Comments Add Comment

डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकार जोन बोल्टन बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई बर्खास्त गरेका छन् । यसअघिका दुई सुरक्षा सल्लाहकारको वहिर्गमनपछि नियुक्त बोल्टनसँग आफ्नो असहमति रहेको भन्दै ट्रम्पले बर्खास्त गरेका हुन् ।

ट्रम्पको कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकारबाट असमयमै हट्ने बोल्टन तेस्रो व्यक्ति हुन् । यसअघि मिसेल फ्लाइन र एचआर एमसीमास्टरले ट्रम्पको सुरक्षा सल्लाहकारको भूमिका खेलेका थिए । तर, ट्रम्पसँगको असहमतिपछि उनीहरू छोटो समयमै बाहिरिएका थिए । सन् २०१८ को अप्रिलमा तेस्रो सुरक्षा सल्लाहकारका रूपमा प्रवेश पाएका बोल्टनलाई पनि ट्रम्पले आउट गरेपछि यसले तरंग ल्याएको छ ।

ट्रम्पले एक ट्विट गर्दै पदबाट राजीनामा दिन गरेको आग्रहअनुसार, जोनले मंगलबार राजीनामा दिएको उल्लेख गरेका छन् । ‘मैले जोनलाई राजीनामा दिन भनेको थिएँ । उनले मंगलबार बिहान मलाई राजीनामा बुझाएका छन्’, जोनले राजीनामा दिएको उल्लेख ट्रम्पले लेखेका छन् ।

यद्यपि, जोनले भने ट्रम्पले नभनीकनै आफूले पदबाट राजीनामा दिएको बताएका छन् । जोनले उपयुक्त समयमा आफ्ना भनाइ सार्वजनिक गर्ने पनि बताएका छन् ।

‘कसैले नभनीकनै मैले आफैंले राजीनामा दिएको हुँ । उपयुक्त समयमा यसबारे आफ्ना धारणा राख्नेछु’, पदबाट बर्खास्त गरेको ट्रम्पको भनाइप्रति लक्षित गर्दै उनले भनेका छन् ।

परराष्ट्रनीतिका विज्ञ बोल्टन ट्रम्पका तेस्रो सुरक्षा सल्लाहकार हुन् । मिसेल फ्लाइन र एचआर एमसीमास्टरले बिदा लिएपछि सन् २०१८ को अप्रिलमा बोल्टन सुरक्षा सल्लाहकारको रूपमा ह्वाइटहाउस छिरेका थिए ।

ट्रम्पले इनारविरुद्ध अपनाएको कडा रवैयाको प्रमुख योजनाकार यिनै बोल्टनलाई मानिन्छ । तेहरानका नेताहरूसँग ट्रम्पले भेटघाट गर्न चाहेकोमा उनले विरोध गरेका थिए । त्यस्तै, उत्तर कोरियासँग परमाणु निःशस्त्रीकरणसम्बन्धी शिखर वार्तामा सकारात्मक भूमिका नखेलेको आरोप अमेरिकी अधिकारीहरूले उनीमाथि लगाएका छन् ।

सुरुका दिनमा दुईबीच खासै विवाद नदेखिए पनि ट्रम्पका पछिल्ला विदेशनीतिप्रति उनी असहमत थिए ।

जोनको राजीनामापछि रिक्त सुरक्षा सल्लाहकारमा ट्रम्पले कसैलाई पनि नियुक्त गरेका छैनन् । ट्रम्पले अर्को सातासम्ममा नयाँ सुरक्षा सल्लाहकार नियुक्त गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment