Comments Add Comment

‘म्याराथन दौड’को उपाधि आरुघाटका गुरुङलाई

२५ भदौ, गोरखा । ‘लिगलिगकोट सिरानचोक गोरखा दरवार खुल्ला म्याराथन दौड’ प्रतियोगिताको उपाधि आरुघाट गाउँपालिका थुमीका भीमबहादुर गुरुङले जितेका छन् ।

पूर्व सैनिक गुरुङले ३ घण्टा १७ मिनेट २ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेर पहिलो भएका हुन् । १ सय १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका गुरुङले एक लाख ५० हजार नगद पुरस्कार पाएका छन् ।

प्रतियोगितामा रुकुमका दुर्गाराज बुढा दोस्रो भएका छन् । उनले ३ घण्टा १७ मिनेट ४५ सेकेण्डमा निर्धारित दूरी पार गरेका हुन् । उनले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । ३ घण्टा ३० मिनेट २ सेकेण्डमा निर्धारित दुरी पार गर्दै रणवम दल गणका सविन तामाङ तेस्रो भए । उनले ५० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगितामा दशौं स्थानसम्म हासिल गर्ने सहभागीलाई पुरस्कार वितरण गरिएको छ । पालुङटार नगरपालिकाको लिगलिगकोटबाट शुरु भएको दौड सिरानचोक गाउँपालिकाको हर्मी, सिरानचोक हुँदै गोरखा नगरपालिकाको गोरखा दरबार पुगेर टुंगिएको हो ।

नेपाली सेना, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाले प्रतियोगिता आयोजना गरेका हुन् । नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गर्दै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताबाट नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० को कार्यक्रमलाई पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

के भन्छन् उपाधि बिजेता गुरुङ

‘नेपाल एकीकरणको उद्गम थलो लिगलिगकोटदेखि पृथ्वीनारायण शाहले राज्य गरेको गोरखा दरवारसम्मको यो दौडमा सहभागी हुन पाउँदा म निकै खुशी छु । म दशौं स्थानसम्म आउँछु होला भन्ने सोचेको थिएँ तर पहिलो नै भए ।

प्राय विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै आएको थिएँ आज नेपाली खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न पाउँदा अर्काे नयाँ अनुभव भयो । हाल म विदेशमै बस्छु । केही समयअघि मात्र नेपाल आएको हुँ । मैले १७ बर्ष नेपाली सेनामा जागिर खाएँ । दौडमा सहभागी भएर सय भन्दा बढी स्वर्ण पदक जितिसकेको छु ।

अन्तर्राष्ट्रिय स्तरमा पनि थुप्रै पदक पाए । तर नेपाली सेनाले मलाई मिडियामा आउन पनि दिएन र मैले पाउने सुविधा पनि दिएन । अनि जागिर छाडेर म विदेश गएँ । अहिले विदेशीको स्पोन्सरमा उतै तालिम गरिरहेको छु । विभिन्न प्रतियोगितामा सहभागी हुन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment