+
+

चितवन मेडिकल कलेजमा विद्यार्थी र प्रहरीबीच झडप

आन्दोलन फिर्ता लिन कलेज प्रशासनको आग्रह

सुवास पण्डित सुवास पण्डित
२०७६ भदौ २५ गते १०:५१

२५ भदौ, चितवन । भरतपुरको चितवन मेडिकल कलेज (सीएमसी) मा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार विहान झडप भएको छ । अस्पतालभित्र प्रवेश गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि झडप भएको हो ।

अस्पतालको सेवा प्रवाहमा नै अवरोध खडा गर्न खोजेपछि रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । अस्पताल भित्रबाट जान खोजेका आन्दोलनरत विद्यार्थीलाई प्रहरीले लखेटेर गेट बाहिर पुर्‍याएको थियो ।

उनीहरुलाई प्रहरीले लाठीचार्ज गरेको थियो । झडपमा केही विद्यार्थीहरु घाइतेसमेत भएका छन् । विद्यार्थीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

प्रहरीले आन्दोलनकारी १६ जना विद्यार्थीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरकारद्धारा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दसमेत छन् । उनकै अगुवाइमा यहाँ आन्दोलन हुँदै आएको छ ।

चितवन मेडिकल कलेजमा विभिन्न तहमा मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरु विभिन्न माग राखी विगत दुई सातादेखि आन्दोलनमा छन् । उनीहरुले कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको, सेवा सुविधा नदिएको जस्ता आरोप कलेज प्रशासनमाथि लगाएका छन् ।

यता कलेज प्रशासनले भने आन्दोलनका नाममा कलेजका प्रमुख सञ्चालक तथा अन्य सञ्चालकहरु माथि निम्नस्तरको गाली गलौज र धम्की दिने गरेको भन्दै आपत्ति जनाएको छ । कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले बुधबार विज्ञप्ती जारी आन्दोलनका नाममा स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालमा हुल हुज्जत गर्ने, सेवा प्रवाहमा बाधा व्यवधान खडा गर्ने जस्ता गैरकानुनी कामहरु रोकिनुपर्ने उल्लेख गरेका छन् ।

विज्ञप्तीमा सरकार र त्रिभुवन विश्वविद्यालयले बनाएका नीति निर्देशन र शुल्कलाई कलेजले पूर्णपालना गर्ने प्रतिवद्धता जनाइएको छ । कलेजसँग सम्बन्धित मागमा वार्ता र सम्वादबाट समस्याको समाधान निकाल्न तयार भएको विज्ञप्तीमा उल्लेख छ । विद्यार्थीहरुले उठाएका मागहरु कलेज प्रशासनभन्दा बढी सरकार र सरकारी निकायसँग सम्बन्धित भएको प्रमुख प्रशासक देवकोटाले बताए ।

यस्तो छ सीएमसीको विज्ञप्ति

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?