Comments Add Comment

जानकी मन्दिर परिसरको पर्खाल भत्काएर सडक विस्तार

२६ भदौ, जनकपुरधाम । जनकपुरमा जानकी मन्दिर परिसरको पर्खाल भत्काएर सडक विस्तारको काम शुरु गरेपछि स्थानीय वासिन्दा आक्रोशित भएका छन् ।

जानकी मन्दिरको पूर्वपट्टिको पर्खाल भत्काएर सडक विस्तारको काम अगाडि बढाइएको छ । यसअघि विवादका कारण विस्तार हुन नसकेको उक्त सडकको काम जनकपुरधाम उप–महानगरपालिकाले मन्दिरको पर्खाल भत्काएर गर्न शुरु गरेको छ । पर्खाल भत्काएर मन्दिरको जग्गासमेत सडक निर्माणमा प्रयोग गरिएको छ ।

एशियाली विकास बैंकको सहयोगमा एकीकृत विकास परियोजना अन्तर्गत जनकपुरमा सडक विस्तार गर्ने काम भइरहेको छ । यस अन्तर्गत अन्य ठाउँहरुमा सडक विस्तार गरिए पनि जानकी मन्दिरको पूर्वपट्टि मन्दिरको पर्खाल रहेका कारणसडकको विस्तार हुन सकेको थिएन । स्थानीय वासिन्दाले विश्व सम्पदा सूचीमा पर्न लागेको मन्दिरको पर्खाल नभत्काउन लगातार बिरोध गर्दै आए पनि नगरपालिकाले भत्काएर सडक निर्माण शुरु गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाले मन्दिरको पूर्वतर्फको सडक ९ मिटर फराकिलो बनाउने मापदण्ड निर्धारण गर्दै सडकको दुबैतर्फ ३÷३ फिट जग्गा अधिग्रहण गरिएको छ । जसअनुसार ३ फिट मन्दिरको जग्गा सडकमा प्रयोग गरिएको छ ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामनरेश दासले यसअघि मन्दिरको पर्खाल नभत्काउन सहमति भएको बताए । ‘मन्दिर नभत्काउन यहाँका मेयर लालकिशोर साहज्यूसँग आग्रह गरेपछि तत्कालका लागि नभत्काउने सहमति भएको थियो’ दासले भने, ‘यसपछि कसरी काम शुरु भयो, त्यसबारे मलाई जानकारी छैन ।’

पछिल्लो पटक मेयर साहले कति दिन यत्तिकै रहन्छ भनेपछि आफूले स्थानीयसँग छलफल गर्न सुझाव दिएको दासले बताए । ‘म निर्णायक व्यक्ति होइन, यसैले स्थानीय अगुवाहरुसँग छलफल गर्न मेयरलाई सल्लाह दिएँ’ दासले भने, ‘उहाँले गर्नुभयो कि भएन त्यसबारे मलाई जानकारी भएन ।’

यता स्थानीय वासिन्दाले मन्दिरको जग्गा सडकमा मिसाइएपछि विश्व सम्पदाको सूचीमा पर्न समस्या हुने भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सडक विस्तार गर्ने नाममा धार्मिक एवं सांस्कृतिक महत्वको जानकारी मन्दिर परिसरको जग्गा अतिक्रमण गर्ने प्रयास भएको बताउँदै स्थानीय युवा सरोज मिश्रले यसबिरुद्व अदालत समेत जाने बताएका छन् ।

स्थानीयले सडकको अर्काेतर्फको जग्गा दिन व्यापारीहरु तयार भए पनि त्यसतर्फ उपमहानगरपालिकाले चासो नदिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment