Comments Add Comment

काठमाडौं प्रहरी र अपराध महाशाखाको भवन निर्माण थालियो

महाशाखालाई मुद्दा चलाउने अधिकार, पुलिस क्लबमा पनि नयाँ संरचना

२४ भदौ, काठमाडौं । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको नयाँ भवन निर्माण कार्य थालिएको छ ।

मंगलबार बिहान काठमाडौं प्रहरीका लागि भद्रकाली र टेकुमा महाशाखाको अत्याधुनिक भवन निर्माण कार्य महानिरीक्षक सर्वेन्द्र खनालले शिलान्यास गरे ।

२०७२ सालमा गएको भूकम्पबाट हनुमानढोकास्थित कार्यालय भवनमा क्षति पुगेपछि प्रहरीका दुई निकाय टेकुस्थित नेसनल साल्ट ट्रेडिङको जग्गामा सारिएका थिए ।

भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि राजधानीमै प्रहरीका निकाय पालमुनि बस्न बाध्य भएको भन्दै गुनासो आउने गरेको थियो ।

अब भवन निर्माण भएपछि प्रहरीले अत्याधुनिक ठाउँबाट सेवा प्रवाह गर्ने महाशाखाका एसएसपी सहकुलबहादुर थापाले बताए ।

अपराध महाशाखालाई मुद्दा चलाउने अधिकार !

महाशाखालाई हाल बसेकै ठाउँमा १० रोपनी जग्गा सरकारले उपलब्ध गराएको छ ।

हाल प्रहरी बसेको टेकुको जग्गा नेशनल ट्रेडिङले नेपाल आयल निगमलाई बेचिसकेको छ । उसले पटकपटक पत्राचार गरेर प्रहरीलाई ठाउँ खाली गर्न आग्रह गर्दै आएको थियो । अहिले निगमको जग्गामा महाशाखासँगै ‘सासा बैंक्वेट’ पनि भाडामा सञ्चालित छ ।
उपत्यकामा हुने जघन्य प्रकृतिका अपराध–अनुसन्धान गर्ने अख्तियारी पाएको महाशाखासँग मुद्दा चलाउने अधिकार थिएन । हालसम्म उसले काठमाडौं परिसरमै थुनुवा राख्दै आएको छ भने मुद्दा पनि त्यहीँबाट चल्ने गरेको छ ।

तर, नयाँ भवन निर्माण सकिएसँगै महाशाखालाई जघन्य प्रकृतिका अपराधमा मुद्दा चलाउने अख्तियारी दिने समेत तयारी गरिएको छ । महाशाखाका एसएसपी थापा भन्छन्, ‘महाशाखाको नयाँ बन्ने भवनमा अत्याधुनिक हिरासत कक्ष पनि हुनेछ ।’

काठमाडौं प्रहरी १५ रोपनी जग्गामा

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार भद्रकालीमा रहेको नेपाल खाद्य संस्थानको १५ रोपनी जग्गामा कार्यालय भवन निर्माण थालिएको छ ।

भवन निर्माणसँगै अस्थायी संरचना पनि तयार गरेर भद्रकालीबाटै सेवा प्रवाह थाल्ने प्रहरीको योजना छ । प्रि–फ्याबबाट ती संरचना तयार हुने बताइएको छ ।

जग्गा खरिदका लागि सरकारले काठमाडौं प्रहरी परिसरलाई एक अर्ब २० करोड र महशाखालाई ६७ करोड निकासा गरेको थियो ।

पुलिस क्लब पनि नयाँ बनाइँदै

प्रदर्शनीमार्गमा रहेको नेपाल पुलिस क्लबमा अत्याधुनिक फिटनेश क्लब निर्माणको पनि प्रहरी महानिरीक्षक खनालले शिलान्यास गर्दैछन् । जसका लागि हाल रहेको महानगरीय प्रहरी घटना सहायता कार्यदल (नगर प्रहरी) को कार्यालयसहित कभड हल, ब्यारेक भवन, टेनिस कोर्ट र जलपान हल भत्काइने भएको छ ।

नयाँ संरचना २ वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको प्रहरी प्रधान कार्यालयले जनाएाके छ । भवन निर्माणको लागत ३० करोड हुने अनुमान गरिएको छ भने यो आर्थिक वर्षमा १२ करोड रुपैयाँ निकासा भइसकेको बताइएको छ ।

यो पनि पढ्नुस्
परिसर र महाशाखाको टकराव अन्त्य होला ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment