Comments Add Comment

लुक्ला हवाई दुर्घटनाको मुख्य कारण मानवीय त्रुटि

२७ भदौ, काठमाडौं । नयाँ वर्षकै दिन तीन जनाको मृत्यु हुने गरी लुक्लामा भएको हवाइजहाज दुर्घटना मानवीय त्रुटिका कारण भएको पाइएको छ ।

छानविन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा पाइलटले समयमै उचित निर्णय लिन नसक्दा जहाज दुर्घटना भएको उल्लेख छ । जहाजका दुबै इन्जिन कन्ट्रोल गर्ने ‘पावर लिभर’लाई सही तरिकाले उपयोग गर्न नसक्दा जहाज दायाँतर्फ मोडिएको र पाइलटले त्यसलाई सच्याउने निर्णय लिनु अगाडि नै जहाज दुर्घटनामा परेको छानविन आयोगको निष्कर्ष रहेको छ ।

मन्त्रालयस्रोतका अनुसार जहाज, इन्जिन तथा अन्य सबै अवस्था सही थियो । कुनै पनि उपकरणमा खराबी थिएन । पावर लिभर नामक उपकरणका माध्यमबाट दुबै इन्जिनलाई कन्ट्रोल गरिन्छ । कारणवशः यसले दुबै इन्जिनमा काम नगर्दा जहाज दायाँतर्फ मोडिएको थियो । त्यसको दुई/तीन सेकेन्डमै दुर्घटना भयो । यदि फराकिलो धावनमार्ग भएको भए या भिरालो संरचना नभएको भए पनि पाइलटसँग जहाज नियन्त्रणमा लिनसक्ने समय हुने र जहाज दुर्घटना हुने सम्भावना टर्ने सम्भावना रहेको आयोगको निष्कर्ष रहेको छ ।

१ वैशाख २०७६ मा भएको समिट एयरको (एन–एएमएच, एलइटी–४१) वायुयान दुर्घटनामा दुई प्रहरी र को–पाइलटको मृत्यु भएको थियो । लुक्ला विमानस्थलबाट काठमाडौं उड्ने तयारीमा रहेको जहाज धावनमार्गमा चिप्लिएपछि ग्राउण्डमा रहेका प्रहरी असई रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठलाई किचेको थियो भने समिटकै को–पाइलट सुदीप ढुंगानाको निधन भएको थियो । धावनमार्गबाट चिप्लएको जहाजले मनाङ एयरको हेलिकोप्टरलाई किचेको थियो ।

दूर्घटनापछि सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानविन आयोग गठन गरेको थियो । प्रारम्भिक प्रतिवेदनलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्ड तथा नेपालको प्रचलित कानून बमोजिम सम्बन्धित मुलुक तथा निकायमा पठाएर ६० दिनसम्म राय सुझाव लिने र त्यसका आधारमा अन्तिम प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रालयले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment