Comments Add Comment

सन्नीले भनिन्–‘नेपाल विश्वकै सुन्दर देश’

नायिका सन्नी लियोनीलाई नेपाललाई विश्वकै सुन्दर देश भनेकी छिन् । चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन आज नेपाल आएकी सन्नीले नेपाल आउन पाउँदा आफू सधै नै उत्साहित हुने बताइन् । काठमाण्डौको कुमारी हलमा आयोजना भएको चलचित्रको प्रिमियरमा सहभागी हुन पुगेकी सन्नीले नेपाली चलचित्रमा आइटम नृत्य गर्न पाउँदा पनि खुशी व्यक्त गरिन् । सन्नीले भनिन्–‘विश्वकै सबैभन्दा सुन्दर देशमा उपस्थित हुन पाउँदा आनन्दित महशुश भएको छ । यस्तै, मलाई यो निकै नै उत्साहजनक समयमा सहभागी हुन पाउँदा खुशी लागेको छ ।’

चलचित्र ‘पासवर्ड’मा समावेश गरिएको ‘सन्नी हो मेरो नाम’ बोलको गीतमा उनले आइटम नृत्य गरेकी छिन् । सो गीतमा नृत्य गर्न पाउँदा आफू निकै नै खुशी भएको पनि उनले सुनाइन् । सन्नीले यो गीत आफूले कैयौ पटक सुनेको समेत सुनाइन् । सन्नी आज नेपाल आएकी हुन् । उनी भोली भारत फर्किनेछिन् । बेलुकी ६ बजे निमन्त्रणा गरिएको चलचित्रको प्रिमियर शोमा सन्नी करिब २ घन्टा ढिलो उपस्थित भएकी थिइन् ।

चलचित्रको प्रिमियरमा शोमा सहभागी हुन चलचित्रका मुख्य नायक विक्रम जोशी, अनुप विक्रम शाही कुमारी हलमा उपस्थित थिए । यस्तै, नायक भूवन केसी, निर्देशक दीपाश्री निरौला पनि हलमा पुगेका थिए । सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्र भोलीदेखि नेपालभर रिलिज हुँदैछ । यो चलचित्रको अधिकांश दृश्यको छायांकन लण्डनमा गरिएको छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment