Comments Add Comment

५ देशबाट आएका पाहुनाले गरे इन्द्रजात्रा अवलोकन

२७ भदौ, काठमाडौं । काठमाडौंको परम्परागत पर्व इन्द्रजात्रामा पहिलोपटक विदेशी पाहुनाहरु सहभागी भएका छन् । काठमाडौं महानगरपालिकाको निम्तोमा आएका ५ देशका पाहुनाले इन्द्रजात्रा अवलोकन गरेका हुन् ।

उनीहरुले शुक्रबार पदयात्रा गरी काठमाडौंको पुरानो भित्री शहरका विभिन्न स्थानहरू भ्रमणसमेत गरे । पदयात्रा अघि उनीहरूलाई हनुमानढोका दरवार क्षेत्रमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत विभिन्न पदाधिकारीहरूले स्वागत गरेका थिए ।

अवलोकन भ्रमणमा चीनको लान्जाउ सिटीका मेयर जियाङ सियावहोङ, भूटानको थिम्पू नगरका मेयर किन्ले दोर्जीलगायत चीन, भारत, अमेरिका, भूटान र जापानका दश शहरबाट नेपाल आएका पदाधिकारीहरू सहभागी थिए । भारतको नर्थ दिल्ली नगरपालिकाका मेयर सरदार अवतार सिंह भने शुक्रबारै नेपाल आएका कारण पछि मात्रै सहभागी थिए ।

त्यस्तै चीनको ल्हासाका मेयर गुहेओ गुहेओ पनि दूतावाससँगको विशेष छलफलमा सहभागी भएका कारण भ्रमणमा सहभागी भएनन् । त्यस्तै बंगलादेशको दक्षिणी ढाका नगरपालिकाका मेयर मोहम्मद सयीद खोकनले आफू डेंगु विमारीका कारण आउन नसकेको भन्दै सन्देश पठाएका थिए ।

काठमाडौंको हनुमानढोका दरवार क्षेत्रबाट शुरु भएको उक्त अवलोकन पदयात्रा काठमाडौंको पुरानो झोछेँ टोल हुँदै नःबही, मञ्जुश्रीनक महाविहार (बिकमा बहाः), थानबहाः, भिमसेनको मन्दिर, काष्ठमण्डप, सिँल्यं सतः, माजु देगः, मरु देगः, मरुहिटी, यट्खा बहाः, इतुम्बहाः, जनबहाः, आकाश भैरव, स्वेत भैरव हुँदै हनुमानढोका दरवार क्षेत्रमा टुंगिएको थियो ।

पदयात्राका क्रममा पाहुनाहरुको स्वागतका लागि अघि–अघि परम्परागत धिमे बाजा र धुन्याको समेत व्यवस्था गरिएको थियो । विदेशी पाहुनाहरूको उक्त पदयात्रालाई विभिन्न ठाउँमा स्थानीयले सगुन, फूल, अक्षता र टीका प्रदान गरी स्वागत गरे । विभिन्न ठाउँमा स्थानीय परम्परा अनुसार स्वागत गरिएको थियो । सोही अवसरमा काठमाडौँका मेयर, उपमेयरसहित विदेशी पाहुनाहरुले हनुमानढोका दरवार परिसरमा नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौं जिल्लाशाखाद्वारा आयोजित इन्द्रजात्रा फोटो प्रदर्शनीको संयुक्त उद्घाटन गरे ।

भिजिट नेपाल–२०२० लाई समेत ध्यानमा राखी काठमाडौं महानगरपालिकाले इन्द्रजात्राको अवसर पारेर विदेशी पाहुनालाई पहिलो पटक औपचारिक रुपमा निमन्त्रणा गरेको हो । मेयर शाक्यले उनीहरुलाई साथमै लिएर काठमाडौं शहर निर्माणको वास्तुशैली, संस्कृति र मौलिक सामाजिक जीवन समेत विश्वका सामू प्रदर्शन गर्ने अवसर मिलेको भन्दै खुशी व्यक्त गरे ।

अवलोकन भ्रमणमा सहभागी भएका थिम्पूका मेयर किन्ले दोर्जीले काठमाडौंमा आफूलाई आध्यात्मिक भावना उत्पन्न भएको प्रतिक्रिया दिए । उनले भने, ‘म आफू पनि बौद्धमार्गी भएकोले होला, बहालहरूमा पुग्दा मलाई अत्यन्तै आत्मिक महसुस भयो ।’

अमेरिकाको बोल्डर नगरबाट आएका प्रतिनिधि रोनाल्ड एडवार्ड पेरिजले अवलोकनबाट आफूले धेरै नै जानकारीहरू प्राप्त गरेकोले हिँडेको पत्तै नभएको बताए । ‘करीब तीन घण्टा हिँडेको त मैले चालै पाइन,’ उनले भने ।

हनुमानढोका दरवार क्षेत्रमा आयोजित फोटो प्रदर्शनीमा राखिएको तस्वीरमा भीड देखेपछि जापानको मात्सुमोटो सिटीबाट आएका प्रतिनिधि माकोतो सोनेराले जात्रामा पनि यति धेरै मान्छेहरू आउँछन् र भनी आश्चय प्रकट गरे । अवलोकन गरिएका विभिन्न बहाःबहीहरूमा राखिएका काठका झ्यालका कलात्मक बुट्टाहरू हातैले कुँदेका हुन् र ? भनी विभिन्न प्रतिनिधिहरूले ठाउँ ठाउँमा आफ्ना सहयोगीहरूलाई सोधेका थिए ।

काठमाडौंका मेयर शाक्यले विदेशी पाहुनाहरूले अवलोकन भ्रमणलाई अत्यन्त सकारात्मक रुपमा लिएकोले यसबाट देशविदेशमा नेपाल चिनाउन सहयोग मिल्ने बताए ।

चीनको लाञ्चाउबाट कमिटि अफ द सिपिपिसिसिका उपाध्यक्ष ज्याङ् सिओहाङ्, चीनको सियान, छेन्दु, सेञ्जेन र नान्जिन, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरका ४ मेयरसहित ४१ जना इन्द्रजात्रा अवलोकनका लागि नेपाल आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment