+
+
Shares

पूर्वाधारमा लगानी गर्न निजी क्षेत्र अझै सक्षम छैन : बाबुराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २५ गते १५:००

२५ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको निजी क्षेत्र पूर्वाधारमा लगानी गर्न अझै सक्षम नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा सुरु भएको नेपाल पूर्वाधार सम्मेलनमा उनले पूर्वाधारमा सरकारले नै लगानी गर्नुपर्ने बताए ।

‘हामीले सुरुङमार्ग बनाउन निजी क्षेत्रलाई दिएका हौं, तर त्यो बन्न सकेन,’ उनले भने, ‘यसले हाम्रो निजी क्षेत्र अहिले पूर्वाधार परियोजनामा लगानी गर्नसक्ने अवस्थामा नपुगेको देखाउँछ ।’

सरकारले पूर्वाधारमा लगानी गरेपछि निजी क्षेत्रले वस्तु र सेवा उत्पादन गरेर राजस्व वृद्धिको आधार बनाउनुपर्ने उनको भनाइ छ । ‘बजारको निर्माण गर्न सडक सञ्जालमा सरकारले लगानी गरिदिएपछि निजी क्षेत्रले वस्तु र सेवाको उत्पादन गरेर राजश्व बढाउने आधार तयार गरिदिनुपर्छ ।’

निजी क्षेत्रले अहिले ऊर्जामा लगानी बढाउनु फाइदाजनक हुने उनले बताए । भारत, चीन, भुटान र बंगलादेशसम्म नेपालको विजुली बिक्री गर्न सकिने भन्दै भट्टराईले ऊर्जामा लगानी गर्न आग्रह गरे ।

नेता भट्टराईले अहिले पनि निर्वाहमुखी कृषिमा आधारित अर्थतन्त्रलाई उद्योग र सेवा व्यवसायमा आधारित बनाउन सरकारले पूर्वाधार निर्माण र बजारीकरणको विकासमा काम गर्नुपर्ने बताए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा निजी क्षेत्रले लगानी साझेदारी गर्नसक्ने भन्दै उनले द्रुतमार्गसँग जोडेर विमानस्थलमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

काठमाडौंमा केन्द्रित सहरीकरणलाई विकेन्द्रित गरी मधेसमा विस्तार गर्नुपर्ने भट्टराईले बताए । तराइमा निर्माणाधीन हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माण गर्ने र कोशी, गण्डकी र कर्णाली नदी किनारमा उत्तर दक्षिण राजमार्ग निर्माण गर्न सरकारले प्राथमिकता दिनुपर्ने उनको धारणा छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले लगानीको वातावरण बनाउन सरकारले श्रम ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनलगायत थुप्रै कानूनी सुधार गरेर लगानीको वातारण सुधार्न प्रयास गरेको बताए ।

व्यवसायको वातावरण सुधार गर्न नीतिगत र प्रक्रियागत सुधारमा लागिएको उनले बताए । भारत, चीन, अमेरिका, नर्वेजस्ता मुलुकका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको र अरु मुलुकका लगानीकर्तासँग पनि निरन्तर परियोजनाबारे छलफलमा आइरहेको कँडेलको भनाइ छ ।

कार्यक्रममा एसियाली विकास बैंकका महानिर्देशक वूचोङ उमले संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्य र नेपालले समृद्धि लक्ष्यलाई जोड्न समुदायमा आधारित पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए ।

ज्ञान, सीप, पैसा र प्रविधि लगानी गर्न सरकार र निजी क्षेत्रले सामूहिक प्रयास गर्नसक्ने उनको भनाइ थियो । नविन प्रविधिको उत्पादन र उपयोग गर्नुका साथै यातायात पूर्वाधार र शैक्षिक क्षेत्रमा लगानी बढाउन उमले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?