Comments Add Comment

५२ बर्षे अक्षयकुमारका २५ रोचक कुरा

खिलाडी ब्वाई अर्थात अक्षयकुमार । बलिउडमा उनी कसरी प्रवेश गरे ? कथा निकै रोचक छ । बलिउडको संघर्ष जति घतलाग्दो छ उत्तिकै रोचक छ उनको प्रेम जीवन पनि । एकसाथ तीन जना हिरोइनसँग प्रेम सम्बन्धमा रहेका अक्षय यतिबेला भने पारिवारिक जीवन विताइरहेका छन् । हिजो ९ सेप्टेम्बरमा उनले आफ्नो जन्मदिन मनाएका छन् । यसै मेसोमा अक्षयकुमारबारे रोचक जानकारी पेश गरिएको छ ।

– ९ सेप्टेम्बर १९६७ मा भारतको अमृतसरमा जन्मिएका अक्षय कुमारको वास्तविक नाम राजीव हरीओम भाटिया हो ।

-दिल्लीको चाँदनी चौकमा बाल्यकाल बिताएपछि अक्षय मुम्बई गए र डन बस्को स्कूल तथा गुरुनानक खालसा कलेजमा अध्ययन गरे ।

-अक्षय कुमार तेक्वान्दोमा ब्ल्याक बेल्ट हुन् ।

-मार्शल आर्टमा उनको गहिरो रुची छ । बैंकक उनी मार्शल आर्ट्स सिक्नका लागि गएका थिए । त्यो बेला फुर्सदको सदुपयोग गर्नका लागि उनले शेफ तथा वेटरको जागिर समेत खाए ।

-मुम्बई आएर अक्षयले मार्शल आर्ट्सको प्रशिक्षण दिन थाले । उनका एक विद्यार्थी (जो फोटोग्राफर थिए) ले अक्षयलाई उनी हेर्दा हेण्डसम भएकोले मोडलिङमा भाग्य परिक्षण गर्न आग्रह गरे ।

-मोडलिङमा अक्षयले चाँडै नै मौका पाए । मोडलिङका लागि उनले दुई दिनसम्म सुटिङ गरे । त्यसबापत उनले जति पैसा पाए, त्यो मार्शल आर्ट्स सिकाएर एक महिनामात्र कमाउँथे । त्यसपछि के चाखियो र, अक्षयलाई मोडलिङ र फिल्म क्षेत्र बढी मन पर्न थाल्यो ।

-अक्षयले मोडलिङका साथ-साथै फिल्म निर्माताहरुको अफिस समेत धाउन थाले । एक पटक उनी विज्ञापनको छायांकनका लागि बैंगलोर जानु पर्ने भयो, तर विमानस्थलमा उनको फ्लाइट छुट्यो । खालि भएको समयलाई उपयोग गर्नका लागि उनी पुनः एक जना निर्माताको अफिसमा गए र काम मागे । उनलाई त्यही साँझ नै प्रमोद चक्रवर्तीको फिल्म ‘दीदार’ मा अभिनेताको भूमिका मिल्यो ।

-अक्षय कुमारले महेश भट्टको फिल्म ‘आज’ (१९८७) मा एक मार्शल आर्ट प्रशिक्षकको सानो भूमिका निर्वाह गरेको थिए, त्यो जम्मा सात सेकेण्डको थियो ।

-जब अक्षय कुमारले राजेश खन्नाले ‘जय शिव शंकर’ शीर्षकको फिल्म बनाउन लागेको तथा एक जना युवा कलाकारको खोजि भैरहेको सुनें, उनी तुरुन्तै खन्नाको अफिस पुगे । दुई-तीनसम्म प्रतिक्षा गरे, तर राजेश खन्ना उनलाई भेट्दै नभेटि बाहिरिए । अक्षय कुमार सम्झन्छन्-एक दिन म राजेश खन्नाकै छोरीसंग विवाह गर्नेछु भन्ने मैले सपनामा समेत सोचेको थिइन ।

-मुख्य अभिनेताको रुपमा फिल्म सौगन्ध -१९९१) अक्षय कुमारको पहिलो पटक प्रदर्शन भएको फिल्म थियो ।

-अक्षय कुमारको खुट्टा बलिउडमा जमेपछि उनले एक-पछि अर्को गर्दै थुप्रै फिल्महरुबाट अभिनयको प्रस्तावहरु पाउन थाले । त्यसक्रममा उनले थुप्रै फिल्महरु साइन पनि गरे ।

सन् १९९४ मा त अवस्था कस्तो भयो भने अक्षय कुमारका चार-पाँच मात्र होइन ११ वटा फिल्महरु प्रदर्शन भए । ती फिल्महरु हुन् ऐलान, ये दिल्लगी, जय किशन, मोहरा, मैं खिलाडी तू अनाडी, इक्के पे इक्का, अमानत, सुहाग, जख्मी दिल, जालिम तथा हम हैं बेमिसाल । अक्षय तिब्र गतिमा काम गर्न मन पराउँछन् । यही कारणले अहिले पनि उनका वर्षको तीन-चार वटा फिल्महरु प्रदर्शन भैरहेका छन् ।

-अक्षय कुमार निकै खुला हृदयका छन् । पूजा वत्रा, रवीना टण्डन, शिल्पा शेट्टी जस्ता अभिनेत्रीहरुसंग उनले खुलेर रोमान्स गरे । त्यसपछि ट्वींकल खन्ना उनको जीवनमा आइन् । अक्षयले उनैसंग विवाह गरे ।

-विवाहपछि पनि अक्षयको नाम प्रियंका चोपडासंग जोडियो । दुबैले केही फिल्महरु संगै गरेका थिए । भनिन्छ, ट्वींकलले अक्षयलाई प्रियंकासँग कहिले पनि काम गर्ने छैनौं भनेकी थिइन् । ट्वींकलको कुरा अक्षयले आजसम्म मानिरहेका छन् ।

-खिलाडियों का खिलाडीमा जुन भूमिका रेखाले निर्वाह गरेकी थिइन्, त्यसलाई पहिला डिम्पल कपाडियालाई प्रस्ताव गरिएको थियो । समयको अभावले डिम्पलले उक्त फिल्म गर्न पाइनन् । उक्त फिल्ममा रेखा तथा अक्षयबीच एउटा हट गीत पनि छायांकन गरियो । अहिले आएर उक्त भूमिका डिम्पलले नगरेको राम्रै भयो भन्नेहरु प्रसस्त छन् ।

-डिम्पलको घरको अघिल्तिरबाट जब-जब अक्षय कुमार हिंड्छन्, उनी कारबाटै डिम्पललाई फोन गर्छन्, झ्यालमा आउन भन्छन् र कारमा बसि-बसी डिम्पललाई नमस्कार गरेर अघि बढ्छन् ।

-उनका आठ वटा फिल्महरुको नाममा ‘खिलाडी’ शब्द आएका छन् । त्यसैले अक्षय कुमारलाई खिलाडी कुमार पनि भनिन्छ । खिलाडी शब्द भएका अधिकांश फिल्महरु सफल भएका छन् । खिलाडी (१९९२), मैं खिलाडी तू अनाडी (१९९४), सबसे बडा खिलाडी (१९९५), खिलाडियों का खिलाडी -१९९६), मिस्टर एण्ड मिसेस खिलाडी (१९९७), इन्टरनेशनल खिलाडी -१९९९), खिलाडी ४२० (२०००) तथा खिलाडी ७८६  (२०१२) जस्ता खिलाडी शब्द भएका फिल्महरुमा उनले अभिनय गरेका छन् ।

-खिलाडियों का खिलाडीमा अक्षयको नामबाटै एउटा गीत तयार पारिएको छ, जसमा बिना कुनै गडफादर अथवा नातेदार बिना नै उनले बलिउडमा आफ्नो स्थान बनाए भनिएको छ । गीतको बोल छ-‘ना हम अमिताभ, ना दिलीप कुमार, ना किसी हीरो के बच्चे, हम हैं सीधे-सादे अक्षय-अक्षय…’।

-हेराफेरी (२०००) अक्षय कुमारको करियरको टर्निङ प्वाइन सावित भयो । उक्त समयमा एक्सन तथा फर्मूला फिल्महरुको प्रभाव कम भैरहेको थियो । सनी देओल, सुनील शेट्टी, गोविन्दा, अक्षय कुमार आदि अभिनेताको करियरमा ग्रहण लाग्ने सम्भावना थियो । तर, हेराफेरीमार्फत अक्षयले के कुरा प्रमाणित गरिदिए भने उनी राम्रो कमेडी पनि गर्न सक्छन् । त्यसपछि उनले थुप्रै हास्य प्रधान फिल्महरुमा अभिनय गरे ।

-अक्षय कुमार निकै अनुशासित तरिकाले जीवन बाँच्छन् । उनको सुत्ने र उठ्ने समय निश्चित छ । राती उनी ९ः३० बजे ओछ्यानमा पुगिसक्छन् र बिहान ४ बजे नै उठ्छन् । यदि राती सुत्न ढिला भयो भने पनि उनी बिहान ४ बजे नै उठ्छन् । त्यसैले उनी फिल्मी पार्टिहरुबाट टाढै रहन रुचाउँछन् । आफ्नो डाइटका बारेमा पनि उनी निकै सजग छन् ।

-बलिउडमा प्रायः मध्यान्हमा काम प्रारम्भ भएर मध्य रातसम्म काम गर्ने चलन छ, तर अक्षय कुमार यदि फिल्ममा छन् भने पुरै यूनिटले बिहानै काममा पुगिसक्नु पर्छ ।

-वर्षमा दुई पटक उनी घुम्न जान्छन् । एक पटक श्रीमती ट्वींकल, छोरा अराव तथा छोरी नितारासंग अनि अर्कोपटक अरावसंग । घुम्नका लागि प्रायः उनी त्यस्ता देशहरु छनोट गर्छन्, जहाँ उनलाई कसैले नचिनोस् । उनी त्यहाँ कारबाट घुमफिर गर्छन् । रोड साइड होटलहरुमा बस्छन् र जिन्दगीलाई नजिकबाट जान्ने प्रयास गर्छन् ।

-अक्षयकी छोरीको नाम नितारा हो, जो आफ्ना बुवालाई ‘अक्की बेटा’ भनेर बोलाउँछिन् । अरावको बारेमा अक्षय कुमारका ससुरा राजेश खन्नाले भविष्यवाणी गर्दै के भनेका छन् भने उनी सुपरस्टार बन्नेछन् ।

-अक्षय कुमार आफ्नो छोरा-छोरीलाई सञ्चारमाध्यमबाट टाढै राख्न मन पराउँछन् । उनको के मान्यता छ भने यसबाट उनीहरुको बाल्यकाल सामान्य नै रहने छ ।

-आउटडोर गेमहरु तथा स्टन्ट गर्न उनलाई निकै मनपर्छ । खिलाडियों का खिलाडीको छायांकनको क्रममा अक्षयले अन्डरटेक नामका रेस्लरलाई बोकेका थिए, जसका कारण उनको कम्मरको दुखाइको समस्या लामो समयसम्म रह्यो । आफ्नो यही स्वभावका कारण अक्षयले खतरों के खिलाडीः फियर फ्याक्टर नामक टेलिभिजन कार्यक्रमसंग आवद्ध हुन मन पराए र उक्त कार्यक्रम सञ्चालन समेत गरे ।

-महिलाहरुलाई उनी निकै नै इज्जत गर्छन् र उनीहरुलाई पुरुषहरुभन्दा शक्तिशाली मान्दछन् । शायद त्यसैले उनी आफ्नी आमा, बहिनी, श्रीमती, छोरी तथा सासुको निकै नजिक छन् ।

अक्षयकुमारको सरप्राइज

भारतमा वर्षका प्रमुख चाडपर्वहरु ईद, दीपावली तथा क्रिसमस हुन् । यी चाडपर्वमा प्रायः बलिउडका सुपरस्टाहरु आमिर खान, सलमान खान तथा शाहरुख खानका फिल्महरु प्रदर्शन हुने परम्परा छ । तर सन् २०२० मा यो परम्परा तोडिने निश्चित भएको छ । सन् २०२० का प्रमुख तीन वटा चाडहरुमा अक्षय कुमारले आफ्ना फिल्महरु प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

अक्षय कुमार यतिबेला धमाधम फिल्महरु साइन गरिरहेका छन् र प्रमुख रिलिज डेटहरु कब्जा गरिरहेका छन् । ईदमा सलमान खान, दीपावलीमा शाहरुख खान तथा क्रिसमसमा आमिर खानका फिल्महरु प्रदर्शन हुने परम्परा बसेको थियो, तर सन् २०२० मा अक्षयका फिल्महरु ती चाडहरुमा प्रदर्शन हुने भएका हुन् ।

सलमान खानको आगामी फिल्म ‘इन्शाल्लाह’ रोकिएपछि अक्षयको फिल्म ‘लक्ष्मी बम’ ईदको हप्ता अर्थात मे २२ का दिन प्रदर्शन हुने घोषणा गरिएको छ । अर्थात, सन् २०२० को ईदमा अक्षयको फिल्म प्रदर्शन हुनेछ । यसअघि क्रिसमसमा उनको फिल्म ‘बच्चन पाण्डे’ प्रदर्शन हुने घोषणा यसअघि नै गरिएको छ ।

हिजो अर्थात ९ सेप्टेम्बर अक्षय कुमारको जन्मदिन हो । यही दिन उनलाई लिएर यशराज फिल्म्सले ‘पृथ्वीराज’ बनाउने घोषणा गरिदिएको छ । यो फिल्म सन् २०२० को दीपावलीको अवसर पारेर नोभेम्बर १३ का दिन प्रदर्शन हुनेछ । दीपावलीकै अवसरमा अक्षय कुमारको ‘हाउसफुल-४’ पनि प्रदर्शन हुने छ ।

भारतको स्वतन्त्रता दिवसको अवसरमा पनि अक्षय कुमारकै फिल्म प्रदर्शन हुँदै आइरहेको छ । आगामी वर्ष पनि यो सम्भव देखिन्छ । किनभने अक्षय कुमारकै ‘सूर्यवंशी’ ले प्रदर्शन मिति खोजीरहेको छ । जसरी अक्षय कुमारका फिल्महरुले बक्स अफिसमा सफलता हासिल गरिरहेका छन्, शायद त्यसकै परिणाम हुनु पर्छ खानहरुको प्रदर्शन मितिमा अक्षयले कब्जा जमाएको ।

यसैबीच, अक्षय कुमारले आफ्नो ५२ औं जन्मदिनको अवसर पारेर नयाँ फिल्म ‘पृथ्वीराज चौहान’ को घोषणा गरेलगत्तै सामाजिक सञ्जालमा खुशीयाली छाएको छ । बलिउड सेलिब्रेटी तथा अक्षय कुमारका प्रशंसकहरु पृथ्वीराज चौहानप्रति निकै एक्साइडेट देखिएका छन् ।

निर्देशक कुणाल कोहलीले ट्वीटमार्फत अक्षय कुमारलाई जन्मदिनको शुभकामना दिँदै फिल्महरु छनोट गर्ने उनको शैलीले सबैलाई आश्चर्यमा पारेको उल्लेख गरेका छन् । अभिनेत्री तापसी पन्नूले पनि उत्कृष्ट निर्णय भन्दै ट्वीट गरेकी छिन् भने निर्देशक राहुल ढोलकियाले अहिले नै सन् २०२० को दीपावलीको शुभकामना भनेर लेखेका छन् ।

अक्षय कुमारका प्रशंसकहरु पनि जोशमा देखिएका छन् । उनीहरुले अक्षयको उक्त फिल्मका लागि खुशी व्यक्त गरेका छन् । अधिकांशले उक्त फिल्मको प्रतिक्षा रहेको लेखेका छन् ।

पृथ्वीराज चौहानलाई चाणक्य जस्तो ऐतिहासिक धारावाहिक बनाउने निर्देशक डा.चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्दैछन् । यो कारणले पनि यो फिल्मले उत्सुकता बढाएको हो । इतिहाससँग सम्बन्धित विषयहरुमा डा.द्विवेदीको पकड तथा अक्षय कुमारसँगको सहकार्यले फिल्म क्षेत्रमा एउटा नयाँ आयाम बन्ने अनुमान गरिएको छ । यो फिल्मको चर्चा निकै अघिदेखि गरिएको थियो । यद्यपि, अक्षय कुमारकै जन्मदिन ९ सेप्टेम्बरमा आएर यसको आधिकारिक घोषणा भएको छ । अक्षय कुमार यशराज फिल्म्सको ब्यानरमा निर्माण गरिने फिल्ममा यसै फिल्ममार्फत पहिलो पटक आवद्ध भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment