
२२ भदौ, काठमाडौं । संविधान दिवसलाई भव्य बनाउने निधो गरेको सरकारले राष्ट्रिय पोशाकमा झण्डासहित ¥यालीमा सहभागी हुन, तीन दिनसम्म घरघरमा दीपावली गर्न मात्र भनेको छैन, फिल्म हलहरुमा राष्ट्र गान बजाउनसमेत निर्देशन दिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा संविधान दिवस मूल समारोह समितिले फिल्महरुमा तीन दिन राष्ट्र गान बजाउने निर्णय भएको थियो । त्यसअनुसार हलहरुलाई पत्राचार गर्ने तयारी भइरहेको चलचित्र विकास बोर्डले बताएको छ ।
सञ्चार मन्त्रालयले फिल्म हलहरुमा राष्ट्र गानलाई तीन दिन मात्र होइन, अरु दिन पनि अनिवार्य गर्ने संकेत गरेको छ । मस्यौदाकै चरणमा रहेको ‘चलचित्र क्षेत्रलाई व्यवस्थापन र नियमन गर्न बनेको विधेयक’ मा त्यही प्रस्ताव गरिएको छ ।
तर, चलचित्र विकास बोर्डले भने विधेयकको यो व्यवस्था हटाउन सुझाएको छ । बोर्डका अध्यक्ष केशव भट्टराई भन्छन्, ‘विधेयकको मस्यौदामा सबै पक्षसँग छलफल गरेर धेरै सुझाव दिएका छन् । त्यसमा फिल्म हलभित्र राष्ट्रगान गाउने व्यवस्था हटाउने पनि छ ।’
यद्यपि यो विधेयक संसदमा टेबल भएर पास हुन बाँकी रहेकाले के हुन्छ भन्ने सकिने अवस्था छैन ।
प्रतिक्रिया 4