Comments Add Comment

इन्द्रजात्रामा राष्ट्रपति आउनुपूर्व बसन्तपुरबाट २४८ थान कालो टिसर्ट बरामद

Photo Credit : बसन्तपुरमा इन्द्रजात्रा हेर्न भेला भएकाहरु ।

२७ भदौ, काठमाडौं । प्रहरीले बसन्तपुर क्षेत्रबाट पक्राउ परेकाहरु विरोध प्रदर्शन गर्ने तयारीमा रहेको बताएको छ । इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुर आउने समयअघि प्रदर्शन गर्न लागेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।  राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नाममा प्रदर्शन गर्न लागेकाहरु पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुबाट प्रहरीले २ सय ४८ वटा कालो रङको टिसर्ट र ब्यानर बरामद गरेको छ । टिसर्टमा नेवारी भाषामा विभिन्न नारासमेत लेखिएको छ ।

प्रहरीले राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिमा आवद्ध ललितपुर गोदावरी ५ का नारायण अर्याल, काठडमाडौं महानगरपालिका २१ का रघुराज राजभण्डारी, सुवास राजभण्डारी, काठमाडौं महानगरपालिका २० का सुनील लामालगायतलाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा नेपाल प्रहरीका पूर्व डीआईजी र नेपाली सेनाका पूर्वसमेजरसमेत रहेका छन् ।

काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले इन्द्रजात्राको समयमा विरोध प्रदर्शन गर्ने योजना बनाइरहेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘योजना बनाउँदै गर्दा सेनाका पूर्वमेजर पनि समातिएका छन् ।’ यद्यपि, उनले मेजरको नाम भने खुलाएनन् ।

अहिले वसन्तपुरमै भएकाले पक्राउ पर्नेको यकिन संख्या पनि खुलिनसकेको उनले बताए । उनले भने, ‘उनीहरु व्यवस्थाविरुद्ध नै नारावाजी गर्ने योजनामा थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment