘मेरो कथा’को ५२ औं अंकमा यो हप्ता टेबलटेनिस खेलाडी नविता श्रेष्ठको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment