Comments Add Comment

राष्ट्र बैंक र बैकर्सको छलफल : प्रविधिमा लगानी बढाउन गभर्नरको निर्देशन

२३ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकहरुलाई प्रविधिमा लगानी बढाउन निर्देशन दिएका छन् । एटीएम ह्याकिङ प्रकरणपछि राष्ट्र बैंकले वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुसँग आयोजना गरेको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् ।

गभर्नर नेपालले थप लगानी गरेर बैंकिङ क्षेत्रले सुरक्षित प्रविधिमा जानका लागि आग्रह गरेका थिए । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बैंकिङ प्रविधिको सुरक्षाका लागि कसरी सावधानी अपनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार बैंकका सीईओहरुले बैंकको प्रविधिको सुरक्षाका विषयमा आफूहरु गम्भीर रहेको बताएका छन् ।

गभर्नर नेपालले प्रविधिमा लगानी बढाउनुस् भनेपछि सबै बैंकका सीईओहरुले सहमति जनाएको बैठकमा सहभागी एक बैंकरले जानकारी दिए । बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र  ढुंगानाले प्रविधिमा लगानी बढाउन बैंकहरुलाई कुनै समस्या नरहेको बताएका थिए । अहिलेको प्रविधिमा पनि कुनै कमजोरी नभएको बताउदै अध्यक्ष ढुंगानाले थप लगानी गर्न आफूहरु तयार रहेको बताएको ती बैंकरले जानकारी दिए ।

एटीएम सिस्टम ह्याक गरी चिनिया ह्याकरहरुले नेपाली बैंकको ठूलो रकम निकालेका थिए । चिनियाँ ह्याकरले भारतबाट मात्र १ करोड ७० लाख रुपैयाँ निकालेको पाइएको छ । नेपाल राष्ट्र बैं‌कले गठन गरेको छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार भारतबाट १ करोड ७० लाख र नेपालबाट १ करोड ८८ लाख रुपैयाँ गरी ३ करोड ५८ लाख रुपैयाँ विभिन्न बैंकबाट निकालेका छन् ।

यो पनि पढ्नुहोस एटीएम ह्याकिङ प्रकरणबारे सिंगापुरमा प्राविधिक परीक्षण गरिने

यस सम्बन्धमा अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । उक्त समितिले मंगलबार साँझ राष्ट्र बैंकलाई प्रतिवेदन बुझाउदै ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ बराबरको रकम झिकिएको बताएको छ ।

नेपालबाट १ करोड २६ लाख ५४ हजार नेपाली रुपैयाँ र बाँकी विदेशी मुद्रा बरामद भएको थियो । भदौ १४ गते शनिबार बिहान ११ बजेदेखि साँझ ४ः३० बजेसम्म भिजा इन्टरनेशनलसँग आबद्ध नेप्सका सदस्य बैंकहरुको डेबिट कार्ड प्रयोग गरी रकम निकालिएको थियो । नेपालमा १७ बैंकका ६८ एटीएम कार्डहरुबाट १ करोड ८९ लाख ४४ हजार ५ सय रुपैयाँ निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment