Comments Add Comment

बालगोपालेश्वर मन्दिर तिहारअघि खुलाउने तयारी

कोशिस गरेका छौं तर गाह्रो छ : इन्जिनियर श्रेष्ठ

२५ भदौ, काठमाडौं । रानीपोखरीभित्र रहेको बालगोपालेश्वरको मन्दिर तिहारअघि खुलाउने तयारी गरिएको छ । भूकम्पले भत्काएको मन्दिरको पुनर्निर्माण तिहारअघि नै सम्पन्न गर्ने गरी काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले तिहारअघि पुनर्निर्माणको काम सकेर भाइटीकासम्म मन्दिर खुला हुनेमा आशावादी रहेको बताए । ‘तिहारअघि रानीपोखरीको काम पूरा गर्न नसके पनि मन्दिरको काम सक्नेतर्फ हामी लागिरहेका छौ ,’ उनले भने ।

निर्माण कम्पनीले भने तिहारअघि मन्दिर खुलाउन सकिने अवस्था नरहेको बताएको छ । मन्दिर जाने पुल भत्काएर नयाँ पर्खाल लगाउन मात्रै २ महिना लाग्ने भएकोले तिहारअघि मन्दिर पुनर्निर्माण नसकिने कम्पनीको भनाइ छ ।

मन्दिरको जग भत्काउने पुरै काम बाँकी नै छ । पुलको भत्काएर नयाँ गारो लगाउन सुरु गरिएको छ ।

तिहार अघिसम्म मन्दिरको १ तलासम्म बनाइसकिने र पुलको काम आधा जस्तो सकिने सीए तुलसी कन्ट्रक्सनका साइट इन्जिनियर सनम श्रेष्ठले बताए ।

‘तिहार आउन धेरै समय छैन हामीलाई तिहार अघिसम्म बालगोपालेश्वर मन्दिर बनाइसक्नु भनेर भनिएको छ तर घर बनाएको जस्तो हुँदैन मन्दिर बनाउन । यहाँ अब कहिले निर्माण सामग्री अभाव भइरहन्छ , तिहारअघि कोशिस गर्छौ तर सकिदैन होला,’ उनले भने ।

पुलमा पनि प्रताव मल्लकै पालाको इँटा

भत्काएर नयाँ बनाउन लागिएको पुलको जगमा प्रताव मल्लकै पालाको इँटा प्रयोग गरिएको छ । बलियो हुने भन्दै पुरानो इँटा प्रयोग गरिएको हो ।

यसअघि मन्दिर पुनर्निर्माणका क्रममा मूल मन्दिर वरिपरि राखिएको क्रंकिटको टाइबीम फुटाएर फलामे रड निकालिएको थियो ।

पुरानो सरंचनालाई हटाएर मुल मन्दिर वरिपरिको प्यासेज चुनासुर्की प्रयोग गरी पर्खाल लगाउने काम पनि भइरहेको छ ।

सीए तुलसी कन्ट्रक्सनले ०७७ वैशाख महिनासम्म निर्माण पूरा गर्ने गरी मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माणको ठेक्का पाएको थियो ।

रानीपोखरीको काम भने उपभोक्ता समितिमार्फत भइरहेको छ । पोखरी पुनर्निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको रानीपोखरी सहजीकरण समितिले जनाएकेा छ ।

२०७२ सालको भूकम्पले क्षती पुर्‍याएपछि रानीपोखरी र परिसरका संरचनाको पुनर्निर्माण गर्न थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment