Comments Add Comment

झाँक्रीले ब्लेडले चिरिदिए जण्डिसका बिरामीको पेट

२५ भदौ, धादिङ । जण्डिसले थलिएका बिरामीको तान्त्रिक विधिबाट उपचार गराएर निको पारिदिने भन्दै झाँक्रीले व्लेडले पेट चिरिदिंदा विरामी मरणासन्न अवस्थामा पुगेका छन् ।

धादिङको जिल्ला सदरमुकाम धादिङबेसी शान्तवजार बस्ने गजबहादुर लामाले नीलकण्ठ नगरपालिका वडा नम्बर ९ झगरेका राजु मगरको जण्डिसको उपचार गराइदिने भन्दै भदौ १५ गते लामाले आफ्नै घरमा व्लेडले पेट चिरिदिएको परिवारका सदस्यको भनाइ छ ।

आफूलाई तान्त्रिक लामा गुरु बताउने गजबहादुर सदरमुकामर शान्त बजारका स्थायी वासिन्दा हुन् ।

मगर दुई महिनादेखि जण्डिसले थलिएका थिए । जिल्ला अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका मगर अहिले बोल्न नसक्ने अवस्थामा पुगेका छन् ।

श्रीमानलाई लिएर झाँक्रीकोमा गएकोमा आफूलाई बाहिरै राखेर ब्लेडले पेटमा चिरेर श्रीमानलाई झनै विरामी बनाइदिएको राजुकी श्रीमती विमला बताउँछिन् ।

झाँक्रीले पेटमा प्वाल पारिदिएपछि मगरलाई उपचारका लागि काठमाण्डौंको नयाँ वजारमा रहेको पिपुल मेडिकल कलेजमा लगिएको थियो । तर, अरुले बनाइदिएको घाउ आफूले नहर्ने भन्दै पेटमा जमेको पानी निकालिदिएर अस्पतालले बिरामीलाई शिक्षण अस्पताल जान भनेको थियो ।

तर, आफन्तले अहिले उनलाई जिल्ला अस्पताल धादिङमा ल्याएर भर्ना गरेको बताएका छन् ।

तान्त्रिक विधिद्धारा उपचार गराउने भन्दै लामाले पटक पटक विवादित कार्य गदै आइरहेका छन् । यसअघि पनि उनी बोक्सी झार्न भन्दै विरामीको गालामा तातो पन्युँले डाम्ने जस्ता घटनामा गराएर विवादमा आएको अधिकारकर्मी अधिवक्ता राधिका सापकोटाको भनाइ छ ।

बिरामीको अवस्था जटिल बन्दै गएपछि राजुका आफन्तले कानूनी उपचारको बाटो खोजी गरेका छन । लामालाई पक्राउ गरी कारवाही गर्न उनीहरुले प्रहरीसमक्ष लिखित अनुरोध गरेका छन् ।

धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले घटनाको अनुसन्धान गरी दोषीमाथि कारवाही हुने बताएका छन् ।

तस्वीर– केशव अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment