Comments Add Comment

डाक्टर भन्छन् – सरकारले चाहँदैमा डेंगु नियन्त्रण हुँदैन

डेंगु फैलनुमा संघीयतालाई दोष ! कहाँ चुक्यो सरकार ?

२६ भदौ, काठमाडौं । गत जेठमा धरानबाट फैलिएको डेंगु तीन महिनामा देशका ५६ जिल्लामा फैलियो ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार अहिले देशभर ५ हजार ९५ जना भन्दा बढीलाई डेंगुको संक्रमण देखिएको छ । ६ जनाले डेंगुकै कारण ज्यान गुमाइसकेका छन् । प्रश्न उब्जिएको छ, आखिर सरकारी संयन्त्रहरु डेंगुको नियन्त्रणमा किन सफल हुन सकेका छैनन् र डेंगु झन् झन् फैलिइरहेको छ ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनको भाषामा भन्नु पर्दा डेंगुले अहिले महामारीको रुप लिएको छ, यो नियन्त्रण बाहिर गइसकेता पनि ज्यान नै लिने डरलाग्दो प्रकोप भने होइन ।

डेंगु ज्यान नै लिने डरलाग्दो प्रकोप नभएता पनि शंकाकै भरमा सद्दे मानिसहरु पनि अस्पताल पुगेका छन् । डेंगुको डर डरलाग्दोसँग फैलिएको अस्पताल प्रांगणमा भेटिएका मानिसहरुको कुरा सुन्दा स्पष्ट हुन्छ ।

‘मानिसहरु किन डराएर अस्पताल पुगेका छन् त ?’

डाक्टर पुन यसलाई ‘फोबिया’ मान्छन् । गत असारमा सिरिञ्ज आक्रमणको जस्तै ‘डेंगु फोबिया’ फैलिएको कारण अस्पताल पुग्नेको भिड बढेको उनको अनुभव छ । बुधबार मात्र डा. पुनले यस्ता धेरै बिरामी भेटे, जो डेंगुको डरका कारण मानसिक रुपमा विक्षिप्त भइसकेका थिए ।

‘डाक्टर सा’ब अब म मर्छु हो ?’

‘मैले धेरैलाई डेंगु सार्छु हो ?’

‘डेंगु लागेको मानिस अरु मानिस छेउमा जानुहुन्न रे हो ?’

डाक्टर पुन यस्ता प्रश्न हरेक दिन सामना गर्छन् ।

यस्ता प्रश्न गर्ने बिरामीको संख्या घट्नुको सट्टा दिनदिनै बढिरहेको छ ।

डेंगु हुदाँ आफुखुशी ‘एण्टिबायोटिक’ सेवन गरेर झनै थला परेर आउने बिरामीको संख्या पनि उस्तै छ ।

बुधबार डाक्टर पुनकहाँ जँचाउन एकजना महिला अस्पताल पुगिन् । ती महिलाले डा. पुनलाई सुनाएअनुसार उनका छोरालाई स्कुल जादाँ डेंगु लागेको भनेर दुर्व्यवहार भएछ । साथीहरुले छैउमै बस्न दिएनछन् । तर, अस्पतालमा जाँचपछि थाहा भयो ती बालकलाई सामान्य ज्वरो मात्र आएको रहेछ ।

यी र यस्ता उदारण डा. पुनसँग कयौँ छन् । जसको समबन्ध सिधै मानिसको चेतना र डरसँग जोडिन्छ।

‘डेंगुका बारेमा जनतामा वा सरकारमा सामान्य चेतना भएको भए यसरी डेंगुको महामारी नै फैलिन्नथ्यो’ डा पुन भन्छन्, ‘अब त धेरै ढिला भइसक्यो, सरकारले चाहेर मात्रै डेंगुको प्रकोप नियन्त्रण गर्नै सक्दैन ।’

गत जेठमा धरानबाट डेंगु फैलन सुरु गर्दै गर्दा डाक्टर पुनले लेखेका थिए, ‘काठमाडौँ अरु शहरभन्दा घना र फोहोर बढी भएकाले यहाँ डेंगु फैलने खतरा छ । अहिल्यैदेखि पूर्वतयारी गरिएन भने पछि डेंगुको महामारी रोक्न सकिन्न। ’

डेंगु फैलने जान्दाजान्दै कहाँ चुक्यौँ त हामी ?

डेंगुको खतरा छ भन्ने जान्दाजान्दै सरकारले बेवास्ता गर्नु नै मुख्य कमजोरी रहेको डा. पुन बताउँछन् । सरकारले त्यहीबेलादेखि पूर्वतयारी र जनचेतना फैलाउन सकेको भए अहिले यो अवस्था देख्नु नपर्ने उनको कथन छ ।

के गर्न सक्थ्यो त सरकारले ?

‘डेंगु लाग्ने लामखुट्टे कस्तो हो ? कस्तो ठाउँमा बस्छ ? कसरी नष्ट गर्न सकिन्छ भन्ने जस्ता सामान्य कुराहरु स्वास्थ्यकर्मी परिचालन गरेर टोलटोलमा जनचेतना दिएको भए पुग्थ्यो’ डाक्टर पुन भन्छन्, ‘अहिले पनि सरकारले गर्नुपर्ने काम गरेकै छैन। सडकमा ‘फगर मेसिन’ लगाएर डेंगु सार्ने लामखुट्टे नष्ट हुँदैन । ‘सर्च एण्ड डिस्ट्रोय’ भन्ने नाराले डेंगु नियन्त्रण सम्भव छैन ।’

डा. पुनका अनुसार डेंगु सार्ने लामखुट्टे बाहिर सडकमा, झाडीमा र फोहोरमा भन्दा बढी घरमै हुन्छ । उनी यो लामुखट्टेलाई ‘भीआईपी लामखुट्टेको’ उपमा दिन्छन् । यस्ता लामखुट्टेहरु विशेषगरी घना वस्ती भएका टोलहरुमा देखिन्छन् । यो लामखुट्टे बिहान र बेलुका भन्दा दिउँसोको समयमा सक्रिय हुन्छ । यो लामखुट्टेले विशेषगरी बच्चा र वृद्धवृद्धालाई भन्दा पनि युवाहरुलाई टार्गेट गर्छ । उनी भन्छन्, ‘यहाँ अस्पतालमा आउने अधिकाशं डेंगु संक्रमित भएकाहरु २० देखि ४० वर्षका युवा बढी छन्।’

डा. पुनका अनुसार डेंगु संक्रमण गराउने लामखुट्टे घरमै बस्ने भएकाले घर सफा राख्नुपर्छ । फूलका गमलाहरु, घर नजिकै भएका झाडीहरु र पानी जम्ने खाल्डामा भएका लामखुट्टेका लार्भाहरु नष्ट गर्न सके डेंगुबाट बच्न सकिन्छ । पुन सुनाउँछन्, ‘नागरिक सचेत भएर आफ्नो घरभित्र सफा राख्न सके मात्र पनि डेंगुको प्रकोप धेरै कम गर्न सकिन्छ ।’

डेंगु नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

गत जेठमा धरानमा डेंगु देखिएयता सरकारले यसको नियण्त्रणका लागि के गर्‍यो त ? स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुसँग यो प्रश्नको जवाफ नै छैन । डेंगु नियन्त्रण बाहिर गइसकेपछि मात्रै उनीहरु ‘सर्च एण्ड डिस्ट्रोय’ भन्दै बसिरहेका छन् । यतिबेला सरकारसँग ‘सर्च एण्ड डिस्ट्रोय’ नारा बाहेक डेंगु नियन्त्रणबारे कुनै योजना छैन ।

स्वास्थ्य मन्त्रालयको ठूलो गल्ती

आर्थिक वर्ष ०६०/६१ मा एकजना मात्र डेंगु संक्रमित भेटिएकामा आव ०६६/०६७ मा यो संख्या ९१५ पुग्यो । उक्त वर्ष डेंगु संक्रमित पाँच जनाको ज्यान गएको थियो । यस्तै, आव ०७२/७३ मा एक हजार ५२९ जना र ०७५/०७६ मा तीन हजार ४२५ संक्रमित भेटिएका थिए । यस वर्ष डेंगुको अवस्था दिनानुदिन झन भयावह बन्दै गएको छ ।

यसरी हरेक वर्ष इतिहास दोहोरिरहँदा सरकारको खै त रणनीति ?

‘डेंगु नियन्त्रण बाहिर गइसक्यो । मन्त्रालय एक्लैले नियन्त्रण गर्न सक्दैन । डेंगु नियन्त्रण गर्नका लागि सेना प्रहरी परिचालन गर्नुपर्ने अवस्था आइसक्यो ।’

स्वास्थ्य मन्त्रालय सम्हालिरहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवको माथिको अभिव्यक्तिबाट सरकारको रणनीति प्रष्ट हुन्छ । वर्षेनी देखिने डेंगुको प्रकोपमा सरकारको बेवास्ता यो अभिव्यक्तिबाट पनि झल्किन्छ ।

स्वास्थ्य मन्त्रालयका एक कर्मचारी मन्त्रालयले समुदाय स्तरमा गएर अध्यन र दीर्घकालीन योजना नबनाइकन डेंगु नियन्त्रणका नाममा कार्यशाला मात्र सञ्चालन गरेका कारण यो अवस्था आएको बताउँछन् ।

ईन्टोमोलोजिष्टहरुलाई (कीट विज्ञान विशेषज्ञ) गरेको बेवास्ता स्वास्थ्य मन्त्रालयले गरेको अर्को ठूलो गल्ती हो । डेंगु जस्ता रोग नियन्त्रण गर्ने कामका विशेषज्ञसहितका करीब ८० जनाको समूहलाई स्वास्थ्यमन्त्री उपेन्द्र यादव रहेकै वेला गत वर्ष जगेडामा राख्ने निर्णय गरिएको थियो । गत वर्ष स्वास्थ्य मन्त्रालयले ईन्टोमोलोजिष्टहरुलाई जिम्मेवारविहीन बनाएका कारण समस्या निम्तिएको हो।

इन्टोमोलोजिष्टहरुले डेंगु जस्ता किटजन्य रोग नियन्त्रण प्रकोप फैलिएको ठाउँमा औषधि छर्ने, संक्रमितको तथ्यांक संकलन गर्ने र बहुक्षेत्रीय सहकार्यमा नियन्त्रणका कार्यक्रम सञ्चालन गर्छन् । डेंगुको औषधि कसरी गर्ने भन्ने बारेमा उनीहरुलाई मात्र राम्रो जानकारी हुन्छ ।

डेंगुको प्रकोप देखिएका बङ्लादेश र श्रीलंकामा त्यहाँका सरकारले झण्डै ३०० को हाराहारीमा इन्टोमोलोजिष्ट खटाएका छन् । पाकिस्तान सरकारले त ७०० इन्टोमोलोजिष्ट खटाएको छ । तर, मन्त्रालयसँग इन्टोमोलोजिष्टको दरबन्दी नै छैन । भएका एकजना सहायक इन्टोमोलोजिष्ट किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडामा कार्यरत छन् ।

लोकसेवा आयोगले ०७१ सालमा सहायक इन्टोमोलोजिष्ट राख्न मिल्ने स्वीकृति दिएको थियो । तर, स्वास्थ्य मन्त्रालयले त्यसका लागि वास्ता गरेन । त्यसबेला इडिसिडिले दुईजना सहायक इन्टोमोलिष्टलाई काममा खटाउन प्रस्ताव गरेको थियो।

स्वास्थ्य मन्त्रालयले यसरी एकपछि अर्को गल्ती गर्दै र गल्तीबाट पाठ नसिकेको कारण वर्षेनी यस्ता महामारी फैलिएको स्रोत बताउँछ ।

संघीयतालाई दोष

ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको अनुसार संघीयता कार्यान्वयन नहुँदा पनि डेंगु नियन्त्रणमा समन्वय गर्न कठिनाइ भइरहेको छ । स्थानीय तह र केन्द्र सरकारबीच यस्ता विषयमा के कसरी काम गर्ने स्पष्ट मापदण्ड नभएका कारण पनि अलमल भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरेर सबै जिल्ला प्रशासन कार्यलयबाट पनि डेंगु नियन्त्रणको प्रयासमा लाग्न पहल शुरु गरेको ईपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाका निर्देशक डाक्टर विवेकलाल कर्ण बताउँछन् ।

ईडीसीडीले चालु आर्थिक वर्षमा डेंगु नियन्त्रणका लागि स्थानीय तहलाई कुल रु.६ करोड बजेट विनियोजन गरेको छ । तर, स्थानीय सरकारहरु डेंगु नियन्त्रणका लागि अनुभवी कर्मचारी नहुँदा नियन्त्रण अभियान प्रभावकारी हुन सकेको छैन । डेंगु नियन्त्रणका लागि संघीय सरकारले कुनै पनि बजेट र कार्यक्रमको व्यवस्था गरेको छैन ।

महाशाखाका प्रमुख डा. कर्ण डेंगु नियन्त्रणका लागि के गर्न सकिन्छ भनेर काठमाडौँका सबै स्थानीय तह, अस्पतालहरुसँग छलफल गरिरहेको बताउँछन् ।

संघीयता लागूहुनुभन्दा अघि डेंगु लगायतका किटजन्य रोग नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागमा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रकोप रहेको क्षेत्रमा औषधि पठाउने तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यलयहरुलाई निर्देशन दिने कार्य गर्ने गरेको थियो।

तर, संघीयतापछि त्यो अधिकार आफूहरुलाई नरहेको भन्दै महाशाखा पन्छिएको छ । स्थानीय सरकारले पाएको बजेटमा डेंगुका लागि कुनै योजना नै बनाएको छैन ।

रोग नियन्त्रणका लागि स्थानीयत तहलाई निर्देशन दिने अधिकारसमेत नभएकाले रोग निन्त्रणको पहल गर्न नसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेक कर्ण बताउँछन् ।

‘संघीयता लागुभएपछि रोग नियन्त्रणका लागि बजेट र अधिकार स्थानीय तहमै गएको छ । यस्ता काम केन्द्र सरकारले भन्दा पनि स्थानीय सरकारले गर्ने हो’ उनी भन्छन्, ‘संघीयता लागू भएपछि हाम्रो जिम्मेवारी पनि परिवर्तन भएको छ, हाम्रो काम नीति बनाउने हो नियन्त्रण गर्ने, निर्देशन दिने अधिकार अहिले छैन।’

डा. लालका अनुसार रोग नियन्त्रणको पाटो नियन्त्रणको पाटो स्थानीय तहको हो भनेको छ । महाशाखालाई आउने बजेट रोग नियन्त्रणका लागि भन्दा पनि नीति निर्माण र तालिमका लागि हो । उनी भन्छन्, ‘अब डेंगु नियन्त्रण गर्न हामी आफैंले पनि काठमाडौँ महानगरपालिकालाई गुहार्नुपर्छ।’

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment